पुष्पकमल दहाल र निमेश बन्जाडेको छलफल

प्रस्तुत छ निमेश बन्जाडेसँगको, पुष्पकमल दहालको अन्तर्वार्ताको पूर्ण पाठ

बन्जाडे: नमस्कार। हिमालय टेलिभिजनको कार्यक्रम एक सय प्रश्नमा स्वागत छ। म निमेश बन्जाडे। जेन्जी आन्दोलनले नेपाली समाज र राजनीतिमा उथलपुथल ल्याएको छ। युवा पुस्ताले राजनीतिको फ्रन्ट लाइनमा आउने प्रयास गरिरहेको छ। पुराना दलमा पुनर्गठनको तीव्र दबाब छ। नयाँ-नयाँ दल जन्मिरहेका छन्। देशका जल्दाबल्दा समस्याबारे विचार मन्थन गर्ने कार्यक्रम एक सय प्रश्न पनि अब नयाँ स्वरूप सहित तपाईंहरू सामु आउँदैछ। यो कार्यक्रममा आम नागरिकले गुम्साएर राखेका प्रश्न उत्खनन गर्दै नेतृत्वसँग जवाफ खोज्ने हाम्रो प्रयास हुनेछ। जेन्जी आन्दोलनका बेला भएका कतिपय घटनाक्रम अहिले पनि रहस्यमै छन्। कतिपय छानबिनको क्रममा छन्। यो एपिसोडमा हामीले एकजना शीर्ष नेतासँग त्यस्तै विषय खोतल्ने प्रयास गरेका छौँ। आजको कार्यक्रमको अतिथि हुनुहुन्छ नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड। आन्दोलन पछि पहिलो पटक टेलिभिजन अन्तर्वार्तामा आएका प्रचण्डसँग त्यसबेलाको परिस्थिति, नयाँ सरकारको गठन प्रक्रियामा भएका रोचक घटनाक्रम, नेपाली सेनाको भूमिका, भूराजनीतिक दबाब, पुरानो पुस्ताको बिदाइदेखि चुनावको तयारीसम्मका विषय कोट्याउने प्रयास गरेका छौँ।

बन्जाडे: प्रचण्डज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।

दहाल: धन्यवाद तपाईंलाई।

बन्जाडे: अब यो भदौ २३ र २४ गते जो राजनीतिक उथलपुथल भयो, यसले धेरै कुराको माग पनि गरेको छ, यो बिस्तारै कुरा गर्दै जाउँला। तर यो २३ र २४ मा प्रचण्डजी कहाँ हुनुहुन्थ्यो, के गरिरहनुभएको थियो, त्यसपछि उहाँको भूमिका कसरी अगाडि बढ्दै गयो यो परिवर्तित राजनीतिमा भन्ने पनि सबैलाई चासो छ, सबैले जवाफ खोजिरहनुभएको छ। २३ गते तपाईं कहाँ हुनुहुन्थ्यो?

दहाल: म २३ गते मध्यपहाडी लोकमार्ग अभियान भनेर हाम्रो अभियान चलिराखेको थियो। म लमजुङबाट गोर्खा हुँदै अगाडि बढ्दै थिएँ, २३ गते। र यहाँ २३ गतेको आन्दोलन र त्यहाँ दमन भइसकेपछि र केही युवाहरूको मृत्यु भइसकेपछि हामीले त्यो अभियान रोकेर २३ गते राति नै काठमाडौं आएर हामीले आकस्मिक ढंगले त्यतिबेलाको हाम्रो पदाधिकारीको बैठक बसेर अनि त्यो दमनको हामीले भर्त्सना गरियो, अनि सरकारलाई तुरुन्तै राजीनामा दिने निर्णय गरियो। केपी ओलीको सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ पनि भनियो। र ती चाहिँ सबै जो मारिए, २३ गते, ती सबैलाई शहीद घोषणा गर्ने निर्णय पनि गरियो र चाहिँ दोषीलाई कारबाही गर्नको निम्ति अविलम्ब अगाडि जान अपिल पनि गरियो। यो निर्णय हामीले राति दश बजे गोर्खाबाट आएर गरेका थियौँ।

बन्जाडे: काठमाडौंमा यस्तो बबन्डर हुँदैछ भन्ने थाहा पाएर तपाईं काठमाडौं बाहिर जानुभएको हो?

दहाल: बिल्कुल होइन। बिल्कुलै होइन। चाहिँ म चाहिँ त्यता बाहिर गएको सायद २१ गते गएको थिएँ म। पोखरामा एउटा विशेष कार्यक्रम थियो। अँ त्यहाँ व्यवसायीहरूको को कार्यक्रम थियो। उद्योग व्यापार महासंघको कार्यक्रम थियो र त्यो कार्यक्रममा गएको थिएँ म २१ गते नै। अनि २२ गतेबाट मध्यपहाडी लोकमार्ग अभियान जो कास्कीमा ल्याएर रोकिएको थियो, त्यसलाई फेरि निरन्तरता दिने हिसाबले लमजुङबाट त्यो सुरु गरिएको थियो। त्यसकारण २३ गते के हुन्छ भन्ने कुराको चाहिँ अनुमान हामीलाई सबै थिएन। यस्तै हुन्छ भन्ने अनुमान थिएन। तर युवाहरूमा असन्तुष्टि छ, देशभरि जनतामा आक्रोश छ, सरकारले राम्रो गरिराख्या छैन, सुशासन भएन, भ्रष्टाचार भयो भन्ने कुरा त हामीले तराईमा हुँदाखेरि पनि चाहिँ झापादेखि कन्चनपुरसम्म त्यो अभियान चलाएकै थियौँ। त्यसले एउटा राम्रो तरंग, सायद तपाईं पत्रकार साथीहरूलाई पक्कै पनि थाहा होला, असाध्यै सकारात्मक तरंग ल्याएको थियो भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, आर्थिक समृद्धिका पक्षमा। त्यसैमा हामी थियौँ। जब मैले चाहिँ युवाहरू, चाहिँ अब खासगरी जेन्जी पुस्ताका युवाहरू चाहिँ केही मागहरू लिएर, किनकि त्यहाँ चाहिँ सोसियल मिडियामाथि लगाइएको प्रतिबन्ध जस्तो, त्यसका पनि विरुद्ध, भ्रष्टाचारका पनि विरुद्ध, उनीहरूले माग राखेर आन्दोलन गर्दैछन् भन्ने थाहा पाएपछि सबभन्दा पहिला मैले नै वक्तव्य दिएर एउटा स्टाटस लेखेर यो आन्दोलनका माग सही छन् युवाहरूका, त्यहाँ बल प्रयोग नगरियोस् भनेर सरकारलाई खबरदारी पहिलो चोटी मैले गरेको।

बन्जाडे: भनेपछि तपाईंले यो डिस्कर्डमा छलफल गरिराछन् भन्ने पनि थाहा थियो तपाईंलाई?

दहाल: अँ थाहा थियो अलिअलि।

बन्जाडे: ए अपडेट हुनुहुन्थ्यो?

दहाल: अँ थाहा थियो। मलाई त्यसको बारेमा थाहा थियो। नेपोटिजम, नेपो बेबी, नेपो किड्स आइराख्या छ।

बन्जाडे: हेरिरहनुभएको थियो?

दहाल: म हेरिराख्या थिएँ। साथीहरूले मलाई रिपोर्ट गरिराख्नुभएको थियो।

बन्जाडे: मैले तपाईंलाई काठमाडौंमा बबन्डर हुँदैछ, त्यसकारणले मैले मलाई यो थाहा छैन भने जस्तो गर्नलाई बाहिर जानुभएको हो भनेर किन सोधेँ भने नि, तपाईंले संसदको रोस्टममा उभिएर यस्तै निराशा जनतामा बन्ने हो भने कांग्रेस एमालेले यसै गरेर तपाईंहरू मात्रै मिलेर सबै लाद्न खोज्ने हो भने पार लाग्ने वाला छैन। मुलुक, जनता एकदमै रिसाएका छन्। यो विस्फोट हुने वाला स्थिति छ। बंगलादेश र श्रीलंकाको स्थिति नेपालमा पनि हुन सक्छ भनेको एक वर्ष नपुग्दै त्यस्तै भैदियो के यहाँ।

दहाल: अब त्यो त मेरो परिस्थितिको विश्लेषण, राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ कसरी गइराख्या छ, ट्रेन्डहरू, प्रवृत्तिहरू कता गएको छ भन्ने कुरा…

बन्जाडे: त्यसले गर्दा यसको डिजाइनर प्रचण्ड पनि हो भनेर…

दहाल: बिल्कुल होइन। यसको डिजाइनर प्रचण्ड हो भन्ने कुरा अर्थ लाग्दैन। तर प्रचण्डले समयमा नै सरकारलाई सतर्क गराएको थियो। जनतामा आक्रोश धेरै बढिसक्या छ, युवाहरूमा आक्रोश बढिराख्या छ। बंगलादेश, श्रीलंका लगायत विभिन्न देशमा यस खालका घटनाक्रम भइराख्या छन्। त्यसकारण दुई तिहाइको घमण्ड गरेर सरकार बस्यो भने कुनै पनि बेला नेपालमा विस्फोट हुन सक्छ भन्ने कुरा मैले एक वर्ष अगाडि भनेको थिएँ। जतिबेला यो आन्दोलन २३ गते यस्तो होला भन्ने कुराको कल्पना गर्ने ठाउँ नै थिएन। मैले त देशको समग्र परिस्थितिको हिसाब गरेर, जनताको मनोविज्ञान र मनोभावनालाई बुझेर र सरकारले गरिराखेको गलत क्रियाकलाप, कुशासनतिर जो सरकार प्रवृत्त भयो र दुई तिहाइको घमण्ड गर्‍यो, मैले त्यतिबेला भनेको थिएँ, बंगलादेशमा त दुई तिहाइभन्दा बढी थियो शेख हसिनासँग। दुई तिहाइले काम गर्दैन। यो संख्याले गर्ने कुरा होइन। यो सुशासनतिर गएन भने कुनै पनि बेला जनता आउन सक्छन् भन्नुको मेरो तात्पर्य, मैले कुनै डिजाइन गरेको भन्ने होइन। मैले त सरकारलाई खबरदारी यसो नगर भनेको…

बन्जाडे: राजनीतिमा दूरदर्शिताको निकै ठूलो अर्थ र महत्त्व हुन्छ।

दहाल: मैले त अहिले म फर्केर हेर्छु, मैले कति सही बोल्या रहेछु भन्ने मलाई आफैलाई गर्व भा’छ अब, तपाईंलाई नढाँटी भन्नुपर्दा। मैले एक वर्ष अगाडि परिस्थितिको विश्लेषण गरेर सरकारलाई जानेर खबरदारी गरेको थिएँ र चुनौती दिएको थिएँ, तिमीहरूले गलत गर्‍यौ भने राम्रो हुँदैन भनेर। अहिले त्यो फर्केर ती सबै रेकर्डहरू हेर्दा चाहिँ बिल्कुल परिस्थितिको वस्तुवादी विश्लेषण र चाहिँ दूरदर्शिता प्रदर्शन भएको रहेछ भनेर मलाई चाहिँ साँचै गर्वको महसुस भएको छ। अहिले त सबैले त्यो कुरा माने पनि सके।

बन्जाडे: तपाईं डिजाइनर नभए पनि त्यो आन्दोलनमा चाहिँ कति माओवादी कार्यकर्ताहरू परिचालित हुनुहुन्थ्यो?

दहाल: अब मलाई कस्तो लाग्छ भने, हामीले एक वर्षसम्म जसरी सरकारको भण्डाफोर गरि नै राख्यौँ, सरकारले गरेका गलत क्रियाकलापको आलोचना हामीले गरि नै राख्यौँ र हामीले जनतालाई र युवाहरूलाई पनि अपिल गरि नै राख्यौँ, यसको विरोध गर्नुपर्ने हुन्छ, गलत भइराख्या छ भन्ने कुरा हामीले भनि नै राख्यौँ। हामीले त्यो भनेको हुनाले र तपाईंले पहिलो प्रश्नमा जसरी सोध्नुभयो नि २३ गते कहाँ हुनुहुन्थ्यो भनेर। त्यतिबेला गोर्खामा पनि मैले यही भाषण गर्दै थिएँ, सरकार गलत गरिराख्या छ, चाहिँ यसको विरोध गर्नुपर्छ भनेको हुनाले युवाहरू वा हाम्रा पनि तलका कार्यकर्ताहरू सरकार विरोधी आन्दोलन शान्तिपूर्ण रूपले हुन्छ भनेपछि स्वतः जाने वातावरण बन्यो। यो कुरा म स्वीकार गर्न चाहन्छु। जाने वातावरण… हामीले कुनै एक वर्षदेखि हामीले प्रशिक्षित गरिराख्या थियौँ नि त मानिसहरूलाई, युवाहरूलाई कि बेठीक भइराख्या छ देशमा। ठीक गर्नको लागि सडकमा आउनुपर्छ मानिसहरू। भन्ने कुरा भनिराखेको हुनाले माओवादी मात्रै होइन, अन्य युवाहरू पनि मेरो अभियानबाट अथवा हाम्रो त्यतिबेलाको पार्टीको अभियानबाट उत्प्रेरित भएनन् भनेर म भन्न सक्दिनँ, प्रेरित भए।

बन्जाडे: तर केही कार्यकर्ताहरू त तोडफोड, हिंसा, आगजनीमा संलग्न भएको…

दहाल: तर हामीले कार्यकर्ताहरू जानु भन्नुमा… म अलिकति भन्न दिनुस् है। तर साँचो कुरा फेरि अर्को के हो भने, हामीले पार्टीबाट निर्णय गरेर २३ गतेको आन्दोलनमा सहभागी हुनु भनेर कुनै निर्देशन, कुनै अपिल, कुनै वक्तव्य जारी गरेका थिएनौँ। हामीले यति भनेका थियौँ, २३ गते जेन्जी युवाहरूले उठाएका माग सही छन्, सरकारले बल प्रयोग नगरोस्, बरु माग पूरा गर्नेतिर लागोस् भनेर हामीले भनेको हुनाले २३ गतेको दिन हुन सक्छ ठूलो संख्यामा माओवादी कार्यकर्ताहरू पनि तलका गए होलान्। गएको छन् भन्ने पछि मैले थाहा पनि पाएँ। हुँदाहुँदा त हाम्रो पार्टीका कयौँ लिडरका छोराछोरी, नातिनातिना पनि गएका रहेछन् भन्ने पनि थाहा भयो। तर त्यतिबेला हामीले समर्थन गरेको त्यो आन्दोलनलाई मैले नै स्टाटस लेखेर समर्थन गरेको कारणले पनि त्यतिबेलाको माओवादी केन्द्र नजिकका युवाहरू पक्कै उत्प्रेरित भए। हाम्रो आफ्नै अध्यक्षले पनि समर्थन गर्‍या छ भनेपछि त जाने भए। तर कुरा के छ त यहाँ भने, त्यतिबेला त जेन्जी पुस्ताका युवा प्रतिनिधिहरूले सिडिओ कार्यालयमा गएर शान्तिपूर्ण हुन्छ हाम्रो आन्दोलन भनेर स्वीकृति लिएको जुलुसको लागि र शान्तिपूर्ण हुन्छ भन्ने विश्वासले नै गए ती मानिसहरू। २४ गतेको कुरामा भने चाहिँ त्यस्तो होइन, जस्तो २३ गते थियो। २३ र २४ एउटै होइन, धेरै फरक छ २३ र २४ मा। २४ गते केही मानिसहरू चाहिँ धेरै तोडफोड नहोस् भनेर गएको भनेर रेकर्डहरू आइराख्या छ अहिले। तर चाहिँ माओवादीका कार्यकर्ताहरू आम रूपमा चाहिँ २४ गते छैनन्।

बन्जाडे: ए! तर केही तस्बिरहरू सार्वजनिक भएनन् अघि मेरो रोकिएको प्रश्न? केही तस्बिरहरू सार्वजनिक भए, तोडफोड, आगजनीमा संलग्न भएको? त्यसमा के भन्नुहुन्छ? कसैले अब अदालत जलाउन जानुपर्छ यसपछिको पालो भनेका अभिव्यक्तिहरू पनि अथवा त्यो दृश्यहरू बाहिर आए भिडियो क्लिपहरू…

दहाल: हजुर। अब यसमा हामीले पहिले नै एउटा वक्तव्य दिएर स्थिति हामीले स्पष्ट गरेका छौँ। जो साथीहरू देखियो नि भिडियोमा या टिभीमा या चाहिँ जसको फोटो देखिया छ, उनीहरू जसले स्पष्टीकरण दिएका छन् कि हामी त रोक्न गएको हो भनेर प्रुफ हुन्छ भने त तिनलाई एक ढंगले हेर्ने, होइन तोडफोडमा संलग्न, यो विध्वंसको कार्यमा संलग्न जो कोहीलाई पनि हामी कारबाही गर्छौं भनिएको छ र हामीले अहिले कारबाहीको प्रक्रिया अगाडि… जसलाई प्रमाणित भएको छ, तोडफोडमै लागेको देखिएकालाई चाहिँ कारबाही प्रक्रिया अगाडि बढिसक्या छ। म बडो प्रस्ट शब्दमा भन्न चाहन्छु।

बन्जाडे: भनेको पार्टीभित्रबाट या राज्यले कारबाही गर्छ भने पनि पार्टीको अब्जेक्सन छैन?

दहाल: राज्यले कारबाही गर्छ भने पनि हाम्रो सहयोग हुन्छ। मैले त्यो पनि बोलिसक्या छु। यस्तो चाहिँ सिंहदरबार जलाउने या सर्वोच्च अदालत जलाउने या चाहिँ संसद भवन जलाउने या राष्ट्रपति भवन जलाउने काममा यदि कुनै कार्यकर्ता संलग्न छ भने राज्यले पनि दृढताको साथ कारबाहीको प्रक्रिया अगाडि बढाओस्, हाम्रो साथ हुन्छ। पार्टीबाट त हामीले निकाल्न सुरु गरि नै सक्या छौँ त्यस्ता केही देखिएका मान्छेहरूको पत्ता लगाएर। र अरू पनि प्रमाण आउँदै गयो भने हामी पार्टीबाट नि निकाल्छौँ र राज्यलाई चाहिँ कारबाहीको लागि हामी राज्यलाई सहयोग पनि गर्छौँ।

बन्जाडे: २४ गतेको विध्वंसमा संलग्न भएकाहरूलाई कारबाही गर्नको लागि छानबिन आयोगकै प्रतिवेदन कुरिरहनु परेन। राज्यले आफ्नो एक्सन लिन्छ भने लेओस्, माओवादी सहयोग गर्न तयार छ।

दहाल: माओवादी सहयोग गर्न तयार छ।

बन्जाडे: अब २३ गते रातितिर अह यो सरकार ढल्ने स्थिति आयो। साँच्चै अब जनताको विरोधको सामना गर्न केपी ओली नेतृत्वको सरकारले सक्दैन। त्यसकारणले गर्दा कांग्रेससँग मिलेर फेरि अर्को नयाँ सरकार बनाउनुपर्छ भन्ने छलफलमा तपाईं हुनुहुन्थ्यो। तर त्यो गठबन्धन मात्रै सक्ने स्थिति आएन, अर्को दिन त संसद नै सकिने स्थिति आयो भन्छन् नि।

दहाल: यो कुरा सत्य होइन। २३ गते बेलुका या २४ गते पनि मेरो नेपाली कांग्रेससँग या नेकपा एमाले कसैसँग पनि केही पनि कुरा भएको छैन।

बन्जाडे: कोही नेतासँग कुरा भएको छैन?

दहाल: कसैसँग कुरा भएको छैन।

बन्जाडे: महामन्त्री तहको नेताहरूसँग पनि कुरा भएको छैन?

दहाल: भएको छैन। २३ र २४ मा चाहिँ कुरा केही पनि भएको छैन। अह अब त्यहाँ जब चाहिँ तपाईंको चाहिँ स्थिति अलि विकराल जस्तो देखा पर्‍यो, २४ गते बेलुकासम्म पुग्दाखेरि, त्यतिबेला बरु चाहिँ मेरो त्यसपछि भने २४ गते बेलुका भइसकेपछि र २५ गते बिहानबाट मैले संवाद सुरु गरेको छु। राजनीतिक दलहरूसँग पनि, राष्ट्रपतिजीसँग पनि, प्रधानसेनापतिसँग पनि, र कूटनीतिक नियोगका पनि सम्भव हुने जतिसँग स्थितिलाई सहजीकरण गर्नको लागि मैले २५ गते बिहानबाट सम्पर्क सुरु गरेको छु।

बन्जाडे: आउँछु म। २३ र २४ मा छैन।

दहाल: ओके।

बन्जाडे: २४ गते तपाईंले सम्पादकहरूसँगको छलफलमा भन्नुभयो नि, पाएको भए त हामीलाई पनि किचिमिची पारिदिन सक्थे। अब सेनाले पनि जोगायो, त्यो पनि ठीकै हो। तर कताकता भूराजनीतिक चलखेल र भूराजनीतिले पनि हामीलाई, नेताहरूलाई जोगाउन काम गर्‍यो कि भनेर भन्नुभएको थियो। त्यसको केही संकेत पाउनुभएको थियो? यो भूराजनीति यहाँ कति मिसियो त्यो २३ र २४ र यसपछि पनि जोड्न सक्नुहुन्छ तपाईंले यहीँनिर आएर।

दहाल: अब तपाईंले यो अलि धेरै संवेदनशील र महत्त्वपूर्ण प्रश्न हो। यसमा अहिलेको भूराजनीति मात्रै होइन, विगतदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता या नेपाली जनताको आत्मसम्मान चाहिँ अगाडि बढाउने क्रममा धेरै वीर विरंगनाहरूले बलिदान पनि गरेका छन्, ठूल-ठूला संघर्ष भएका छन्। एउटा त हाम्रो राष्ट्रिय भावना, नेपाली जनताको देशभक्तिपूर्ण भावना र ठूल-ठूला शक्तिहरूसँग युद्धमा प्रदर्शन गरेको वीरता र शौर्य, बलिदानका ठूल-ठूला कीर्तिमानहरूले काम गरेको छ भने अर्कोतिर कहीँ न कहीँ अन्तर्राष्ट्रिय भूराजनीतिक स्थितिले पनि हामीलाई मद्दत गरेको छ। हामीलाई चुनौती पनि त्यहीँ छ र हाम्रो सम्भावना पनि त्यसैभित्र छ। म जस्तो पश्चिमा शक्ति भनिन्छ हैन, भारत पनि अब अहिले एउटा संसारकै एउटा शक्ति केन्द्रको रूपमा उदाई राख्या छ, चीन चाहिँ त अब प्रथम शक्ति हुनेतिर नै अगाडि बढेको छ। यो पश्चिमको शक्ति, दक्षिण, उत्तर, यी शक्तिहरूको आपसमा कहिले कन्टेन्सन अथवा चाहिँ झडप जस्तो स्थिति, अलि तनावको स्थितिमा जान्छन्, कहिले चाहिँ फेरि चाहिँ तपाईंको अलिकति सहजीकरणको स्थितिमा जान्छन्, त्योसँगै नेपालको राजनीति पनि, नेपालको घटनाक्रमहरू पनि कहीँ न कहीँ प्रभावित हुने नै गरेको छ विगतदेखि नै। अहिले पनि मैले कहिलेकाहीँ साथीहरूको बीचमा, बुद्धिजीवीहरूसँग कुरा गर्दा पनि भनेको छु, हामी बाँचियो कसरी २४ गते? नेताहरू बाँचे कसरी? कसले बचायो? किन बचायो? किनकि मैले यो कुरा म त सिंहदरबारमा थिएँ, २६ गते बिहान।

बन्जाडे: प्रतिपक्षी दलको बैठकका लागि?

दहाल: प्रतिपक्षी दलको बैठक चलिराख्या थियो। त्यो अलिकति लम्बियो। लम्बिदै जाँदा चाहिँ अरू साथीहरू अब सकिएपछि हिँड्नुभयो। मलाई चाहिँ सेक्युरिटीले चाहिँ बाहिर जानुभन्दा त यहीँ सुरक्षित हुन्छ, सिंहदरबारमै भन्ने सुझाव दिए। किन बाहिर जान… म त फेरि खाना खान खुमलटारै जाने हिसाबले गएको थिएँ त्यो प्रतिपक्षको बैठकमा। गएर आउँ भनेर खाना बनाइराख्नु, म खाना खान आइपुग्छु भनेर खुमलटारमै फर्किने उद्देश्यले गएको थिएँ। तर सेक्युरिटीले खासगरी बाहिर भएको…

बन्जाडे: बाहिर प्रहरी सुरक्षाको।

दहाल: बाहिर चारैतिर जुलुस जस्तो देखिसक्यो। सिंहदरबारको दक्षिण गेटको पुलिस बिट चाहिँ जलाई सके, त्यसकारण अध्यक्षज्यू यसरी अहिले यहाँ बाहिर जानुभन्दा त यहीँ बस्नु सुरक्षित छ है अहिले।

बन्जाडे: कति जति बजेको थियो?

दहाल: त्यही ११, साढे ११ यस्तै थियो। ११ बजेतिर। हजुर। त्यसपछि चाहिँ अब त्यहाँ पनि अर्को चाहिँ केही त्यहाँको सिंहदरबारभित्रकै सेक्युरिटीले आएर यहाँ पनि सुरक्षित छैन भनेर मलाई मलाई विचित्र लाग्छ त्यो चाहिँ।

बन्जाडे: यहाँ पनि सुरक्षित छैन?

दहाल: यहाँ पनि सुरक्षित छैन भनेपछि त त्यसो भए जाऊँ बाहिर अब जे जे हुन्छ भन्या थिएँ मैले। जाऊँ बाहिर अब चाहिँ यसो अलिकति चाहिँ कता पट्टि अलि सहज छ, त्यो सहजतिरबाट चाहिँ बाहिर निक्लिने भन्दाखेरि होइन सेक्युरिटीले नै भने, अहिले त्यो बाहिर निक्लिने जस्तो पनि स्थिति बन्या छैन। दिउँसो बनेपछि निक्लौला, अहिले चाहिँ सुरक्षित हुने ठाउँ चाहिँ त सेनाकोमा हुन्छ भनेर चाहिँ सुझाव दिए त्यहाँ प्रहरीले मलाई। अनि अब त्यतिकै त जाने कुरा भएन। अनि मैले मसँग मेरो छोरी गंगा थियो त्यतिबेलासम्म, ऊ मेरो सचिवालयमै थिइन्। अनि गंगालाई मैले चाहिँ सम्पर्क गर्न लगाएँ।

बन्जाडे: सेनापतिसँगै?

दहाल: प्रधानसेनापतिसँग नै। हामी तपाईं कहाँ आउनुपर्ने भयो भनेर। मलाई कसैले लग्या पनि होइन। मैले त्यसमा अरूको भन्दा मेरो अलि फरक छ है त्यो दिन। २४ गते २५ गतेको…

बन्जाडे: यो सुन्न चाहन्छौं हामी, आम जनताले पनि सुन्न चाहेका छन्।

दहाल: अरू अब जस्तो प्रधानमन्त्रीज्यूलाई राष्ट्रपति… के रे हेलिकप्टरमा कुदाएर दौडादौड गरेर लगिएको स्थिति, अरू मन्त्रीहरूलाई पनि त्यसरी नै, कति अरू कतिपय पूर्व प्रधानमन्त्रीहरूलाई पनि चाहिँ अब सेक्युरिटीले समातेर चाहिँ तानेर लगेर गाडीमा हालेर चाहिँ अन्त सुरक्षित राख्न लगेको स्थिति हो भने मेरो त्यो सबैभन्दा बिल्कुल फरक, त्यसपछि मैले अघि भने जस्तै सेक्युरिटीले मलाई अहिले बाहिर जान उचित छैन भनेपछि त्यहीँ बस्न खोज्या थिएँ म। अनि उता उता चाहिँ जाँदाखेरि हुँदैन भनेपछि गंगाले सेनापतिसँग कुरा गरेपछि भैहाल्छ नि भनेर अनि हामी त्यहीँ सिंहदरबारभित्रकै…

बन्जाडे: आफै जानुभयो?

दहाल: आफै गइयो। गएपछि फेरि…

बन्जाडे: कस्तो रेस्पोन्स भयो त्यहाँ?

दहाल: राम्रो। म यो कुरा पनि इमान्दारिता साथ म भन्न चाहन्छु, त्यहाँ गएपछि मलाई राम्रै सम्मान सहित चाहिँ लगियो र म जहाँ बस्ने चाहिँ भनिएको थियो, त्यो बस्ने ठाउँ पनि राम्रो थियो। र म बडो सहज ढंगले त्यहाँ बसें।

बन्जाडे: माधव नेपालजी पनि सँगै हुनुहुन्थ्यो?

दहाल: माधव नेपालजी सँगै त हुनुहुन्थेन बैठकमा। तर आउने बेलामा माधवजीको स्थिति फेरि मेरो भन्दा अलि फरक भएछ। मैले चाहिँ सहज ढंगले गंगाले प्रधानसेनापतिसँग कुरा गरेर सहमतिका साथ गएँ म चाहिँ। माधवजी हतार हतार दौडेर जानुभएको छ त्यहाँ…

बन्जाडे: आफै जानुभएको छ?

दहाल: आफै जानुभएको छ, त्यो अलि अर्को भवनमा। र उहाँ त्यहीँ एउटै भवन रहेनछ। अलि अर्को भवनमा उहाँ बस्नुभएको रहेछ पछि भोलिपल्ट थाहा भयो मलाई।

बन्जाडे: कति दिन बस्नुभयो त्यो सिंहदरबारमा?

दहाल: सिंहदरबारमा हामी २४ गते…

बन्जाडे: अर्थात् कति रात?

दहाल: २४ गते राति, २५ गते राति, २६ गते राति तीन रात बसियो।

बन्जाडे: ए! तीन रात?

दहाल: तपाईंको पनि मोबाइल उहाँहरूले राखिदिनुभयो? केही सुरक्षा संवेदनशील…

दहाल: अहँ मलाई त्यस्तो भएन। मैले मजाले मोबाइलबाट सबैतिर सम्पर्क गरि नै राखें।

बन्जाडे: ए। मलाई त्यस्तो केही समस्या भएन।

बन्जाडे: को-को सँग कुरा गर्नुभयो त्यो बीचमा, टप लिडरहरू?

दहाल: अब सबैसँग नै कुरा गरेँ मैले।

बन्जाडे: शेरबहादुरजी त त्यस्तो अवस्थामा हुनुहुन्थ्यो।

दहाल: शेरबहादुरजीसँग कुरा गर्न सम्भव हुने स्थिति थिएन।

बन्जाडे: तत्कालीन प्रधानमन्त्री?

दहाल: तर पनि कांग्रेसका केही नेताहरूसँग मेरो कुरा भइ नै राख्यो।

बन्जाडे: केपी ओलीजीसँग?

दहाल: अ त्यो दिन केपी ओलीजीसँग चाहिँ भएन मेरो।

बन्जाडे: अनि २६ गते राति चाहिँ अब पहिला प्रधानसेनापतिले मलाई फोन गर्नुभयो, चाहिँ…

बन्जाडे: पहिला चाहिँ उताबाट फोन आएको?

दहाल: उताबाट फोन आएको।

बन्जाडे: २६ गते राति?

दहाल: २६ गते राति। म खाना खान बसेको थिएँ। खाना खाने चाहिँ तयारी हुँदै थियो। ९ बजेतिर हो बेलुका, सेनापतिजीको फोन आयो। अनि त्यसपछि उहाँले फोन राष्ट्रपतिलाई दिनुभयो।

बन्जाडे: ए!

दहाल: अनि राष्ट्रपतिजीले चाहिँ भन्नुभयो कि यहाँ आउनुपर्‍यो, तपाईंहरू, तपाईं यहाँ आउनुपर्‍यो र अलि सल्लाह गर्नुपर्‍यो भनेर भन्नुभयो। र मैले खाना अब राष्ट्रपतिले देशको परिस्थिति यति जटिल छ, खाना त बरु एक-दुई दिन नखाए नि केही हुन्न भनेर मैले पस्केको खाना नै म आएर खान्छु, अहिले राख भनेर अनि म गएँ।

बन्जाडे: कसरी जानुभयो?

दहाल: अब जाँदाखेरि सेनाले जस्तो व्यवस्था गर्‍या थियो त्यसरी नै गएँ म।

बन्जाडे: सेनाकै सुरक्षामा?

दहाल: सेनाकै सुरक्षामा गएँ।

बन्जाडे: अनि उहाँहरू कहाँ हुनुहुन्थ्यो?

दहाल: को?

बन्जाडे: राष्ट्रपति, प्रधानसेनापति?

दहाल: हो शीतल निवास।

बन्जाडे: शीतल निवासमै हुनुहुन्थ्यो?

दहाल: शीतल निवासमै हो। राष्ट्रपति भवनमै हो, राष्ट्रपतिको निवासमै हो।

बन्जाडे: राष्ट्रपतिजी शीतल निवासबाट एक-दुई दिन बाहिर बस्ने स्थिति आयो कि आएन प्रचण्डज्यू?

दहाल: यो चाहिँ आयो भन्ने छ। मैले यो कुरा यसरी चाहिँ राष्ट्रपतिजीलाई सोध्या पनि छैन। तर मैले जतिबेला भेटें, त्यो उहाँ शीतल निवासमा आफ्नै निवासमा हुनुहुन्थ्यो। त्यहीँबाट उहाँले फोन गर्नुभएको थियो। म पनि फेरि सेनाको सुरक्षा सहित म त्यहीँ गएको थिएँ। पछि हामी राष्ट्रपतिजी, म र सेनापतिजी र मसँग फेरि हाम्रो वर्षमान पुन पनि हुनुहुन्थ्यो। पहिला चाहिँ राष्ट्रपतिजी, सेनापतिजी र हाम्रो बीचमा एकछिन अलि अनौपचारिक ढंगले परिस्थितिको थोरै समीक्षा भयो।

बन्जाडे: २६ गते राति?

दहाल: २६ गते राति।

बन्जाडे: कति बजेको थियो त्यो?

दहाल: त्यो चाहिँ १० बज्न १०-साढे १० तिर होला। ओके। त्यसपछि चाहिँ एकछिन पछि माधव नेपाल आइपुग्नुभयो।

बन्जाडे: तपाईंलाई थाहा थियो आउँदै हुनुहुन्छ भन्ने?

दहाल: मलाई थाहा थियो। उहाँले भन्नुभएको थियो, माधवलाई नि बोलाएको छु भन्नुभएको थियो राष्ट्रपतिजीले, त्यसकारण मलाई थाहा थियो। तर म गएको २०-२५ मिनेट पछि उहाँ आइपुग्नुभयो। त्यतिबेलासम्म हामीहरू कुरा गरिराख्या थियौँ। अनि त्यसपछि तपाईंको चाहिँ नेपाली कांग्रेसको नेताहरूलाई पनि बोलाउनुभएको थियो नै, त्यो कुरा त थाहा थियो मलाई पहिल्यै पनि। तर नेपाली कांग्रेसका नेताहरू आउनुभएन। चाहिँ त्यसपछि मैले नै पनि नेपाली कांग्रेसका नेताहरू खासगरी अहिले कार्यवाहक हुनुहुन्छ पूर्णबहादुरजी। पूर्णबहादुरजीलाई मैले फोन गरेँ र आउनुस् न हामी त आइपुग्या छौँ भनेर पनि भनेँ। अनि उहाँहरूले सभापतिजीसँग एकचोटि सल्लाह गर्ने भन्नुभयो। सल्लाह गर्दागर्दै ढिलो भयो। र अन्तिममा रमेश लेखक समेत चाहिँ का अरू साथीहरू चाहिँ तीन जना नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ आइपुग्नुभयो। अर्को कोठामा अहिले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजी र अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालजी अर्को कोठामा हुनुहुन्छ भन्ने हामीले थाहा पाइराख्या थियौँ। राष्ट्रपतिजी र प्रधानसेनापतिले उता गएर कुरा गरेर गर्ने, त्यहाँ कस्तो कस्तो हुन्छ, त्यो यता रिले गर्ने, यता हामीले दिएको सुझावहरू फेरि उता रिले गर्ने गरेर रातभरि जस्तै चलिराख्या थियो रातभरि।

बन्जाडे: त्यो छलफलको मेन, मेन एजेन्डा के थियो?

दहाल: मेन एजेन्डा अन्तरिम सरकार बनाउने कुरा नै थियो।

बन्जाडे: ओके।

दहाल: स्थिति असहज छ। तर यसलाई सहज गर्नको निम्ति चाहिँ जेन्जी युवाहरूले डिस्कर्डमा जो भोटिङ इत्यादि गरेर सुशीला कार्कीलाई अगाडि सारिराख्या थिए। अँ, हैन अब त्यसकारण त्यसमा के गर्ने भन्ने विषय एउटा थियो। अनि यसो गर्नको लागि केही वैधानिकता पनि पूरा गर्नुपर्थ्यो, संविधानको मर्म र भावनालाई नै हेर्नुपर्थ्यो। हामी राजनीतिक दलहरू र म फेरि अब त्यतिबेलासम्म संसद त विघटन भइसक्या थिएन। म चाहिँ प्रमुख प्रतिपक्षी दलको नेतै थिएँ। केपी ओली चाहिँ राजीनामा दिए पनि अब कामचलाउ प्रधानमन्त्रीको रूपमा त केपी ओली नै हुनुहुन्थ्यो। हो। त्यो स्थितिमा चाहिँ अब नेपाली कांग्रेसको पनि चाहिँ नेताहरू चाहिँ आखिर सरकारमा त हुनुहुन्थ्यो। त्यसकारण त्यतिबेलाको परिस्थिति संवैधानिक र कानुनी रूपले एउटा विशिष्ट परिस्थिति थियो। र अन्तिममा सुशीला कार्कीजीको नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा सहमति भयो।

बन्जाडे: एकैछिन म रोक्छु। सुशीला कार्की बाहेक अरू पात्रको पनि कुरा भएको थियो त्यहाँ प्रधानमन्त्री बनाउने विषयमा?

दहाल: भएन। उहाँ मात्रै हो।

बन्जाडे: उहाँ मात्रैको कुरा भयो।

दहाल: उहाँ मात्रैको कुरा भयो। किनकि आन्दोलन त युवाहरूले, जेन्जी युवाहरूले गरेका थिए, त्यसकारण जेन्जीको भनाइलाई महत्त्व दिनु अनिवार्य थियो।

बन्जाडे: जरुरी थियो।

दहाल: जरुरी थियो, नत्र चाहिँ वातावरण शान्त…

बन्जाडे: किनकि आन्दोलनको माग…

दहाल: माग चाहिँ त्यहाँ गएर केन्द्रित थियो। त उहाँहरूले अगाडि सारेको र हामीलाई पनि आपत्ति नभएको, किनभने सुशीला कार्कीजी हुँदा चाहिँ हामीलाई फेरि आपत्ति हुने कुरो थिएन। तर यो वैधानिकता र संवैधानिकता मिलाउने कसरी भन्ने जटिलता अलि बढी छलफल हाम्रो त्यहाँ थियो।

बन्जाडे: कानुनविदहरूसँग लामै छलफल भयो बोलाउनुभयो।

दहाल: कानुनविदहरू पनि त्यहाँ हुनुहुन्थ्यो, लामो के गर्ने, इत्यादि इत्यादि। अब हाम्रो भनाइ के थियो भन्दाखेरि…

बन्जाडे: त्यो, त्यो धारामा टेक्ने चाहिँ कहाँ, छोटकरीमा बताउनुस् अब। त्यो त्यो धारामा टेक्ने पोइन्ट स्थिति कसरी बन्यो? केही केही पार लागेन, अन्त कसैकोटा कोही टेक्ने ठाउँ नै भएन?

दHAL: अब संविधानको राष्ट्रपतिको जिम्मेवारी, भनौँ न एउटा संरक्षकको रूपमा, अभिभावकको रूपमा राष्ट्रपतिले खेल्ने भूमिकाबारे संविधानको जुन धारामा ६१, सायद धारा ६१ मा छ, त्यसलाई प्रयोग गर्ने भन्नेमा हामी सर्वसम्मत भयौँ। भनिन्छ नि आवश्यकताको सिद्धान्त।

बन्जाडे: डाक्ट्रिन अफ नेसेसिटी।

दहाल: डाक्ट्रिन अफ नेसेसिटी भनेर जे भनिन्छ, त्यसमा टेकेर राष्ट्रपति अब संरक्षक हुनुको नाताले उहाँले गर्न सक्नुहुन्छ भन्नेमा पुगियो। अर्को कुरो त्यसमा अलिकति वैधानिकता बचाउन कहाँ खोजियो भने, तर अन्तरिम सरकार बनाउने सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउने कुरा केपी ओलीको सिफारिस अनिवार्य हुन्छ। कमसेकम त्यो त संविधानको मर्म अनुसार त प्रधानमन्त्रीले सिफारिस गर्ने, राष्ट्रपतिले नियुक्ति गर्ने भन्नेमा चाहिँ गइयो हामी। र सिफारिस राष्ट्रपतिजीले पहिले भनिसक्नुभएको रहेछ। सिफारिस पनि हामी त्यहाँ बस्दाबस्दै आइ पनि हाल्यो।

बन्जाडे: होइन, राष्ट्रपति नै भेट्न जानुभएको थियो केपी ओलीजीलाई भन्ने…

दहाल: राष्ट्रपतिजी नै भेट्न जानुभयो र त्यहाँबाट सहमति लिएर आउनुभयो। अनि कागज बनाएर पछि चाहिँ कागज पछि आएको छ त्यो।

बन्जाडे: ए! राष्ट्रपतिजी केपी ओलीजीलाई भेट्न कहाँ जानुभएको रहेछ प्रचण्डज्यू?

दहाल: त्यो कुरा मैले सोधिनँ है त्यो।

बन्जाडे: तपाईंलाई थाहा छैन? जहाँ…

दहाल: थाहा त छ अहिले त।

बन्जाडे: अब भन्दिन मिल्छ कि मिल्दैन? केपी ओलीजी कहाँ हुनुहुन्थ्यो?

दहाल: होइन अब उहाँले पछि मेरो केपीजीसँग नै, केपीजीसँग नै मेरो कुरा भएपछि थाहा पाएको हो मैले, उहाँ चाहिँ मकवानपुरको सुपारीटारमा हुनुहुन्थ्यो ब्यारेकमा।

बन्जाडे: ओके।

दहाल: भन्ने कुरा…

बन्जाडे: सिफारिस ल्याउनुभयो।

दहाल: सिफारिस आयो। सिफारिसमा चाहिँ अब राष्ट्रपतिजीले चाहिँ केपीजीसँग अथवा चाहिँ कुरा गर्दा नामको पनि सहमति भएको छ।

बन्जाडे: हो, यही सोध्दै थिएँ मैले। सुशीला कार्कीमा ओलीजीको पनि समर्थन हो?

दहाल: हो। होइन भन्नुहुन्छ त?

दहाल: त्यही त यहाँ यो चाहिँ केपीजी अलि यस्तै बठ्याइँ गर्नुहुन्छ र बिग्रिन्छ के देशमा पनि दुःख पायो, उहाँले नि दुःख पाउनुहुन्छ। भएको के भने राष्ट्रपतिजीले हामीलाई भनेको, उहाँले केपीजीसँग भेटेर सहमति लिसक्नुभएको छ सुशीला कार्कीको बारेमा। नामै सुशीला कार्कीकै बारेमा उहाँले ल हुन्छ भनेर उहाँले भन्नुभएको भनेर हामीलाई ब्रिफिङ गर्नुभयो।

बन्जाडे: राष्ट्रपतिजीले ब्रिफिङ गर्नुभयो?

दहाल: राष्ट्रपतिजीले। त्यो गरेको एकछिनपछि सिफारिस पत्र पनि आइपुग्यो। सिफारिसमा नाम चाहिँ लेख्नुभएको छैन उहाँले। तर राष्ट्रपतिजीले यो त औपचारिकताको लागि यसरी लेखेको हो, उहाँले मलाई सहमति दिइसक्नुभएको छ सुशीला कार्कीको भनेर भनेपछि गो अहेड भएको त्यसरी हो।

बन्जाडे: ए! तर ओलीजीले त अहिले पनि यो सरकार मान्दैनौँ, संविधान बाहिरबाट बनेको सरकार भन्नुभयो।

दहाल: त्यो कुरा चाहिँ उहाँले अर्थै लाग्दैन। औचित्य छैन।

बन्जाडे: संसद पुनस्र्थापना हुनुपर्छ, सर्वपक्षीय सरकार गठन गर्नुपर्छ भन्नुहुन्छ।

दहाल: अब केपीजीले यो भन्ने राजनीतिक पनि र नैतिक पनि हैसियत केपीजीसँग छैन अहिले। त्यो जबरजस्ती भन्ने त जसले जे भने नि भयो। उहाँकै सिफारिसमा, राष्ट्रपतिजीले भेटेर उहाँको सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार, उहाँले ब्ल्याङ्क चेक किन दिया त? यदि नाम मैले भनेको होइन भन्नुहुन्छ भने, त्यो ब्ल्याङ्क चेक दिनुहुन्छ त राष्ट्रपतिलाई, जसलाई बनाए नि हुन्छ? भनेर दिने भनेको पनि त राष्ट्रपतिलाई त त्यो त सिफारिस भयो। राष्ट्रपतिजीले त विवेक प्रयोग गर्ने ठाउँ त भयो नि। त्यसो भएपछि मैले भनेको होइन, मैले बनाएको होइन, या हाहुमा भएको सरकार भन्न चाहिँ केपी ओलीले चाहिँ मिल्दै मिल्दैन। अरूले भन्न सक्छन्।

बन्जाडे: अनि त्यो संसद विघटनमा तपाईंहरू किन सहमत भएको?

दहाल: हामी भएकै होइन नि। हामीले त चाहिँ सुशीला कार्कीजीको नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा सहमत भएकै हो। अनि त्यसको वैधानिकताको निम्ति अब हामीले त्यसलाई सदनबाट अनुमोदन गर्ने कुरा गर्‍या थियौँ हामीलाई। त्यो कुरालाई सदनले अनुमोदन गर्ने र सदनबाट नै छोटो समयको लागि मात्रै सदन बोलाएर भए पनि निर्वाचनको मिति तोक्ने पनि सदनबाटै गर्ने र सदनलाई निष्क्रिय राख्ने अहिले, विघटन गर्ने भन्ने थिएन हाम्रो सुझाव। सदन निष्क्रिय होस्, सदनबाट नै अनुमोदन होस् भन्ने थियौँ।

बन्जाडे: ए! तर त्यहाँ सहमति हुन सकेन।

दहाल: अनि शे…

बन्जाडे: सुशीला कार्कीजीले पनि मान्नुभएन?

दहाल: अब सुशीलाजीको के थियो मनभित्र त्यो त थाहा छैन। तर जेन्जी युवाहरू र त्यतिबेला जेन्जीको प्रतिनिधिको रूपमा जसले काम गर्‍या थियो उनीहरूले सबभन्दा पहिला संसद विघटन, संसद विघटन भनेको भन्यै गरेको त बाहिरै आएको थियो, तपाईंहरूले पनि देखिराख्नुभएको छ।

बन्जाडे: अथवा काठमाडौंका महानगर प्रमुख बालेनले पनि…

दहाल: हो, संसद विघटन नगरेसम्म सपथ ग्रहण नगर्ने…

बन्जाडे: आग्रह गर्नुभएको थियो, सुझाव दिइरहनुभएको थियो।

दहाल: हो। त्यो परिस्थिति त्यस्तो थियो। हामी चाहन्थ्यौँ सुशीलाजी प्रधानमन्त्री भएपछि सदनबाट अनुमोदन होस् र निर्वाचनको मिति पनि…

बन्जाडे: होइन, संसद जोगाउन सक्ने स्थिति थिएन? त्यसकारणले गर्दा विघटनको स्थितिमा…

दहाल: हामीले त्यसलाई विघटनमा सहमति फेरि पनि दिएनौँ। त्यहाँ के भैदियो, नेपाली कांग्रेसको नेता साथीहरूले शेरबहादुरजीसँग एकचोटि सल्लाह नगरी हामीले कुनै पनि कुरामा फाइनल डिसिजन दिन सकिँदैन भनेपछि अनि भोलि बिहान चाहिँ अब भोलिपल्ट बिहान…

बन्जाडे: २७ गते?

दहाल: त्यो भनेको २७ गते बिहान बैठक बस्ने गरी हामी उठ्यौँ। हाम्रो सहमति भयो। अन्तरिम सरकार बनाउने कुरामा सहमति भयो।

बन्जाडे: सुशीला कार्कीजीलाई नै भन्नेमा सहमति भयो।

दहाल: सुशीला कार्कीजीलाई नै भन्नेमा सहमति गर्‍यौँ हामीले मैले र माधवजीले।

बन्जाडे: ओके।

दहाल: नेपाली कांग्रेसको अलिकति बाँकी रह्यो सल्लाह गर्न। सहमति उहाँहरूको नि थियो।

बन्जाडे: ए।

दहाल: सहमति उहाँहरूको नि थियो।

बन्जाडे: तर निर्देशन पाउनुपर्‍यो।

दहाल: तर त्यही अब सभापतिजीको अलिकति निर्देशन नभइकन हामीले गर्न अहिले सकिएन। त्यहाँबाट सभापतिजीसँग कुरा गर्ने पनि कोसिस भयो तर उहाँ चाहिँ अलिकति स्वास्थ्य स्थितिका कारणले…

बन्जाडे: उहाँ त घाइते नै हुनुहुन्थ्यो नि, स्वास्थ्य स्थितिको के कुरा…

दहाल: उहाँ घाइते हुनुहुन्थ्यो, त्यसकारण त्यो सम्भव भएन। र भोलिपल्ट बस्ने भनेर हामी चार बजेतिर त्यहाँबाट शीतल निवासबाट…

बन्जाडे: बिहान चार बजे?

दहाल: बिहान चार बजे शीतल निवासबाट निक्लिएर मैले साढे चार बजे आएर खाना खाएको हो त्यो दिनको खाना चाहिँ। त्यो रातभरि म…

बन्जाडे: संसद विघटनको कुरामा कांग्रेसले पछि के खबर ल्याउनुभयो?

दहाल: संसद विघटनको कुरामा राजनीतिक दलहरूको कसैको पनि सहमति थिएन।

बन्जाडे: ए! कांग्रेसले पनि नगरौँ भन्ने थियो?

दहाल: कांग्रेसले पनि नगरौँ भन्ने थियो, तपाईंहरू पनि नगरौँ नै भन्ने थियो।

बन्जाडे: एमालेको संवाद भइराखेको थिएन त्यो विधान बीचमा? एमालेका नेताहरूसँग कि तपाईंहरू सम्पर्कमै हुनुहुन्थेन?

दहाल: एमालेका नेताहरूसँग पनि राष्ट्रपतिजीले कुनै न कुनै रूपमा त गरिराख्नुभएकै थियो। हाम्रो थिएन।

बन्जाडे: ए! हाम्रो थिएन।

दहाल: राइट।

बन्जाडे: त्यसपछि यो जंगी अड्डामा जुन चहलपहल देखियो र सेनाको सक्रियता देखियो, त्यसको विकल्प केही थियो कि थिएन?

दहाल: तत्काल चाहिँ विकल्प नदेखिएरै त्यस्तो भयो जस्तो लाग्छ मलाई। अब यो यसलाई त अब धेरै तिरबाट विश्लेषण पनि गर्न सकिन्छ। अनुसन्धान गर्नुपर्ने जस्तो पनि देखिन्छ। त्यसो गर्न उचित थियो कि थिएन भन्ने पनि विश्लेषण हुन सक्छ। तर मेरो बुझाइ के छ, किनभने मैले मैले अघि भनेँ नि, प्रत्यक्ष देखेको हुनाले सेनाले एक-दुई चोटी त रोक्न बल गरेको पनि देखेँ मैले फेरि, त्यो गेट जो मेन गेट छ नि सिंहदरबारको, त्यहाँबाट चाहिँ अब चाहिँ मानिसहरू चाहिँ भिड चाहिँ त्यहाँ तोडफोड गर्न, त्यसलाई भत्काउन खोजेको बेलामा रोक्न खोजेको, टियर ग्यास हानेको पनि मैले देखेँ।

बन्जाडे: सेनाको तर्फबाट देखेको?

दहाल: सेनाको तर्फबाट भित्रबाट। तर पटक-पटक झम्टिसकेपछि सकिने स्थिति भएन। सेनाले पनि चाहिँ अब सकेन भन्ने कि, छोड्यो भन्ने कि, यो आफैंमा धेरै गम्भीर प्रश्न छ।

बन्जाडे: यो तपाईं अलि पहिला पनि म यो विषयमा कन्फ्युज नै छु भन्नुभएको थियो, अहिले पनि कन्फ्युज नै हुनुहुन्छ?

दहाल: मैले पनि त्यो विषय चाहिँ अलि गम्भीरै छ। तर म पछि गएर, मैले अघि भनेँ नि, चाहिँ सेनापतिजीले २६ गते राति राष्ट्रपतिसँग संकटकाल लगाएर सेनालाई चाहिँ उतार्ने अधिकार चाहियो, सेना राष्ट्रपतिको आदेश मान्न तयार छ, संकटकाल लगाएर आदेश चाहियो भनेर एउटा कागज लिइराख्नुभएको थियो सेनापतिजीले।

बन्जाडे: कहिले, कहिले?

दहाल: २६ गते राति।

बन्जाडे: अ। त्यो देख्दा सेना चाहिँ फेरि विधि सम्मत आदेश भएको भए जस्तोसुकै स्थिति सामना गर्न पनि तयार रहेछ भन्ने पनि देखियो त्यहाँ।

बन्जाडे: २३ र २४ मा पनि?

दहाल: अगाडिदेखि संकटकाल लगाएर सेना जाऊ भनेको भए, विधि सम्मत तरिकाले, सेनापतिजीको त्यो भनाइ हेर्दाखेरि उहाँ चाहिँ जे पनि गर्न सरकारको आदेश या राष्ट्रपतिको आदेश… प्रधान किनभने परमाधिपति त राष्ट्रपति हो नि त। हो। त्यसो भनेर उहाँको आदेश मान्न तयार भएको देखिन्थ्यो। त्यसकारण सेनालाई सजिलै आरोपित गर्नु चाहिँ मैले उचित देख्दिनँ। तर साथसाथै स्थिति कस्तो जटिल थियो भने, राष्ट्रपतिले तुरुन्तै संकटकाल लगाएर आदेश दिने पनि सजिलो थिएन। त्यसो गर्ने बित्तिकै फेरि के हुन सक्थ्यो त भन्दा धेरै मान्छे मर्ने, त्यो खतरा छ भन्ने कुरा पनि सेनालाई थाहा थियो। थप मानिसहरूको क्षति भयो, मानिस मारिए भने परिस्थिति झन् जटिल बन्न सक्ने र राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले नेपाल असफल भयो, अब सेनाले पनि चाहिँ कन्ट्रोल गर्न सकेन यत्रा मान्छेको क्षति भयो भन्ने पर्‍यो भने अनि विदेशी सेना आउन सक्ने खतराप्रति चाहिँ सतर्क हुनुपर्छ भन्ने चर्चा पनि थियो त्यहाँ। त्यसकारण सेना गम्भीर थियो भन्ने मैले त्यहाँ गएपछि अह चाहिँ देशप्रतिको माया पनि छ, परिस्थितिलाई कन्ट्रोल गर्नुपर्ने पनि छ, र अब विदेशी सेना आउने स्थिति नबनोस् भन्नेतिर जिम्मेवारीका साथ काम गर्नुपर्ने पनि छ। बडो त्यो परिस्थिति यति चाहिँ तपाईंको चाहिँ चुनौतीपूर्ण भनौँ, स्थिति थियो।

बन्जाडे: होइन, साँच्चिकै डरलाग्दो स्थिति थियो, देश हातबाट जान्थ्यो भन्ने…

दहाल: स्थिति थियो। किनभने एकैछिन अलिकति बिग्रियो भने चाहिँ अर्को ठूलो दुर्घटना हुने र देश…

बन्जाडे: फेरि ठूलो विस्फोट हुन सक्ने स्थिति थियो?

दहाल: ठूलो विस्फोट हुन सक्ने स्थिति थियो। त्यसकारण मैले भन्ने गरेको छु, हामीलाई पनि बोलाएर सेनापतिजीले, राष्ट्रपतिजीले वातावरणलाई सहज बनाउनको लागि एउटा समझदारीको वातावरण बनाउन जुन भूमिका खेल्नुभयो, त्यसकारण मैले सेनापतिजीलाई, सेनालाई पनि म धन्यवाद भनेको छु। राष्ट्रपतिजीले पनि रातभरि त्यो बुढो मान्छे सुत्नुभएको छैन।

बन्जाडे: त्यो बीचमा पूर्व राजालाई फर्काउने गरेर पनि तयारी हुँदैछ भन्ने अर्को रुमर चल्यो। यो माधव नेपालजीले पनि भन्नुभयो एकपटक त कता हो, त्यो खालको तयारी पनि भएको थियो, तर ज्ञानेन्द्रले नै मान्नुभएन भन्ने सम्मको कुरा पनि आयो। तपाईंको मुखबाट सुनाउन चाहन्छु छोटकरीमा।

दहाल: अब त्यो रुमर पक्कै पनि चल्यो। ल आजै लाने रे, भित्रै जाने रे भन्ने रुमर चल्यो। तर त्यहाँ हामीले २४ गते, २५ गते, २६ गते त्यहाँ गएर बस्दासम्म कतैबाट पनि त्यो पुष्टि भएन। त्यो होइन थियो त्यो।

बन्जाडे: अब अर्को पनि सुन्न चाहेको जवाफ छ तपाईंको मुखबाट। तपाईंले त्यति धेरै पैसा घरमा किन राख्नुभएको?

दहाल: कहाँ थियो पैसा? कहाँ, कसले देखायो पैसा? त्यो नहुने कुरा। त्यो अन्तको पैसा यसको भनेर एक थरीले फेक चाहिँ…

बन्जाडे: त्यो पनि एआई हो कि क्या?

दहाल: फेक, फेक एआई हो कि के हो, त्यो अरूको घरमा देखिएको पैसा यो प्रचण्डकोमा देखियो भनेर प्रचार भयो। तर प्रचण्डकोमा देखिएको भनेको एक लाख रुपैयाँ। पत्रकारले गएर हेरेर सबै छानबिन गर्दाखेरि देखियो भनेको एक लाख।

बन्जाडे: ए।

दहाल: कुरा बुझ्नुभयो त? त्यसकारण म कहाँ त्यस्तो पैसा थियो…

बन्जाडे: दुई, दुई ट्रक भन्ने कुरा… दुई ट्रक पैसा त अघिल्लो रात नै त्यहाँबाट लिएर अन्तै लैजानुभयो भन्ने एकजना पूर्व प्रहरी अधिकारीले पनि भन्नुभयो। सुन्नुभयो, थाहा पाउनुभयो?

दहाल: थाहा पाएँ। त्यो थाहा मात्रै पाएको होइन, त्यसको त पनि सचिवालयबाट खण्डन पनि भयो। चुनौती पनि दिइयो साबित गर भनेर। त्यो झुटो बाहेक केही नै, हन्ड्रेड पर्सेन्ट झुटो कुरा थियो त्यो। यो सबै हेर्दा कहीँ न कहीँ यो डिजाइन निकै ठूलो षड्यन्त्र नेपालका विरुद्ध, नेपालीहरूका विरुद्ध, नेपालका पार्टी र नेताहरूका विरुद्ध निकै ठूलो षड्यन्त्र रहेछ भन्ने मात्रै मैले बुझ्छु।

बन्जाडे: ए!

दहाल: त्यो एउटा सेनाको, के रे प्रहरीको चाहिँ पूर्व अफिसरले यति झुटो कुरा प्रचार गर्ने र सेन्सेसन फैलाउने, ओहो! दुई ट्रक। म राति १० बजेसम्म मिटिङमा छु त्यहीँ खुमलटारमा। म मात्रै होइन, हाम्रो पार्टीका सबै नेताहरू त्यहाँ जम्मा छन्। ११ बजे म बेडमा गएको छु। आरामसँग सुतेको छु प्रतिपक्षलाई बैठक बोलाएर। के को ट्रकमा लानी? अब यस्तो हावा कुरा… तर पनि यसले मलाई के लाग्छ भने निकै ठूलो षड्यन्त्रमा केही मान्छे रहेछन् भन्ने मात्रै पुष्टि हुन्छ यसले।

बन्जाडे: तपाईंको जवाफ त्यो भयो। तर मेरो प्रश्न अर्को के भने, यति ठूलो पार्टी सञ्चालन गरिरहनुभएको छ, करिब-करिब ११-१२ प्रतिशत मत प्राप्त गर्नुभएको छ समानुपातिकमा। देशैभरि संगठन छ, त्यत्रो धेरै कार्यकर्ताहरूको व्यवस्थापन गर्नुपर्छ। तपाईं नेताहरूको घरमा, कहिले म बिरामी छु, उपचार गर्न सकिनँ, घर जान मलाई भाडा पुगेन भनेर आउने कार्यकर्ताहरू पनि तमाम देखिनुहुन्छ, त्यो हामी पनि देख्छौँ, तपाईंको आगनमा हरेक दिन जसो त्यहाँ भिड नै लागेको हुन्छ, हैन? तपाईंहरूलाई दिने चन्दा पनि बैंकिङ च्यानलबाट त्यति धेरै आउँदैन, तपाईंको मात्रै होइन, हरेक पार्टीकै आउँदैन हैन, यो पनि लुकाउन पर्ने कुरा होइन। कोष सञ्चालन गर्न कोषाध्यक्षभन्दा पनि अध्यक्षज्यू नै अलि बढी पावरफुल हुनुहुन्छ, त्यो पनि लुकाउने कुरा भएन। तपाईंहरू जस्तो यस्तो शीर्ष नेताको घरमा एकाध करोड पैसा हुनु त ठूलो कुरा होइन भन्छन् नि फेरि जनताले नै।

दहाल: होइन, ठूलो होइन। त्यो ठूलो होइन, हुन सक्छ। तर मैले घरमा पैसा राख्दैनथे। साथीहरूकै राख्दिन्थेँ। अलिअलि गरेर बरु दश लाख, पाँच लाख, दश लाख गरेर विभिन्न ठाउँमा राख्दाखेरि नै त्यो सुरक्षित पनि हुन्छ, सजिलो पनि हुन्छ। फेरि पार्टीभित्र के हो भन्ने पनि हुँदैन। विभिन्न ठाउँमा राख्या छ, सबै थाहा छ साथीहरूलाई।

बन्जाडे: ए! त्यस्तो पारदर्शी हुन्छ?

दहाल: यस्तो, एउटा लेभलसम्म त पारदर्शी हुन्छ नि त। एउटा लेभलसम्म पारदर्शी नभएपछि त चल्दै चल्दैन नि त पार्टी।

बन्जाडे: भनेपछि त्यति एक लाख थियो पैसा?

दहाल: त्यहाँ चाहिँ त्यही त्यही देखियो भनेका छन्। मलाई त त्यो पनि के थाहा र?

बन्जाडे: अरू के के जल्यो त्यस्तो महत्त्वपूर्ण कुरा, तपाईंले बिर्सन नसक्ने केही भन्न मिल्छ?

दहाल: धेरै जल्यो नि। धेरै जल्यो नि। सबभन्दा बढी मलाई चिन्ता भएको मेरो पुराना थुप्रै माइन्युटहरू जनयुद्ध कालका थिए। शान्ति प्रक्रियामा आएपछिका थुप्रै माइन्युटहरू थिए, ती सबै जले। मेरो पुस्तकालय थियो, राम्रो कलेक्सन थियो, सायद तपाईंहरूले पनि देख्नुभयो कि त्यो पुस्तकालय। त्यो सबै जल्यो। सबभन्दा बढी मलाई चिन्ता त्यहाँ छ।

बन्जाडे: ओके। अब एउटा सानो प्रश्न राख्छु, यही सम्बन्धी नै। गंगा दाहालजीको घरमा एकजना शव भेटियो, त्यो पैसाको झोला नै समाएको शव, त्यस्तो भेटियो भन्ने पनि एकदम ठूलो हल्ला चल्यो। त्यसको वास्तविकता के हो?

दहाल: अब त्यसको त अहिले अनुसन्धान भइराखेकै छ। तर अनुसन्धानमा हामीले राज्यलाई सक्ने सहयोग गरिराखिया छ, गंगाले पनि गरिराखेकै छन्। ए। अब त्यो के हो भन्ने सबै अनुसन्धान भएर ठ्याक्कै पुष्टि त भएको छैन। केही पैसा थियो होला त्यहाँ भन्छु मैले। पैसा त पक्कै थियो होला। मैले अघि भनेँ नि, एउटा प्रतीकात्मक भनेँ नि, पैसा मसँग भए नि कोही यहाँ, कोही त्यहाँ अलिअलि गरेर राख्ने सन्दर्भमा त्यहाँ नि पुग्या थियो पनि होला। मैले सोधेको त छैन यसरी। तर अब बडो दुःखद् कुरा, त्यो हामी यसै पनि घर जलेको, चाहिँ देश जलेको र सबभन्दा बढी मैले अघि अलि भनेँ नि, म सबभन्दा बढी भावुक भएको सिंहदरबार जल्दा, त्यो त आँखै अगाडि…

बन्जाडे: राष्ट्रपति आँखै अगाडि तुलु-तुलु हेरेर बस्नुभयो…

दहाल: मैले चाहिँ पटक-पटक आँसु झरिराख्यो।

बन्जाडे: यो जति पनि राजनीतिक विस्फोट भयो नि अहिले, यसको मुख्य दोषी नेपाली कांग्रेस र एमाले मात्रै हुन् जस्तो लाग्छ यहाँलाई अब?

दहाल: जनताको समस्या समाधान गर्नको लागि सकारात्मक पहल भएको सन्देश गएको भए यो हुने वाला थिएन। अनि त्यसपछि सरकार प्रमुखका अभिव्यक्तिहरू सन्तुलित, जनतालाई राहत दिने खालका भएको भए पनि यो स्तरको चाहिँ नहुन सक्थ्यो। एउटा सानो घटना छ नि, एउटा बच्चालाई गाडीले ठक्कर दियो। ए यसो छोएको मात्र रहेछ, केही होइन भने जस्तो भनिदिने। अनि युवाहरूमा यत्रो धेरै असन्तुष्टि र आक्रोश बढेको छ। ए जेन्जी युवाहरूले गर्न खोजेका? केही हुने वाला छैन भनेर चाहिँ बडो हल्का ढंगले भनिदिने कुराले पनि त्यो चाहिँ आगोमा घिउ थप्ने जस्ता कामहरू पनि भए। आन्तरिक कारण मुख्य हो। तर यस्तो परिस्थिति भएपछि त विभिन्न शक्तिहरूले त्यसलाई उपयोग, दुरुपयोग त गर्न खोज्छन्। त्यहाँ खोजियो पनि।

बन्जाडे: ओके, ओके।

दहाल: किनकि स्वयं युवाहरूले भने नि भोलिपल्ट, हाम्रो आन्दोलन हाइज्याक भयो, अर्कोतिर गयो, यसरी लुटपाट, तोडफोड, आगजनी गर्ने भन्ने त हाम्रो थिएन भनेर त जो रियल प्रतिनिधि हुन् आन्दोलनका, तिनीहरूले भनेको भन्यै छन्। भनेपछि यहाँ घुसपैठ भयो, त्यो घुसपैठ कहाँबाट भयो भन्ने सक्नुहुन्छ? हाइज्याक भयो, त्यो हाइज्याक कसले गर्‍यो भन्न सक्नुहुन्छ?

दहाल: त्यो अब धेरै चिज छन् त्यहाँ। त्यहाँ चाहिँ हाइज्याक भयो, घुसपैठ भयो भन्दाखेरि मलाई एकजना भारतीय बुद्धिजीवीले गरेको विश्लेषण बडो चाहिँ गजबको लाग्या थियो मलाई, यो के भा’ हो नेपालमा यो २३ र २४ गते भन्दा उनले भनेका छन्, यो चटपटे विस्फोट भयो।

बन्जाडे: चटपटे विस्फोट?

दहाल: त्यसमा राजावादी पनि छन्, त्यसमा असन्तुष्ट जनता पनि छन्, युवाहरू पनि छन्, पार्टीकै कार्यकर्ता पनि छन्, पार्टीका कार्यकर्ताहरू पनि छन्, देशी पनि छन्, विदेशी शक्तिहरूले पनि कुनै न कुनै आफ्नो आफ्नो इन्ट्रेस्ट अनुसार त्यहाँ चाहिँ मलजल गरेकै छन् भन्दाखेरि यो चाहिँ एउटैको, ठ्याक्कै एउटै विचार, एउटै योजना, एउटैको मात्रै छैन। धेरै चिज मिलेर विस्फोट भएको हुनाले त्यसको नाम चटपटे विस्फोट भनेको, त्यो ठीकै जस्तो लाग्थ्यो, धेरैको छ त्यहाँ।

बन्जाडे: ओके। अब मैले तपाईंलाई लान खोजेको कहाँ थियो भने, यो जो असन्तुष्टि देशमा फैलियो, जनतामा निराशा छायो, त्यसमा माओवादी जिम्मेवार छैन भन्न मात्रै खोजेको थिएँ।

दहाल: कांग्रेस र एमाले मात्रै जिम्मेवार हो? मतलब अब समग्रमा र दीर्घकालीन ढंगले हेर्दा त हामीले पछिल्लो चोटी भनेका छौँ, अह ४६ सालको आन्दोलन यताको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्‍यो, के भएको हो? हैन? अनि समीक्षा पनि त्यसरी गर्नुपर्‍यो, हामीले भनिराख्या छौँ। ६२/६३, शान्ति सम्झौतापछि यहाँसम्म आउँदा के के भए भन्ने कुराको पनि अनुसन्धान हुनुपर्‍यो। त्यसरी समग्रमा भन्दा हामीले त आत्मालोचना नै गरेका छौँ, हाम्रो पार्टीको बैठकमा। गल्ती हामीबाट पनि भयो। जति हामीले सुशासनको पक्षमा या जनताको आर्थिक विकासको पक्षमा जसरी काम गर्न सक्नुपर्थ्यो, हामीले नसकेको हिस्सा हामी लिन्छौँ भनेर…

बन्जाडे: २० वर्षमा सबैभन्दा धेरै सत्तामा तपाईंहरू बस्नुभयो…

दहाल: तर सबभन्दा बढी आत्मालोचना हामीले गर्‍यौँ र नै अनि हामीले सुशासनको अभियान सुरु गर्नुपर्छ, परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने पार्टी हौँ हामी। पहिला कुरा यो बुझ्न पर्‍यो। त्यसकारण हामी हिस्सा त लिन्छौँ, यो चाहिँ सबै समस्यामा हाम्रो पनि हिस्सा छ, हामी आत्मालोचना पनि गरेका छौँ, लिन्छौँ। तर जतिबेला यो आन्दोलन भयो, प्रत्यक्ष जिम्मेवार हामी होइनौँ।

बन्जाडे: तर एउटा कुरा यो बडो विचित्र लाग्छ मलाई चाहिँ। पहिलो चोटी म प्रधानमन्त्री भएँ, मध्यपहाडी लोकमार्गदेखि उत्तर-दक्षिण कोरिडोरको प्रस्ताव राखें र अहिले देशमा भौतिक पूर्वाधारको दृष्टिकोणले एउटा नयाँ ठाउँमा पुगेको छ, त्यसको नेतृत्वकर्ता म, मेरो पार्टी। गरिब किसानहरूको ऋण मिनाहा गर्नुपर्छ भनेर ३० हजारसम्म त्यतिबेला ६४ सालमा ३० हजार ऋण मिनाहा गर्ने निर्णय गर्ने पार्टी हामी। अर्को पटक जाँदा चाहिँ उज्यालो देश बनाउनेतिर पहल गर्ने हामी। अनि चुनावतिर देश लगेर मधेसी जनतालाई पनि विश्वासमा लिएर राष्ट्रिय एकता बनाउने हामी। चुनाव सुरु गर्ने हामी नयाँ संविधान अनुसार। अनि पछि भ्रष्टाचारका विरुद्ध अभियान चलाएर सामाजिक न्यायको निम्ति लड्ने हामी। अनि हामी र अरू एउटै हुन् भन्ने जो तर्क गर्न खोजिएको छ, मलाई लाग्छ षड्यन्त्र यहीँनेर छ।

बन्जाडे: मैले भन्न खोजेको के भने, जनताले चाहेको सुशासन थियो, कहीँ पनि पैसा बुझाएर काम गर्न नपरोस् भन्ने थियो, सर्वसुलभ स्वास्थ्य थियो, सर्वसुलभ शिक्षा थियो, यी लगायतका कुराहरू त जनताले पाएनन्, रोजगारी पाएनन्। नेताहरूको विलासी जीवन बढेको बढ्यै भयो, भ्रष्टाचार बढेको बढ्यै भयो, नेताहरू एउटै नेतृत्वमा जकडिएर बसेको बस्यै गरे, कसैलाई पनि पालो दिएनन्, त्यहाँ पार्टीमा रिफ्रेसमेन्ट भएन, पुनर्गठन भएन। यो वाक्क, दिक्क, प्याक्क भयो भन्ने कुरा आयो नि त अहिले त।

दहाल: यो भनाइ पनि चाहिँ एकातिरबाट इमान्दार मानिसहरूले, युवाहरूले भनेकोमा म उनीहरूलाई धन्यवाद भन्छु। तर जसरी सोसियल मिडियामा जसता शक्तिले यो प्रचार गर्‍या छन् नि, नियोजित छ, बेइमानीपूर्ण छ र यो नेपाल देशलाई बर्बाद पार्ने डिजाइन अन्तर्गत भएको छ भन्ने कुरा पनि म भन्न चाहन्छु। किन? के? मैले अन्तिम प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध व्यापक अभियान चलाएको दुनियाँले देख्या छैन? तपाईंले नागरिकताको समस्या कति वर्षदेखि अल्झिएर बसेर लाखौँ नेपाली युवाहरू आत्महत्या गर्ने कि के गर्ने भन्ने ठाउँमा पुगेको बेलामा बनाएको चाहिँ दुनियाँले देख्या छैन? शिक्षा विधेयकको अभावमा चाहिँ शिक्षक र विद्यार्थीहरू चाहिँ पीडित भएको बेलामा मेहनत गरेर प्रचण्ड नेतृत्वको सरकारले नै शिक्षा विधेयक सदनमा पुर्‍यायो, शिक्षकहरूसँग एउटा सहमति गर्‍यो भन्ने कुरा दुनियाँले देख्या छैन? अनि सुशासनको पक्षमा मात्रै होइन, सामाजिक न्यायको पक्षमा पनि देशभित्र र बाहिरका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेर अहिले खर्बभन्दा बढी जम्मा गर्ने नेतृत्व प्रचण्डको नेतृत्वको सरकारले होइन? यो कुरा किन मानिसले हेरिराख्या छैनन्?

बन्जाडे: तर प्रचण्ड र प्रचण्डका आसपासमा बस्नेहरूले अकूत पैसा कमाए भन्दैछन्। अहिले सरकारले तपाईंहरूकै सम्पत्ति छानबिन गर्दैछ।

दहाल: छानबिन गरे हुन्छ नि।

बन्जाडे: सघाउनुहुन्छ?

दहाल: तपाईं, तपाईं किन नसघाउने? तपाईंले सुन्नुभएको छैन, मैले सिंहदर… के रे सदनमा रोस्टमबाट मबाट छानबिन सुरु गर…

बन्जाडे: हुँदैछ।

दहाल: र बेलाबेलामा…

बन्जाडे: अनुसन्धान हुँदैछ अब।

दहाल: हुन्छ, होस्। म त होस् भन्ने मला हो नि त म। अरू कसैले बोल्या छन् रोस्टममा? सदनको रोस्टमबाट त्यो शेरा दरबार भन्ने ल्याउँछन् कहिले, कहिले के क्यान्टोनमेन्ट भित्र गिरेजाबाबु मरेर जानुभयो। अब त्यो काम न काजको चाहिँ त्यतिकै, अर्थ न बर्थ, त्यहाँ न केही हुनु न केही। त्यसो भएपछि मैले त्यो प्रचार गर्नेहरूलाई चुनौतीका साथ भनेँ, मबाट सुरु गर त यो छानबिन। छानबिन सुरु गर, शेरा दरबारको छानबिन सुरु गरिहाल भनेर भन्ने पहिलो प्रधानमन्त्रीलाई अनि तपाईं चाहिँ कसरी भन्न सक्नुहुन्छ कि उस्तै? उस्तै हो?

बन्जाडे: सम्पत्ति छानबिन गर, प्रचण्ड तयार छ।

दहाल: तयार, तयार भनेर बोलेको छु। जहाँ जे गर्न पनि सहयोग गर्छु मैले।

बन्जाडे: अरूको पनि छानबिन जे जे गर्नुपर्छ गर।

दहाल: तर नेपालको शान्ति सम्झौतालाई धरासायी पार्ने षड्यन्त्र नगर।

बन्जाडे: फेरि अर्को धम्क्याउनुभयो कि?

दहाल: धम्क्याएको होइन। शान्ति सम्झौतालाई नै बिगार्ने र चाहिँ सारा भद्रगोल, देशलाई त पाइएन नि। तर छानबिन जे जे गर्नुपर्छ गर। जालझेल, षड्यन्त्र नगर मात्रै हो। राष्ट्र बचाउन सबै देशभक्त शक्तिहरू, वामपन्थी शक्तिहरू मिल्नुको विकल्प छैन। छानबिन गरेर दोषीलाई कारबाही गर्नुको विकल्प पनि छैन।

बन्जाडे: वामपन्थीहरू त मिलिरहनुभएको छ। १०-१२ वटा घटकहरू पनि एक ठाउँमा आइसक्नुभएको छ। यहीँनेर मैले जोडेर प्रश्न गर्छु। अघि तपाईंले भन्नुभएको थियो, हामीले आजसम्मका गल्तीहरू प्रति आत्मालोचना गरेका छौँ, सच्चिन तयार छौँ र त्यसका लागि अब परिवर्तनको सन्देश दिन पनि तयार छौँ भनिरहँदा खेरि माओ… माओवादी भन्न मिलेन, नेपाली कम्युनिष्ट पार्टीले अब दिने त्यो परिवर्तनको सन्देश के हो?

दहाल: अब हामी चाहिँ देशव्यापी घोषणा सभा या सन्देश सभा गर्दैछौँ। देशैभरि। र हाम्रो अब हामी कसरी जान खोजेका छौँ भन्ने कुराको एउटा रोडम्याप जनताको अगाडि राख्दैछौँ, नयाँ रोडम्याप। कृषिमा हामी के गर्छौं, शिक्षामा हामी के गर्छौं, स्वास्थ्यमा के गर्छौं, रोजगारी सृष्टि कसरी गर्छौं, उद्योग कसरी चाहिँ लाई अगाडि गर्ने, परिचालन गर्ने, उद्योगधन्दाको स्थितिलाई कसरी लान्छौँ, लगायतका विषयमा आम नेपाली जनतालाई अपिल गर्ने गरिकन हामी जाँदैछौँ। अब यो एकता प्रक्रिया अझै अझै अगाडि बढोस् भन्ने हाम्रो चाहना छ। हुन सक्छ एक-दुई दिनपछि फेरि तपाईंहरूले अर्को एउटा देख्नुहुन्छ।

बन्जाडे: जेन्जीहरूको अहिलेको आन्दोलनको माग के थियो भने शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्डजीहरू धेरै पटक अब यो म्युजिकल चेयरमा हुनुभयो। उहाँहरूलाई अब बिदाइ गर्नुपर्छ, उहाँहरूलाई देख्न नपरोस्। त्यही पार्टीका बरु नयाँ युवाहरू आएर चाहिँ शासन सत्ता सम्हालुन्, त्यो पार्टी पनि सम्हालुन् भन्ने कुरा छ के। तर तपाईंहरूले फेरि अझै पनि जुँगा मठारी रहनुभएको छ के।

दहाल: त्यस्तो होइन। त्यस्तो होइन हेर्नुस् है। पहिलो कुरा त जेन्जी युवाहरूले फलानो नेता हट, फलानो बस भनेर सुरु गरेको आन्दोलन होइन यो। यो अहिले पछि-पछि थप्दै लगेर अनि के के कताकता बनाउने, कसकसका स्वार्थ के के हुन्, त्यो त पछि खुल्दै जाला। तर जेन्जी युवाहरूले खोजेको चाहिँ सोसियल मिडियामाथिको प्रतिबन्ध हटाउ, भ्रष्टाचार रोक, सुशासन कायम गर…

बन्जाडे: ओके, ल सिधा सन्देश दिनुस् त, नेपाली कम्युनिष्ट पार्टीको अबको अध्यक्षमा तपाईं र माधव नेपालजी त प्रतिस्पर्धामा नरहने अरे। माधव नेपालजीले भनिसक्नुभयो। प्रचण्डजी र म त यो दौडमा रहँदैनौँ भनेर…

दहाल: मैले पनि केन्द्रीय, मैले पनि केन्द्रीय समितिको बैठकमा भनिसकेको छु, महाधिवेशनसम्म हामी एउटा विधि प्रक्रियाभित्र गएर लिडरसिपको चाहिँ नयाँ सेटिङ गर्नेतिर सोच्ने भनेर त मैले भनि नै सक्या छु। त्यसकारण मलाई, मेरो कुरा के छ भने, एक थरी मान्छेहरूले चाहिँ प्रचण्डलाई जसरी पनि सिध्याउनुपर्छ भनेर उसलाई अपहेलित गरेर, अपमानित गरेर हटाउन खोज्यो भने म त ज्यान गए छोड्दिनँ।

बन्जाडे: ए।

दहाल: कुरा, जहाँ किन छोड्ने? किनकि इतिहासमा हामीले खेलेको भूमिका, चाहे चाहिँ समावेशी, समानुपातिक, लोकतान्त्रिक गणतन्त्रको कुरा होस्, चाहे शान्ति सम्झौताको कुरा होस्, चाहे संविधानसभाको कुरा होस्, त्यहाँ चाहिँ खेलेको भूमिकालाई अपमानित गर्ने गरी चाहिँ हटाउन खोजेको हो भने त त्यो हट्ने कुरो भएन। तर मैले सधैं भनेको छु, नमरेसम्म पदमा बसिराख्ने कुरा गलत हुन्छ भनेर मैले जनयुद्धकै बेलामा, रोल्पामा एउटा केन्द्रीय समितिको बैठक हो, त्यतिबेलै पास गर्‍या छु डकुमेन्ट अहिले पनि जीवित छ। बस्नु हुँदैन। मैले त अरूलाई अलि…

बन्जाडे: अलि मृत, अलि प्रस्ट पार्दिनँ। हामी समयको अन्तिम चापमा पर्‍यौँ अब। त्यो भनेको के? अपमान हुने गरेर मलाई गरियो भने त म छोड्दिनँ भनेको। मान भनेको के हो?

दहाल: होइन…

बन्जाडे: अथवा कस्तो भूमिका दियो भने चाहिँ… भूमिका के कुराहरूमा चाहिँ नेतृत्वले खेलेको भूमिकाको सही चाहिँ मूल्यांकन पनि हुने र नेतृत्वको मोडालिटी, अध्यक्ष बसिराख्नुपर्छ भन्ने अथवा संयोजक बसिराख्नुपर्छ भन्ने मलाई अब छैन।

बन्जाडे: यो कुरा मेरो क्लियर हो फेरि। यसमा यता र उता नपार्दा हुन्छ के। महाधिवेशनसम्म एकता गर्नको लागि पनि भूमिका खेल्नुपर्ने छ। एकता प्रक्रिया टुंग्याएर महाधिवेशनमा पुर्‍याएर त एउटा ठाउँमा त लगेर छोड्नु पर्‍यो नि। छोड्दाखेरि पनि त्यतिकै बीच बाटोमा छोडेर हुने खालको नि होइन। अझ मेरो नेतृत्व वाला पक्ष त एक ढंगले दीक्षित छ नि त। मैले छोड्छु भन्दा पनि नमान्ने खालको छ नि त मेरो त स्थिति।

बन्जाडे: फेरि कार्यकर्ताले मानेनन्, अर्को नेतृत्व तयार भएन…

दहाल: त्यसो भनेर मानेन, म मनाउँछु नि। मैले चाहिँ महाधिवेशनसम्म जाँदा मनाउने पनि हुन्छ, सम्झाउने पनि हुन्छ।

बन्जाडे: ए! भनेपछि मैले फेरि अन्तर्वार्ता गर्दाखेरि तपाईंलाई अध्यक्षज्यू भन्न अब नपाउने भएँ?

दहाल: पाउनुहुन्न।

बन्जाडे: निर्धारित समय फागुन २१ मा चुनाव हुन्छ?

दहाल: सरकारले फागुन २१ गते चुनावको घोषणा गरेपछि सुरुमै समर्थन गर्ने पार्टी हामी नै हो। माधवजी र मैले अब चुनावै हो भनेर चुनाव हुनुपर्‍यो, चुनाव स्वच्छ निष्पक्ष रूपमा हुनुपर्‍यो, शान्तिपूर्ण वातावरण बनाउन सरकारले जतिसक्छ भूमिका खेल्नुपर्‍यो, हामी सहयोग गर्न तयार छौँ भनेर सुरुमै घोषणा गर्ने हामी नै हौँ। अहिले पनि हामी फागुन २१ गते चुनाव हुन सक्छ, हुनुपर्छ भनेर हामी लाग्या छौँ र अब हामी अभियान लिएर जाँदाखेरि चुनावको पनि अभियान हुन्छ त्यो। चुनावी अपिल पनि हुन्छ।

बन्जाडे: तर एमालेले चुनावमा भाग लिँदै नलिने भन्छ उसले।

दहाल: भनेको छैन। चुनाव हुँदैन कि भन्ने आशंका बढी गरिराख्नुभएको छ उहाँहरूले। चुनाव भएपछि त हामी चुनावबाट भाग्ने होइन भन्ने पनि आइराखेकै छ।

बन्जाडे: भनेको उहाँको यो तयारी चुनावको तयारी पनि हो?

दहाल: एमालेको हो भन्ने लाग्छ मलाई।

बन्जाडे: यसमा शंका छैन, एमाले अन्तिममा चुनावमा आउँछ?

दहाल: मलाई त्यस्तो लाग्दैन। चुनाव हुने वातावरण भइसकेपछि चुनावबाट कोही पनि पन्छिने र भाग्ने स्थिति बन्दैन।

बन्जाडे: सुरक्षा चुनौती अझै भयो भन्ने कुरा छ त। लुटिएका हतियारहरू अझै यत्रो बाहिर छन्। छुटेका बन्दीहरू ५ हजारभन्दा धेरै अहिले बाहिर छन्। यसको कसरी…

दहाल: अब त्यो चाहिँ त सरकारले त्यसको व्यवस्थापनको लागि पनि अगाडि बढ्नुपर्छ, दृढतापूर्वक जानुपर्छ भन्ने छ मेरो। हजुर। त्यतिले गर्दा चुनाव नहुने भन्ने हुँदैन।

बन्जाडे: संविधान संशोधन गरेर चुनाव हुनुपर्छ भन्ने फेरि अर्को थरीको माग छ, सम्भव हुन्छ?

दहाल: संविधान संशोधन गरेर चुनावमा जानुपर्छ भन्ने सम्भव छ? अब एउटा कुरा मैले चुनावलाई सहज सम्पन्न गर्नको लागि पनि नेपालमा सर्वदलीय र सर्वपक्षीय सहमति आवश्यक छ। त्यो सर्वदलीय र सर्वपक्षीय सहमति जुटाउन मुख्य भूमिका सरकारले नै खेल्नुपर्ने हुन्छ। हामी त्यसमा सहयोग गर्न तयार छौँ। इन केस चुनाव नहुने जस्तो भयो भने पनि के गर्ने भन्नको लागि पनि सर्वपक्षीय, सर्वदलीय सहमति आवश्यक छ। सबैको सहमतिले मात्रै निकास हुन सक्छ। विगतमा पनि कयौँ पटक चाहिँ गम्भीर संकटमा देश पर्न खोज्दा हामी राजनीतिक सहमतिका आधारमा, राजनीतिक सहमतिका आधारमा अब चाहिँ हामीले निकास खोजेका पनि छौँ। त्यो निकासले निकास दिएको पनि छ फेरि देशलाई।

बन्जाडे: तर प्रधानमन्त्री सुशीला कार्कीजीले त शीर्ष नेताहरू, पुराना दलका शीर्ष नेताहरूको मुखै हेर्न नपाए हुन्थ्यो, भेट्नै नपाए हुन्थ्यो जस्तो खालको अभिव्यक्ति दिनुभयो। यसरी सरकारले नै सेसन लिएर फेरि राष्ट्रिय एकताका लागि अब सर्वपक्षीय भेटघाट होला, सहमति होला भनेर…

दहाल: अब त्यो उहाँले, उहाँले साँच्चै भन्नुभएको होला जस्तो लाग्दैन मलाई। उहाँ जस्तो जिम्मेवार, अहिले त पदमा प्रधानमन्त्री नै हुनुहुन्छ। उहाँ जस्तो व्यक्तिले यो भन्नुभयो होला जस्तै लाग्दैन मलाई।

बन्जाडे: अन्तिममा फागुन २१ निर्धारित मितिमा चुनाव हुन सकेन भने देश कता जान्छ?

दहाल: चुनावको लागि पनि राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ, हामी त्यसको लागि तयार छौँ। त्यसको नेतृत्व सरकारले नै गर्नुपर्छ अहिले। यदि नहुने भयो भने के गर्ने भन्ने कुरातिर म अहिले जान चाहन्नँ। अहिले चुनावै गर्नेतिर चाहिँ हामी सबै लाग्नुपर्छ। यो नै सबभन्दा सहज, सबभन्दा स्वाभाविक निकास हो।

बन्जाडे: केही शक्तिहरू अझै पनि असन्तुष्ट हुनुहुन्छ। आन्दोलनको धम्की दिइरहनुभएको छ या तयारी गरिरहनुभएको छ। उहाँहरूलाई के भन्नुहुन्छ?

दहाल: तपाईं बुझ्नुहुन्छ यति भनेपछि। अब होइन, बुझिराख्या छु, बुझिहालें। भने त्यस्तो केही हुन्छ जस्तो लाग्दैन मलाई। त्यो त्यो खाली दुस्साहस मात्रै हुन्छ। अब चाहिँ देशले चुनावतिर जाने भनेर जेन्जी युवाहरूको पनि माग अनुसारको सरकार बनिसक्यो। अब चुनावबाट देशलाई निकास दिनुपर्छ, फेरि तोडफोड फेरि गर्नेतिर जनताले, युवाहरूले अब साथ दिन्छन् भन्ने मलाई लाग्दैन।

बन्जाडे: हस्, महत्त्वपूर्ण समयको लागि धेरै-धेरै धन्यवाद छ। आभारी छु तपाईंसँग।

दहाल: धन्यवाद, धन्यवाद।