गगन थापाको कपन चुनावी भाषण, दोस्रो संविधानसभा
म प्रारम्भमा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूलाई सम्झिन चाहन्छु। आदरणीय साथीहरू, म क्षमा माग्न चाहन्छु, आज हामीले कार्यक्रम केही ढिलो सुरु गर्यौं। त्यसमाथि म अझ केही ढिलो आइपुगें। मैले आयोजक साथीहरूलाई केही अगाडिदेखि नै बोल्ने क्रम सुरु गर्न भनेर भनेको थिएँ। हाम्रो बीचमा केही मिसकम्युनिकेसन पनि भयो। त्यो कारणले गर्दाखेरि जाडोमा तपाईंहरू बस्नु परेको छ। म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईंहरूलाई अनुरोध पनि गर्न चाहन्छु।
यो जाडो केही बेर तपाईंहरूले अझै आधा घण्टा, पैँतालिस मिनेट तपाईंहरू आज खप्न तयार रहनुपर्छ। पर हेर्नुभयो भने हाम्रो म्यादी प्रहरी साथीहरूले त ज्याकेट समेत पनि पाउनुभएको छैन। तपाईंहरू सबैलाई मैले अनुरोध गरेको छु, म्यादी प्रहरी साथीहरूले पनि मंसिर ४ गतेसम्म मात्र जाडो खप्नुपर्ने हो। किनकि उहाँहरू त्यति दिनका लागि मात्रै, उहाँहरू हाम्रो सेवाका लागि आउनुभएको छ। तपाईंहरूलाई पनि मेरो अनुरोध छ। मैले सबैलाई पटक-पटक अनुरोध गरेको छु, जाडो भयो नभन्नुहोला, थाकेँ नभन्नुहोला, गलेँ नभन्नुहोला। थाक्ने काम, जाडो खप्नुपर्ने काम तपाईंले गर्ने काम पनि मंसिर ४ गतेसम्म मात्रै हो। ४ गते पछि चार वर्ष जाडो खप्न म तयार छु, चार वर्ष म हिँड्न तयार छु। ४ गतेसम्मका निम्ति यति कष्ट उठाइदिन म तपाईंहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
मलाई थाहा छ, जति पनि साथीहरू यहाँ आउनुभएको छ, तपाईंहरू थुप्रै प्रश्नहरू बोकेर आउनुभएको छ। जति साथीहरू यहाँ आउनुभएको छ, तपाईंहरू थुप्रै आशंकाहरू समेत बोकेर आउनुभएको छ। थुप्रै आग्रहहरू बोकेर आउनुभएको छ, थुप्रै गुनासोहरू बोकेर आउनुभएको छ। ती सबै कुराको उत्तर मसँग नहुन सक्दछ। तर म तपाईंहरूको प्रश्न बुझ्न सक्दछु किनकि म तपाईंहरू मध्येकै एउटा हुँ। म यो स्टेजमा बसेकोले तपाईं भन्दा फरक होइन। म तपाईंहरू बीचकै एउटा हुँ। तपाईंका जे प्रश्नहरू छन्, मेरा पनि ती प्रश्नहरू नै हुन्। तपाईंका जे चिन्ता र चासो छन्, मेरा पनि तीनै चिन्ता र चासो हुन्। त्यसैले तपाईंको प्रश्न, चिन्ता र चासोलाई म बुझ्न सक्दछु वा कम्तिमा बुझ्ने कोसिस गर्दछु। त्यही ठाउँबाट मेरो आफ्नो भनाइहरू प्रारम्भ गर्न चाहन्छु।
म एउटा कुरा पटक-पटक मैले दोहोर्याइरहेको छु, फेरि आज पनि त्यो कुरा दोहोर्याउन आवश्यक छ। म यहाँ आउनुभन्दा पहिला भक्तपुर र ललितपुरको दुइटा आमसभामा सहभागी भएर आएको। जहाँ गए पनि साथीहरूले एउटै कुरा सोध्नुहुन्छ, तिम्रो चार नम्बर क्षेत्रमा के हुन्छ भनेर सोध्नुहुन्छ। मैले सधैं एउटै कुरा भन्दै आएको छु, चार नम्बर क्षेत्रमा के हुन्छ मलाई थाहा छैन। साथीहरूले त बडो आत्मविश्वासको साथ भन्नुभयो, हामी जित्दैछौं, हजारौं भोट ल्याउँदैछौं। म भन्दिनँ। हामी जित्न पनि सक्छौं, हामी हार्न पनि सक्छौं। जिताउने कि हराउने, जनताको हातमा छ। जनार्दन जनताले जे भन्नुहुन्छ, त्यसलाई स्वीकार गर्न म तयार छु। ४ गते निर्वाचन हुन्छ, ६ गते परिणाम आउँछ। ६ गते मात्र थाहा हुन्छ। तर मैले सबैलाई भनेको छु, तर नेपाली कांग्रेसको काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ को प्रत्येक साथीले भन्न सक्छ, निर्वाचनको परिणाम कुर्नलाई ६ गते आउनुपर्छ, तर राजनीति जित्यौं कि हार्यौं भन्नका लागि ६ गते आउनु पर्दैन, हामीले हाम्रो क्षेत्रमा राजनीति आजै जितिसक्यौं। यसको पछाडि कारण छ।
२०५२ सालमा माओवादी साथीहरूले युद्ध प्रारम्भ गर्दै गर्दा भन्नुभयो, यसरी सभा र सम्मेलन गरेर, दुई हात जोडेर मत माग्ने राजनीतिले काम लाग्दैन। यो बाटोबाट कोही कतै पुग्दैन, समाज परिवर्तन हुँदैन। राज्यसत्ता र राज्यसत्ता शक्ति भनेको केवल बन्दुकको नालबाट मात्रै प्राप्त हुन्छ, र त्यही बन्दुकको नालबाट प्राप्त भएको शक्तिबाट समाज परिवर्तन हुन्छ भनेर भन्नुभयो। युद्धको उद्घोष गर्नुभयो, रोल्पा र रुकुमका कन्दराहरूबाट बन्दुक बोकेर, बन्दुक पड्काउनुभयो र युद्धको शंखनाद गरेर नेपालमा दश वर्ष लामो एउटा युद्धको श्रृंखला प्रारम्भ गर्नुभयो। आज २०७० साल, ७० सालमा कांग्रेसको म एउटा युवक, तपाईंहरूको बीचमा कपनमा उभिएर मत माग्न छाडेर, रोल्पा र रुकुममा उहाँहरूले बिसाएको बन्दुक बोकेर, त्यही ठाउँमा बन्दुक पड्काएर शक्ति यहीँबाट प्राप्त हुन्छ, यहीँबाट परिवर्तन हुन्छ भनेर भन्दै गरेको भए, मेरो राजनीति हारेको हुन्थ्यो, मित्रहरूको राजनीति जितेको हुन्थ्यो। तर त्यो भइरहेको छैन। त्यो भइरहेको छैन। बरु ठीक उल्टो भइरहेको छ। ती खिया लागेका बन्दुकहरू बिसाएर साथीहरू आज हामीले बनाएको ह्यान्डबल कोर्टमा आएर उभिएर, बाआमा, दाजुभाइ, दिदीबहिनीहरू मलाई मत दिनुस् भनेर दुई हात जोडेर मत माग्दै हुनुहुन्छ। राजनीति कसको राजनीति जित्यो? हामी जित्यौं। हाम्रो राजनीति जित्यो। बाटो यो ठीक छ भन्ने प्रमाणित भयो। शान्तिपूर्ण राजनीति ठीक छ भन्ने कुरा प्रमाणित भयो। हिंसा गलत छ भन्ने कुरा प्रमाणित भयो, र साथीहरूले स्वीकार गर्नुभयो। फरक यति मात्रै हो, दुःखको कुरा यति मात्रै हो, यो थाहा पाउनका लागि १० वर्ष लाग्यो, अनि १७ हजार नेपालीहरूले जीवन गुमाउनुपर्यो यो एउटा सत्य थाहा पाउनको लागि। दुःख यति कुरामा मात्रै लागेको छ। तर हाम्रो अगाडि आएको विषय भनेको यही हो। राजनीति जित्ने शक्तिले निर्वाचन हार्दै गर्दा नेपालले निकास पाएन। संविधानसभाको पहिलो निर्वाचन भयो, नेपालले संविधान प्राप्त गर्न सकेन।
हामी दोस्रो संविधानसभाको निर्वाचनमा छौं। तपाईंहरू सबैलाई राम्ररी जानकारी छ, नेपालमा दोहोर्याएर संविधानसभाको निर्वाचन हुँदैछ। तर संसारमा कहीँ पनि दोहोर्याएर संविधानसभाको निर्वाचन भएर संविधान बनेको छैन अहिलेसम्म। नेपालमा बन्यो भने यो नेपाल पहिलो देश हुन्छ। अर्थात्, हामी यति धेरै चुनौतीको पहाडमा उभिएका छौं, सजिलो छैन हामीले रोजेको बाटो। निर्वाचन हुन्छ, संविधानसभा बन्छ। तर बनेको संविधानसभाले संविधान लेख्न सकेन भने गर्ने के हो? ४७ सालको संविधान व्युँतिदैन, अन्तरिम संविधानको आधारमा अनन्तकालसम्म नेपाल चल्न सक्दैन। अनि संविधानसभाको वैधानिकतामाथि प्रश्न उठिसके पछाडि नेपालको यो शान्तिपूर्ण राजनीतिको जुन बाटो हामीले अगाडि बढायौं, गन्तव्यमा पुग्नुभन्दा पहिल्यै यो यात्रा हाम्रो टुंगिन्छ, नयाँ यात्रा प्रारम्भ हुन्छ, तर त्यो नयाँ यात्रा भनेको कुनै तानाशाही, कुनै न कुनै स्वरूपको तानाशाहीले हामीलाई जुन यात्रामा हिँडाउँछ, त्यो यात्रामा हिँड्न हामी बाध्य हुन्छौं। तानाशाहीका विरुद्धमा नेपाल फेरि उठ्छ, लड्छ, जुध्छ। फेरि नेपालमा लोकतन्त्र फर्कन्छ। तर गुमाउँछ कसले? नेपालले अर्को १० वर्ष गुमाउँछ। अर्को एउटा पुस्ता फेरि केका निम्ति लड्नुपर्छ? अर्को एउटा पुस्ता फेरि संघर्ष गर्नुपर्छ लोकतान्त्रिक अधिकारका निम्ति।
२०४६ सालमा नौ कक्षामा पढ्दै थिएँ म। जतिखेर सिद्धार्थ वनस्थली विद्यालयमा पञ्चायतका विरुद्धमा भएको आन्दोलनमा सहभागी बनें। ४६ सालको आन्दोलनमा सहभागी हुँदै गर्दा हामीलाई लागेको थियो, हामी हामी नै अन्तिम पुस्ता हौं जसले नेपालमा प्रजातन्त्रका निम्ति संघर्ष गर्दैछ। ६२/६३ को आन्दोलनमा एउटा युवक भएर आन्दोलनमा सहभागी हुँदै गर्दा मैले नै ठाउँ-ठाउँको मञ्चबाट भनेको थिएँ, तन्नेरी साथीहरूलाई आह्वान गर्दै सडकमा आउनुस्, यो अन्तिम पटक हुनेछ, अब कसैले नेपालमा लोकतन्त्रको लागि लड्नु पर्ने छैन। हामी लोकतन्त्रलाई संस्थागत गर्नेछौं, नयाँ यात्रा प्रारम्भ गर्नेछौं भनेर भनेको अहिले पनि सम्झन्छु। तर ७० सालमा भएको संविधानसभाको निर्वाचनले संविधान बनाउन सकेन भने हामी फेरि बाध्य भएर त्यही चक्रव्यूहमा फस्छौं। नेपालले अब त्यो चोट व्यहोर्न सक्दैन। नेपाल अब त्यो चक्रव्यूहमा फेरि फस्यो भने नेपाल त्यसबाट उत्रन सक्दैन। त्यसैले म तपाईंहरूसँग आग्रह गर्न चाहन्छु, संविधानसभालाई सफल बनाउनेभन्दा हामीसँग अर्को कुनै पनि विकल्प छैन। तर संविधानसभालाई सफल बनाउने कुरा केवल याचना गरेर मात्र हुँदैन, केवल हुनुपर्छ भनेर मात्र हुँदैन। यसका निम्ति हामीले केही न केही सकारात्मक प्रयत्न भने गर्नैपर्ने हुन्छ।
संविधानसभा किन असफल भयो? त्यसको विवेचना नगरिकन संविधानसभा नयाँ सफल कसरी बनाउन सकिन्छ, त्यो तर्क र त्यो बाटो भेट्न सकिन्न। हामीले एकपटक छलफल गर्नैपर्ने हुन्छ। योभन्दा अघिल्लो संविधानसभामा केवल ३७ सिटमा मात्रै नेपाली कांग्रेस निर्वाचित भएर आयो। माओवादी साथीहरूले प्रचण्ड बहुमत प्राप्त गर्नुभयो। प्रचण्ड बहुमत प्राप्त गर्नुभएको माओवादी साथीहरूले संविधानसभालाई कुशल नेतृत्व प्रदान गर्न सक्नुभएको भए आज माओवादीको नेतृत्वमा नेपालको संविधानसभाले संविधान बनाएको हुन्थ्यो। तर त्यो संविधानसभालाई नेतृत्व प्रदान गर्न नसक्दाखेरि आज हामी संविधान बनाउन नसकेर दोस्रो पटकको संविधानसभाको निर्वाचनमा आउन बाध्य भएका छौं। म संविधानसभाभित्र भएका छलफलहरूलाई स्मरण गर्न चाहन्छु। भर्खरै मात्र चिरञ्जीवी दाइले भन्नुभयो, संविधानसभाभित्र नेपाली कांग्रेसले चाहेर संविधान बनाउन सक्दैनथ्यो। हाम्रो संख्या थिएन, संख्याको तागत थिएन। माओवादी साथीहरूले भन्नुभएको संविधान हामीलाई स्वीकार्य थिएन। कपनका साथीहरूलाई तपाईंहरूको बीचमा उभिएर मैले फेरि भन्नुपर्ने हुन्छ, संविधान हाम्रा निम्ति एउटा आधार हो, एउटा जग हो, त्यो जगमा टेकेर हामी समृद्ध नेपाल निर्माण गर्न चाहिरहेका छौं। त्यो संविधानले हाम्रो प्रगतिलाई रोक्नु हुँदैन। हाम्रो सभ्यता विरोधी, हाम्रो संस्कृति विरोधी, हाम्रो नेपालको आधुनिक बन्न चाहने हाम्रो चाहना विरोधी, हाम्रो लोकतान्त्रिक अधिकार विरोधी संविधान हामीलाई स्वीकार्य हुन सक्दैन।
योभन्दा अघिल्लो संविधानसभामा माओवादीका साथीहरूले प्रस्ताव लिएर आउनुभयो र भन्नुभयो, हामी यस्तो राजनीतिक प्रणाली स्थापना गरौं, जुन राजनीतिक प्रणाली स्थापना गर्दै गर्दा नेपालमा राजनीतिक दलहरू खोल्न पाइन्छ, तर ती दलहरू मात्रै खोल्न पाइन्छ, जसले मार्क्सवाद, लेनिनवाद र माओवाद मान्छ। माओवादी साथीहरूले प्रस्ताव लिएर आएर भन्नुभयो, हामी यस्तो व्यवस्था कायम गरौं, जसमा कुनै पनि नेपालीले आफूले कमाएको सम्पत्ति, आफूले भोगचलन गर्न पाउने होइन, सरकारले चाहेको बेलामा व्यक्तिको सम्पत्ति खोसेर लिएर जान पाइन्छ भन्ने प्रस्ताव लिएर आउनुभयो र त्यो प्रस्तावलाई जनवादी संविधान भनेर भन्नुभयो, जुन जनवादी संविधान नेपाली कांग्रेसले स्वीकार गर्न सकेन।
माओवादी साथीहरूले प्रस्ताव लिएर आएर भन्नुभयो, नेपालको कुनै एउटा जाति तामाङ, उदाहरणको लागि भन्छु, एउटा तामाङ काठमाडौंमा पनि बस्छ, तामाङ ललितपुरमा पनि बस्छ, तामाङ भक्तपुरमा पनि बस्छ। तामाङ काभ्रे, सिन्धुपाल्चोकको मात्र होइन, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खोज्दै गयो भने हाम्रा तामाङ साथीहरू नेपालभरि छरिएर बस्नुभएको छ। तर माओवादी साथीले प्रस्ताव लिएर आएर भन्नुभयो, एउटा तामाङ काठमाडौंमा बस्यो भने, आज त्यो तामाङ साथी काठमाडौंमा बस्दै गर्दा काठमाडौंको मुख्यमन्त्री बन्न पाउँदैन, तामाङ मुख्यमन्त्री बन्नका लागि माओवादी साथीहरूले तोकेको चौघेराभित्र बस्न जानुपर्छ। आज मगर साथी यो ठाउँमा निर्वाचन लड्न आउनुभएको छ, तर माओवादीको साथीले संविधानमा प्रस्ताव लिएर आएर भन्नुभयो, त्यही मगर मुख्यमन्त्री हुनका लागि रोल्पै जानुपर्छ, रुकुम जानुपर्छ, प्युठान जानुपर्छ। त्योभन्दा बाहिर एउटा मगर मुख्यमन्त्री बन्न पाउँदैन। तर नेपालको राष्ट्रपति बने को मात्र बन्न पाउँछ भने दाहाल बन्न पाउँछ, भट्टराई बन्न पाउँछ, पोखरेल बन्न पाउँछ, गजुरेल बन्न पाउँछ भन्ने प्रस्ताव लिएर आउँदै गर्दा, यो प्रस्ताव नेपालको जनजातिको पक्षमा थियो? के यो प्रस्ताव जनवादी संविधान थियो? थिएन। त्यसैले कांग्रेसले प्रस्तावलाई स्वीकार गरेन।
माओवादी साथीहरूले भन्नुभयो, हामी गरिबहरूको पार्टी हो। त्यसैले गरिबका निम्ति हामी संविधान लेख्न चाहन्छौं। कांग्रेसका साथीहरू अलमलिनुभयो र भन्नुभयो, होइन हामी पनि गरिबको पार्टी हौं। मैले संविधानसभाभित्र भएका कांग्रेसका साथीलाई भने, होइन, कांग्रेस गरिबको पार्टी होइन। हामी यो भ्रममा पर्नु हुँदैन, माओवादी साथीहरूले भनेको ठीक हो, माओवादी साथीहरू नै गरिबको पार्टी। तर गरिबको पार्टीको एउटा दुःख छ, संसारभरिको गरिबको पार्टीको एउटै दुःख हुन्छ, गरिबको पार्टीको दुःख भनेको, गरिबको पार्टीलाई पनि बलियो हुन मन लाग्छ, धनीको पार्टीलाई पनि बलियो हुन मन लाग्छ। गरिबको पार्टी कतिखेर मात्रै बलियो हुन्छ? नेपालमा गरिबहरूको संख्या घट्यो भने गरिबको पार्टी कमजोर हुन्छ। त्यसैले गरिबको पार्टीको दिनरातको एउटै मेहनत हुनुपर्छ, कसरी गरिबको संख्या बढाउने भन्ने मेहनत हुनुपर्छ। त्यसैले माओवादी साथीहरूले भन्नुभयो, हामी घर नहुनेहरूको पार्टी हो, हामी गरिबको पार्टी हो। हामीले भन्यौं, हामी गरिबको पार्टी होइन, हामी घर नहुनेहरूको पार्टी होइन, हामी घर हुनेहरूको पार्टी हो। त्यसैले घर नहुनेको पार्टीले संविधानमा प्रस्ताव लिएर आयो, नेपालमा कुनै पनि घर भएको मान्छेको घर सरकारले चाहेको बेलामा खोस्न सक्छ, अनि घर नहुनेलाई घर दिनु पर्दैन। अनि घर हुनेहरूको पार्टी कांग्रेसले प्रस्ताव लिएर आयो, जसको घर छ राख, तर जोसँग घर छैन संविधानमा लेख, घर नभएको एउटा पनि नेपाली हुनुहुँदैन, प्रत्येक नेपालीलाई बस्नका निम्ति एउटा घर दिनुपर्छ भनेर संविधानमा लेख। घर नहुनेहरूको पार्टी भन्छ, घर हुनेको घर जोगाउ, घर नहुनेलाई घर देउ। बेरोजगारहरूको पार्टी होइन कांग्रेस, त्यसैले कांग्रेसले संविधानसभामा गएर प्रस्ताव लिएर गएर भन्यो, प्रत्येक नेपाली जोसँग युवकसँग रोजगारी छैन, रोजगारी नभएको युवकलाई स्वरोजगारको अवसर देउ, स्वरोजगार पनि प्राप्त गर्न नसक्ने युवकलाई बेरोजगारी भत्ताको संवैधानिक व्यवस्था गर भनेर भन्यो। किनकि कांग्रेस बेरोजगारहरूको पार्टी थिएन। बेरोजगारको पार्टी माओवादीले भन्यो, होइन हामी बेरोजगारको पार्टी हौं। त्यसैले १८ वर्ष पुगेका प्रत्येक नेपालीलाई दुई वर्ष अनिवार्य सैनिक तालिम दिनुपर्छ, सैनिक तालिम दिइसके पछाडि त्यो सैनिक तालिम पाएका व्यक्तिले रोजगारी पाए पाउँछ, नपाए पाउँदैन भनेर भन्दै गर्दा, त्यो प्रस्ताव नेपाली कांग्रेसलाई स्वीकार्य हुन सक्दैनथ्यो। त्यो जनवादी संविधान नेपाली कांग्रेसले स्वीकार गरेन।
आदरणीय साथीहरू, तर नेपाली कांग्रेसले प्रस्तावित गरेको लोकतान्त्रिक संविधान कांग्रेसले चाहेर पनि संविधानसभाभित्रबाट पारित गराउन सक्दैनथ्यो। व्यक्तिको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै अधिकारलाई सुरक्षित गरिएको, कुनै पनि नेपालीले हारेको अनुभूति गर्न नपर्ने गरिकन हामीले प्रस्ताव गरेका धाराहरू संविधानसभाबाट चाहेर पनि पारित गराउन सक्दैनथियौं। किनकि कांग्रेसको तागत संविधानसभाभित्र सानो थियो, कांग्रेस कमजोर थियो। त्यसैले म तपाईंहरूसँग अनुरोध गर्न चाहन्छु, आदरणीय कपनबासी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो विनम्रतापूर्वक आग्रह छ, यो बेलामा तपाईंहरूसँग म एकपटक आफैंले पछाडि फर्केर मात्र होइन, अगाडिको बारेमा सोचिदिन पनि आग्रह गर्न चाहन्छु। हामी संविधान निर्माण गर्ने बारेमा कुराकानी गर्दैछौं। संविधान निर्माण नगरिकन नेपालले निकास पाउँदैन। योभन्दा पहिला तपाईंले कसलाई मत हाल्नुभयो, तपाईंले निर्णय गरेको कुरा हो। योभन्दा पछाडि कसलाई मत हाल्ने, त्यो पनि तपाईंको अधिकार हो, तपाईंको अधिकारलाई म सम्मान गर्छु। तर यो पटक संविधानसभाले संविधान बनाउन सकेन भने तपाईंले रोजेको पार्टीलाई, खोजेको व्यक्तिलाई मत हाल्ने तपाईंको अधिकार जोगिन सक्दैन, बाँच्न सक्दैन। त्यसका निम्ति पनि संविधानसभालाई जोगाउन आवश्यक छ, संविधानसभालाई सफल बनाउन आवश्यक छ।
संविधानसभाभित्र नेपाली कांग्रेसको दम्भ हामीलाई बहुमत दिनुस्, हामी एक्लैले संविधान लेख्छौं भन्ने होइन। संविधान भनेको निबन्ध एउटा कोठामा बसेर लेखेको जस्तो होइन, दलको घोषणापत्र लेखेको जस्तो होइन। संविधानसभा बहिष्कार गर्ने मोहन वैद्यले नेतृत्व गर्नुभएको मोहन वैद्यको त्यो माओवादीलाई समेत पनि संवादमा ल्याउन सक्नुपर्छ। संविधानसभाभित्र भएका दलहरूका बीचमा पनि समझदारी कायम गर्न सक्नुपर्छ। सबैका बीचमा समन्वय गरेर, सबैको चित्त बुझ्ने गरिकन, प्रत्येक नेपालीले जितेको अनुभूति हुने गरिकन हामी संविधान निर्माण गर्न चाहन्छौं। दक्षिण अफ्रिकाको कुनै पनि नागरिकलाई भेट्दै गर्दा सोध्नुभयो भने, तिम्रो दक्षिण अफ्रिकालाई केले बाँधेको छ भनेर सोध्नुभयो भने, त्यो नागरिकले खल्तीबाट संविधान निकाल्छ र भन्छ, मलाई यो संविधानले बाँधेको छ भनेर भन्छ। गोरा होला, काला होला, तर हामी हाम्रो संविधानको जग कसरी बसाल्न खोज्दैछौं? प्रतिशोध लिएर, घृणाका आधारमा संविधान निर्माण गर्ने हो भने, यसले ममाथि हिजो उत्पीडन गर्यो, त्यसैले यसका विरुद्धमा संविधानमा यो लेखिनुपर्छ भनेर केवल प्रतिशोधका आधारमा संविधानमा धाराहरू लेखिने हो भने, त्यो संविधानले नेपाललाई जोड्दैन। हामीलाई जोड्ने संविधान चाहिएको छ, हाम्रो बीचमा बलियो एकता चाहिएको छ। तर त्यो एकता भनेको सद्भावले लिएर आउँछ। अधिकार नभइकन सद्भाव हुँदैन। प्रत्येक नेपालीको अधिकार संविधानमा लेखिनुपर्छ। जुनसुकै भाषा बोल्ने होस्, जुनसुकै जातिको होस्, जुनसुकै धर्म मान्ने होस्, जुनसुकै संस्कृतिको होस्, प्रत्येक नेपालीको अधिकार संविधानमा लेखिँदै गर्दा हामीले एउटा कुरा ख्याल गर्नैपर्छ, एउटा नेपालीको अपमानमा अर्को नेपालीको मान खोज्न सकिँदैन। प्रत्येक नेपालीको सम्मान हुने गरिकन, सबै जित्ने गरिकन संविधान निर्माण गर्न सकियो भने मात्रै त्यो संविधानले काम गर्छ। त्यो संविधान निर्माण गर्नका निम्ति एक वर्षभन्दा कम समयमा नेपाली कांग्रेस तपाईंहरूको बीचमा संकल्प व्यक्त गर्न चाहन्छ, हामी एक वर्षभन्दा कम समयमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिन चाहन्छौं।
प्रश्न यहाँ संविधानको मात्र छैन। संविधान निर्माण गरेर मात्रै सबै कुरा टुंगिँदैन। संविधानका अक्षरहरू आफैंले हामीलाई खाना दिन लाउने दिने पनि होइन। संविधानको अक्षरमा जीवन भर्ने काम भनेको हाम्रो कर्मले हो। मलाई राम्रोसँग थाहा छ, जति पनि साथीहरू यहाँ आउनुभएको छ, तपाईंलाई मेरो संविधानको बारेको गन्थन लामो सुन्नु पनि छैन। किनकि मलाई घरदैलो कार्यक्रम गर्दै गर्दा मैले तपाईंहरूको कुरा नजिकबाट सुन्ने मौका पाएको छु। तपाईंहरूको अरू नै आफ्ना प्राथमिकताहरू छन्। अस्वाभाविक होइन। तपाईं आफ्नो स्थानीय टोल यहाँको विकास निर्माणको बारेमा कुराकानी गरिराख्नुभएको छ। केही राष्ट्रिय मुद्दाहरूको बारेमा चासो, चिन्ता व्यक्त गरिराख्नुभएको छ। ती सबै कुराहरू आफ्नो ठाउँमा जायज छन्। तर त्यो कुरा गर्नका निम्ति पनि वास्तवमा हामीसँग चार वर्षको नयाँ एउटा अवसर आएको छ। यो चार वर्षको अवसर खेर नफालौं भन्ने मेरो प्रस्ताव छ। हामीलाई समयले कुर्दैन। हामी चार वर्षको समय खेर फाल्यौं भने मलाई लाग्छ नेपालीहरूसँग अब त्यो धैर्यता पनि छैन।
त्यसैले यो समयको उपयोग गर्नका निम्ति पनि हामीले कम्तिमा एकपटक आफ्नो अवस्था कहाँनिर छ भन्ने कुरा बुझ्नैपर्छ। मैले पटक-पटक संविधानसभाको भवनभित्र माओवादीका नेताहरूले बोलेको सुनिसके पछाडि, एक दिन प्रचण्डजी समेत भएको बैठकमा मैले उहाँलाई स्मरण गराउनका निम्ति भनेको थिएँ, कमरेड, हामी कहाँनिर उभिएका छौं, यो धरातल नबिर्सौं। आजको दिनमा हाम्रो संविधानसभाको भवन चाइनिजले बनाइदिएको छ। भारतले उपहार दिएको दश वटा बसहरू संविधानसभाका हामी सभासदहरू लाज लागेर भारत लेखेको झण्डा मेटेर सेतो इनामेलले पेन्ट गरेर मेटेर त्यो बस चढेर हामी सिंहदरबारबाट बानेश्वर जान्छौं। संविधानसभाको भवनभित्र ठूल-ठूलो दश वटा टेलिभिजनको सेट छ, त्यो टेलिभिजनको सेट अमेरिकनले किनिदिएको। सभासद बस्ने कुर्सी नर्वेले किनिदिएको, बोल्ने माइक डेनमार्कले किनिदिएको। अनि त्यो संविधानसभाको भवनभित्र बसेर मुठ्ठी कसेर हामीले सबै कुराहरू भन्यौं, हामीले यो गर्छौं, त्यो गर्छौं भनेर भन्यौं। तर आजको दिनको हाम्रो अवस्था के हो? आज मात्रै, यो २३ गते आज दिनभरि हामीले प्रचारप्रसार गर्दा मात्रै तपाईं र मेरो १५०० साथीहरू आज बेलुका साँझसम्ममा, अहिले यहाँ अझै बेलुका दश वटा फ्लाइट जान बाँकी छ, १७०० साथीहरू आज पनि नेपाल छोडेर खाडी जाँदैछन्। आज मात्रै छ वटा लास नेपाल भित्रिएको छ। तपाईंकै भाइ हो, मेरै भाइ हो, तपाईंकै साथी हो, मेरै साथी हो। हाम्रो अवस्था यही नै हो।
हामी प्रत्येक वर्ष भन्छौं नेपाल जलस्रोतको दोस्रो ठूलो धनी देश हो, हाम्रो नानीहरू कक्षाकोठामा पढिरहेका छन्। अहिलेसम्म पहिलो देश म हुँ भन्न कोही पनि आएको छैन। हामी आफूले आफूलाई दोस्रो भनेका भन्यै छौं। हामीले अहिलेसम्म निकालेको जलविद्युत, कुल जलविद्युत भनेको ७१९ मेगावाट निकालेका छौं। हाम्रो क्षमता कति छ? ८३ हजार भनेर भन्छौं। ८३ हजार मेगावाट क्षमता निकाल्न सक्ने देशमा ७१९ मेगावाट निकालेर बसेका छौं। घर जाँदै गर्दा हामी आधाको घरमा अहिले बिजुली बल्दैन। १६ घण्टा, १७ घण्टाको लोडसेडिङ हामीले सामना गर्नुपर्दै गर्दा, हामी भन्न बाध्य भएका छौं, यो सरकारले जति बिजुली काटे पनि २४ घण्टाभन्दा बढी काट्न सक्दैन, त्योभन्दा बढी अँध्यारोमा बस्नु पर्दैन भनेर भन्न हामी बाध्य भएका छौं। सय जना विद्यार्थी कक्षाकोठामा भर्ना गर्दै गर्दा, एक कक्षामा भर्ना गर्दै गर्दा, २६ जना विद्यार्थी मात्रै दश कक्षामा पुर्याउन बाध्य भएका छौं। ५० प्रतिशत विद्यार्थी अहिले पनि एसएलसीमा फेल हुन्छन्। एउटा घरमा जन्मेको बालक हो, बालिका जोसुकै जन्मियोस्, आजको दिनमा संसारभरि निकालिने तथ्यांकले भन्छ, संसारमा सबैभन्दा बढी कुपोषण भएको देश पाँचवटा देशमा लगातार नेपाल परेको परै छ।
विज्ञानले भन्छ, एउटा कुनै पनि, कुनै पनि व्यक्तिको क्षमता, १८ वर्ष, १९ वर्ष, २० वर्षको एउटा युवकले कति काम गर्न सक्छ शारीरिक रूपले, मानसिक रूपले कति काम गर्न सक्छ भनेर हेर्ने हो भने, उसको बाल्य अवस्था कसरी बित्यो? आमाको गर्भमा रहँदै गर्दा उसले कस्तो पोषण पायो, र जन्मिसके पछाडि १८ महिनासम्म उसले कस्तो पोषण पायो, त्यसको आधारमा एउटा १८ वर्षको युवक वा युवतीको क्षमता देखिन्छ भनेर विज्ञानले भन्छ। अनि तथ्यांकले के भन्छ? नेपाल त्यस्तो देश हो, जसको ५० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणले ग्रस्त छ भनेर भन्छ। यसको अर्थ २०९० सालको कल्पना गरौं, २०९० सालमा आजको हाम्रो बालबालिकाको अवस्थाको कारणले गर्दा, २०९० सालको नेपालमा आधाभन्दा बढी तन्नेरीहरू जसको आफ्नो बाल्यकालको इतिहास कुपोषणको इतिहास भएको हुन्छ, हाम्रा आधा तन्नेरीहरू आधाभन्दा मात्र आधा मात्रै काम गर्न मानसिक र शारीरिक हिसाबले काम गर्न सक्ने अवस्थामा हुन्छन्। त्यो तथ्य सुनेर बाँच्न हामी बाध्य भएका छौं। यस्तो तथ्य र तथ्यांकहरूको बीचबाट नेपाललाई बाहिर निकाल्ने कि ननिकाल्ने? यो तथ्य र तथ्यांकको बीचबाट नेपाललाई बाहिर निकाल्न सकिन्छ।७ हजार जम्मा शिक्षकको कोटा खुल्दै गर्दा ६ लाख नेपाली साथीहरूले आवेदन दिनुभएको छ। ३२ जना जम्मा दूरसञ्चारमा माग्दै गर्दा अस्ति १२ हजारले आवेदन दिनुभयो। जम्मा १५० जना सेनामा माग्दै गर्दा ६५ सय युवकहरूले आवेदन दिनुभएको छ। प्रत्येक वर्ष ४ लाख २० हजार नेपाली युवकहरूलाई काम चाहिन्छ, तर नेपालमा जम्मा ३० हजार काम मात्रै सिर्जना हुन्छ। ३ लाख ९० हजार तन्नेरीहरूले काम पाउँदैनन्। ३ लाख ९० हजार तन्नेरीले काम नपाएको अवस्था छ।
अनि हामी बाध्य छौं, सहरका हामी युवाहरू, अब केही वर्ष पछि विश्वकप फुटबल हुन्छ। कतारमा फुटबलको गेम म्याच हुँदैछ। फुटबलको खेल कतारमा हुँदै गर्दा हामी युवकहरू फुटबल हेर्छौं, अनि फुटबल हेरेर कोही ब्राजिलको समर्थन गरौंला, कोही अर्जेन्टिनाको, कोही बेलायतको, कोही फ्रान्सको, कोही जर्मनीको समर्थन गरौंला। तर त्यो समर्थन गर्दै गर्दा एउटा कुरा नबिर्सौं, कतारले विश्वकप फुटबलको आयोजना गर्दै गर्दा, जतिखेर कतारले विश्वकप फुटबलको आयोजना गर्न पाउँ भनेर आवेदन दियो, त्यो आवेदन दिँदै गर्दा कतारसँग प्रतिस्पर्धा गर्ने देश संयुक्त राज्य अमेरिका थियो। अमेरिकाले भन्यो, कतारले विश्वकप फुटबल गर्न सक्दैन। किन गर्न सक्दैन? कतारमा विश्वकप फुटबल गर्ने बेलामा ५० डिग्री सेन्टिग्रेडभन्दा बढी तापक्रम हुन्छ, फुटबल खेलाउन सक्दैन। कतारले भन्यो, होइन म खेलाउन सक्छु, म वातानुकूलित, एयर कन्डिसन्ड रंगशाला बनाउँछु। त्यो पनि पाँच वर्षभित्रमा बनाउँछु। अनि फेरि सोधियो, कसरी बनाउँछस्? तेरो देशको जनसंख्या त ३ लाख मात्रै छ। कतारको खेलमन्त्रीले हाँस्दै भन्यो, नेपालबाट कामदार ल्याएर बनाउँछु भन्यो। अहिले ५ लाख नेपाली तन्नेरीहरू कतारमा काम गर्दैछन्। र त्यो हाम्रो तन्नेरीले काम गरेको रंगशालामा खेलिएको फुटबलमा हामी झण्डा उचालेर अर्जेन्टिना जिन्दावाद, ब्राजिल जिन्दावाद भनेर हेर्न बाध्य भएका छौं। यो अवस्था फेर्ने कि नफेर्ने? यो अवस्था फेर्न सकिन्छ। हामीले फेर्न सक्छौं। म कतार गएर आएँ, दुबई गएर आएँ, मलेसिया गएर आएँ। नेपालीहरू काम गरेको ठाउँमा तिनीहरूसँग बसेर आएँ। १८ घण्टा परिश्रम गर्छ एउटा नेपाली। १८ घण्टा। १८ हजार, २० हजारको लागि। त्यो परिश्रमलाई नेपाली माटोसँग जोड्न मात्र खोजौं।
यही काठमाडौं भित्र हजारौं मैले चिनेका त्यस्ता तन्नेरीहरू छन्, जसलाई अलिकति मात्र मौका दिने हो भने कतार र खाडी गएका त्यस्ता युवकहरूलाई यहीँ रोजगारी सिर्जना गर्न सक्ने युवकहरू पनि यहीँ छन्। काम गर्ने परिश्रमी युवकहरू पनि यहीँ छन्। हामीलाई मार्गदर्शन गर्ने अग्रजहरू पनि यहीँभित्र हुनुहुन्छ। खेती किसानी गरेर वर्षौंदेखि बिताएका यही कपनका पुराना बासिन्दाहरू, ठाउँ-ठाउँबाट बसाइ सरेर आउनुभएका हाम्रा अग्रज दाजुभाइ दिदीबहिनीहरूले संघर्ष गर्न जान्नुभएको छ। हामीलाई मार्गदर्शन गर्ने अग्रजहरू पनि यहीँ हुनुहुन्छ। तर यो सबै कुरालाई हामीहरू जोड्न सकिरहेका छैनौं। यसलाई जोड्ने राजनीति भेट्न सकिरहेका छैनौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्न चाहन्छु आदरणीय मेरा साथीहरू, आदरणीय मेरा अग्रजहरू, नेपालको राजनीतिले अब परिणाम खोज्ने बेला आएको छ। नेपालको राजनीतिले एउटा, एउटा निश्चित उद्देश्य राखेर, एउटा निश्चित लक्ष्य बोकेर दश वर्षभित्रमा, १५ वर्षभित्रमा नेपाललाई यहाँ पुर्याउनुपर्छ भनेर भन्ने बेला आएको छ।
मेरो धेरै ठूलो कुरा छैन। मैले मेरो अपिलमा पनि लेखेको छु, केही कुरा दोहोर्याउन चाहन्छु। म तपाईंहरू जस्तै एउटा सामान्य मानिस हुँ। मेरो घर यहीँ पर रातोपुल, ज्ञानेश्वरमा छ। मेरो बा र आमा सोलुखुम्बुबाट बसाइ सराइ गरेर काठमाडौं आउनुभएको हो। म यहीँ काठमाडौंमा जन्मेको। मेरो बाको कारणले गर्दा, तीन कक्षाभन्दा कम पढ्न पाउनुभएको मेरो आमाको, मेरो बच्चालाई पढाउनुपर्छ भन्ने आमाको मायाको कारणले गर्दा, मेहनतको कारणले गर्दा मैले पढ्ने मौका पाएँ। मैले केही कुराहरू सिक्ने मौका पाएँ। तर म कहिलेकाहीँ अहिले पछाडि फर्केर हेर्छु, अनि अगाडिको बारेमा सोध्छु। मेरो दुई वर्षको छोरी छ। मेरो आमा, मेरो आमाले पढ्न पाउनुभएन। तर मेरो बाले सोलुखुम्बुमा २०२८ सालतिर एसएलसी दिँदै गर्दा, मेरो बालाई जतिखेर नेपालको बारेमा लेख्न भनेर सोधियो, मेरो बाले जे कुरा लेखेर नेपालको बारेमा निबन्ध लेखेर पास हुनुभयो, नेपालको बारेमा लेख्न सोध्दै गर्दा बाले लेख्नुभयो, नेपाल भनेको गरिबहरूको देश हो, हामी भूपरिवेष्ठित देश नेपाल, त्यो कहिल्यै फेरिँदैन। तर नेपाल गरिबहरूको देश हो, हामी अहिले पनि अविकसित अवस्थामा छौं, संसारकै गरिबहरू मध्ये हामी पर्छौं भनेर लेख्नुभयो। २०२८ सालमा एसएलसी दिनुभएको बुवा, २०४८ सालमा मैले एसएलसी दिएको। २० वर्ष पछि त्यही प्रश्न सोधियो, मैले पनि त्यही उत्तर लेखें, बाले भन्दा बढी नम्बर ल्याएर पास गरें। मेरो छोरी दुई वर्षको छ अहिले, दुई अढाई वर्षको मेरो छोरीले १५ वर्ष पछि एसएलसी दिन्छ। १५ वर्ष पछि एसएलसी दिँदै गर्दा मलाई अरू केही पनि छैन, मलाई केही एउटा डर छ। मेरो छोरीले एसएलसी दिँदै गर्दा तेरो परिवारको बारेमा लेख भनेर भन्यो भने मेरो परिवारको बारेमा के लेख्ने भन्ने कुरा मेरो कर्म, मेरो कर्मले तय गर्ला। मेरो मेहनतले तय गर्ला। मेरो परिवारको बारेमा राम्रो लेख्न पाउने अवस्था पनि बन्ला, राम्रो लेख्न नपाउने अवस्था पनि बन्ला। तर नेपालको बारेमा लेख भनेर लेख्न सोधिएको प्रश्नमा एउटा परिवार मात्र बनेर हुँदैन, एउटा घर मात्र बनेर हुँदैन। मेरो बुवाले जे लेख्नुभयो, मैले जे लेखें, मेरो छोरीले पनि त्यही लेख्दै गर्दा मेरो छोरी फेल हुने वातावरण बनाउने कि नबनाउने? नेपालको बारेमा सोध्दै गर्दा म धेरै, धेरै महत्त्वाकांक्षी कुरा पनि गरिरहेको छैन, धेरै असम्भव कुरा पनि गरिरहेको छैन, हुन नसक्ने कुरा पनि गरिरहेको छैन, र म धेरै परको कुरा पनि गरिरहेको छैन। म जम्मा २०८५ सालको कुरा गरिरहेको छु। विक्रम संवत् २०८५, प्रत्येक नेपालीले आफ्नो उमेरमा जोडौं १५ वर्ष। १५ वर्ष पछिको नेपाल, यस्तै नेपालमा बस्ने? यस्तै अँध्यारोमा बस्ने? एउटा सांसद घरमा आउँदै गर्दा पानी माग्नुपर्ने, बिजुली माग्नुपर्ने, घर अगाडिको बाटो छाप्देउ भनेर माग्नुपर्ने, यस्तै अवस्थामा बसिराख्ने? कि १५ वर्ष पछिको नेपालमा बस्दै गर्दा गर्वका साथ नेपाली हुँ भनेर भन्ने अवस्थामा बस्ने?
मलाई क्षमा गर्नुहोला, तर एउटा उदाहरण मैले ठाउँ-ठाउँमा दिने गरेको छु। नेपालभरि घुम्दै गर्दा एउटा कुरा पाउँछु। हामी धेरैले अहिले पनि भरेका छौं, हामी डीभी चिठ्ठा भर्ने गर्छौं। डीभी चिठ्ठा भर्नु राम्रो-नराम्रो यसका बारेमा मेरो केही पनि टिप्पणी छैन। तर कुनै पनि नेपालीलाई संयुक्त राज्य अमेरिकाको नागरिकता प्राप्त गर्ने गरिकन डाइभर्सिटी भिसा त्यो भर्दै गर्दा, त्यो प्राप्त भयो भने सबैभन्दा बढी खुसी को हुन्छ? सबैभन्दा बढी खुसी हाम्रो आमा हुनुहुन्छ। आमाले तत्काल टेलिफोन गर्नुहुन्छ, मामालाई गर्नुहुन्छ, फुपूलाई गर्नुहुन्छ, काकालाई गर्नुहुन्छ र भन्नुहुन्छ, बडो यति खुसी भएर भन्नुहुन्छ मेरो छोरोले त डीभी पायो नि, छोरोलाई त पर्यो अब, छोरो त अमेरिका जाने भो भनेर भन्नुहुन्छ। छोरो पनि च्वास्स उही गर्दै खुसी हुँदै गाउँभरि घुम्छ र भन्छ, मलाई डीभी पर्यो, डीभी पर्यो भनेर भन्छ। त्यसको अर्थ के हो? त्यसको सार के हो? त्यसको अर्थ एउटा नेपाली तन्नेरी खुसी हुँदैछ। किन खुसी हुँदैछ? तन्नेरीको आमा खुसी हुँदै हुनुहुन्छ, किन खुसी हुँदै हुनुहुन्छ? मेरो छोरोले नेपाल छोड्ने भयो, मैले नेपालको नागरिकता छोड्ने भएँ। एउटा नेपाली यसरी खुसी हुने बेला आएको छ। हाम्रा निम्ति योभन्दा ठूलो लज्जाको विषय के हुन्छ? म त्यो भिसा भरेर जाने कुनै पनि नेपालीको निर्णयलाई, त्यो निर्णय उहाँको आफ्नो व्यक्तिगत निर्णय हो। मेरो टिप्पणी त्योप्रति होइन। वास्तवमा त्यो व्यक्ति जानु परेको आफ्नो कारणले पनि होइन। म सिंगो नेपाली समाजको बारेमा बताउँदैछु। म सिंगो हाम्रो अवस्थाको बारेमा चित्रण गर्न कोसिस गर्दैछु।
त्यसैले आदरणीय साथीहरू, आदरणीय अग्रजहरू, हामी सबैको प्रयत्नबाट यो फेर्न सकिन्छ भन्ने हो। त्यसैले म तपाईंहरूसँग आग्रह गर्न चाहन्छु। संविधानसभामा जान खोजेको, केवल संविधानसभाभित्र उभिनका लागि होइन। गएको संविधानसभाभित्र पनि म गर्वका साथ तपाईंहरूको बीचमा भन्न चाहन्छु, संविधानसभाले संविधान बनाउन सकेन, त्यसको जिम्मेवारीबाट म भाग्दिनँ। त्यसको दण्ड मैले व्यहोर्नुपर्ने दण्ड व्यहोर्न म तयार छु, म त्यसको सदस्य भएर। तर संविधानसभाभित्र अहिले पनि साथीहरूले भन्न पाउनुभएको, यतिवटा काम भयो, उतिवटा काम भयो भनेर भनेको कुनै जादु भएको होइन, कुनै चमत्कार भएको होइन। हामी जस्तो केही सभासदहरूले सम्पूर्ण कुरा छोडेर, मेहनत गरेर संविधानसभाभित्र काम गरेको हुनाले गर्दा संविधानसभाभित्र आज संविधानको विषयमा छलफल गर्दै गर्दा केवल पाँचवटा छ वटा विषयहरू मात्रै बाँकी छ भन्ने ठाउँमा ल्याइपुर्याएको हो। नेपाली कांग्रेस बहुमतका साथमा संविधानसभाभित्र हुँदै गर्दा, कांग्रेसभित्र मेरो उपस्थितिले म कांग्रेसलाई प्रभावकारी बनाउने कुरामा मद्दत गर्छु। यो संविधानभित्र नेपालको सबै बालबालिकाको, सबै नेपाली महिलाको, नेपालको दलितको, नेपालको जनजातिको, अपांगता भएको व्यक्तिको, जेष्ठ नागरिकको, सबै विपन्न नेपालीको, किसान, मजदुर, युवक, सबै नेपालीको अधिकारलाई संविधानमा सुरक्षित गराउने सन्दर्भमा तपाईंको आवाज बनेर संविधानसभाभित्र काम गर्न चाहन्छु। संसदभित्र काम गर्न चाहन्छु।
नेपाली कांग्रेस सरकारमा पुग्ला, नेपाली कांग्रेस सरकारमा नपुग्ला। तर यो चार वर्ष मैले अघि लामो कुरा तपाईंहरूलाई बताएँ, केवल कथा बताएको होइन, त्यो अवस्था परिवर्तन गर्न चाहन्छु। त्यो अवस्था परिवर्तन गर्ने गरिकन काम गर्न चाहन्छु। तपाईंहरूको घरदैलोमा आउँदै गर्दा म प्रत्येकको घर पुग्ने कोसिस गरेको छु, प्रत्येकको आँगनमा टेक्ने कोसिस गरेको छु। मलाई क्षमा गर्नुहोला, समयको कारणले गर्दा सबै घरदैलोमा आउन पुग्न सकिनँ। तर यो भन्दै गर्दा म यति पनि तपाईंहरूको बीचमा राख्न निवेदन गर्न चाहन्छु, निर्वाचनको बेलामा घरदैलोमा आउने अनि निर्वाचन जितिसके पछि यहाँबाट भागेर जाने, यो परम्परा पनि म तोड्न चाहन्छु। प्रत्येक घरदैलोमा आउँदै गर्दा सबैले भन्नुभएको छ, तपाईंको चासो के छ भनेर भन्दै गर्दा प्रायः सबै साथीहरूले एउटै कुरा भन्नुभएको छ, निर्वाचित भएर गइसके पछाडि हामीले खोजेको बेलामा हाम्रो सांसद भेट्न पाउनुपर्छ भनेर भन्नुभएको छ। अनि मैले साथीहरूलाई भनें, यो यहाँको मात्रै समस्या होइन, नेपालभरिको समस्या हो। यसको उपायको रूपमा एउटा प्रस्ताव अगाडि सारेको छु। हाम्रो क्षेत्रमा चारवटा गाउँ छ, हाम्रो क्षेत्रमा चारवटा नगरका वडाहरू छन्। यो चारवटै गाउँ र चारवटै नगरका वडामा बस्ने हाम्रा सबै साथीहरूलाई सजिलो पर्ने गरिकन, सबैलाई पायक पर्ने गरिकन एउटा सांसदको कार्यालय स्थापना गर्ने प्रस्ताव अगाडि सारेको छु। यो सांसदको कार्यालय नेपालमा हाम्रो क्षेत्रमा पहिलो यस्तो कार्यालय हुनेछ, जुन कार्यालय सांसदको र जनताको साझा कार्यालय हुनेछ। अब तपाईंले आफ्नो सांसद भेट्नका लागि घर जानु पर्दैन, सांसद भेट्नका लागि पार्टी कार्यालय जानु पर्दैन। मलाई मत हाल्ने पनि, भोलि मैले सांसद हुने मौका पाएँ भने, मलाई मत हाल्ने साथी पनि, मत नहाल्ने साथी पनि, यो ठाउँको कुनै पनि बासिन्दाले चाहेको बेलामा कपनको गाविस कार्यालय गएको जस्तै आफ्नो सांसदको कार्यालय जान पाउनुहुन्छ। र त्यो सांसदको कार्यालयले २४ सै घण्टा, ३६५ दिन तपाईंहरूको बीचमा रहेर तपाईंहरूको विषयमा काम गर्छ। र मैले सबैको बीचमा भनेको छु, एउटा सांसदको रूपमा प्राप्त गर्ने जे जति तलब, भत्ता, सुविधा हुन्छ, त्यो परिवारका लागि पनि होइन, पार्टीका लागि पनि होइन। त्यो तपाईंको करले तिरेको पैसा तपाईंकै हितका निम्ति उपयोग हुनुपर्छ। हामीले प्राप्त गर्ने एक रुपैयाँ पैसा पनि हामी लिएर जाँदैनौं। सबै पैसा सांसदको कार्यालयमा लगाइन्छ र त्यो कार्यालयको मार्फतबाट नेपालमा नमुनाको रूपमा यो क्षेत्रलाई स्थापित गर्ने मैले प्रण गरेको छु।
म तपाईंहरूको बीचमा अहिले आएर निर्वाचनको अगाडि आएर ट्रक चलाएर कुनै ठाउँमा आएर ग्राभेल गर्ने, बाटो खन्न चाहन्न। तपाईंहरूको बीचमा आएर म दश करोड ल्याउँछु, बीस करोड लिएर आउँछु, मेरो पार्टीले यो गर्यो त्यो गर्यो भन्ने फेहरिस्त पनि म प्रस्तुत गर्न चाहन्न। हामीले गर्ने भनेको कसैले घरको पैसा ल्याएर गर्ने होइन। राष्ट्रिय स्रोत र साधनबाट हाम्रो क्षेत्रका लागि कति लिएर आउने, आफ्नो ठाउँमा छ। तर हाम्रो आफ्नै समुदायको बीचबाट, हाम्रो यहाँभित्र भएका मुद्दाहरूको सम्बोधन कसरी गर्ने? हाम्रा क्षेत्रका आफ्ना विशेष समस्याहरू छन्, मुद्दाहरू छ, खानेपानीको विषयदेखि लिएर बाटोसम्मका कुराहरू, विद्यालयको कुरादेखि लिएर स्वास्थ्य चौकीसम्मका अनेकन कुराहरू छन्। यी सबैका कुराहरूमा म तपाईंहरूसँग मिलेर काम गर्न चाहन्छु। त्यसैले आदरणीय साथीहरू, अब म तपाईंहरूको योभन्दा धेरै लामो समय लिन चाहन्न। संविधानसभामा नेपाली कांग्रेसको प्रतिनिधित्वले के पार्छ भन्ने कुरा मैले तपाईंहरूको बीचमा राखिसकें। मलाई विश्वास छ, यो पटक क्षेत्र नम्बर चारबाट म व्यक्तिका रूपमा, नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा संविधानसभाभित्र जाने कुरा मात्र होइन, बहुमतका साथमा नेपाली कांग्रेस पार्टीले नै यो ठाउँबाट विजय प्राप्त गर्छ भन्ने विश्वास तपाईंहरूको बीचमा राख्न चाहन्छु।
र अन्त्यमा एउटा मात्र प्रसंग तपाईंहरूको बीचमा राखेर टुंग्याउन चाहन्छु। यो निर्वाचनमा हाम्रा बीचमा जातीय कुरामा घृणा फैलाएर वा हाम्रो बीचमा धार्मिक विषयलाई उठाएर घृणा फैलाएर त्यसका आधारमा आफ्नो अभीष्ट पूरा गर्न राजनीति गर्न आउने शक्तिहरूलाई हामीले चिन्न आवश्यक छ। यो निर्वाचनले धेरै कुरा छिनोफानो गर्नुपर्छ। यो निर्वाचनले संविधान बनाउने कुरा मात्र होइन, यो निर्वाचनले संसद बनाउने कुरा मात्र होइन, यो निर्वाचनले कस्तो समाज बनाउने भन्ने कुराको पनि छिनोफानो गर्नुपर्ने छ। कम्तिमा काठमाडौं क्षेत्र नम्बर चारले त्यसको छिनोफानो गर्नुपर्छ।
म केही समय अगाडि दैलेख गएको थिएँ। तपाईंहरूलाई थाहा छ, दैलेखमा एकजना पत्रकार हुनुहुन्थ्यो, डेकेन्द्र थापा। डेकेन्द्र थापा आज बाँच्नुभएको भए डेकेन्द्र थापा आज ठ्याक्कै मेरै उमेरको हुनुहुन्थ्यो। डेकेन्द्र थापा मारिनुभयो। म जतिखेर दैलेख गएको थिएँ, दैलेख गएको बेलामा डेकेन्द्र थापालाई को हत्या गर्ने, हत्या, हत्या गर्ने मध्येको एक जना अभियुक्तले मैले डेकेन्द्रको हत्या गरेको हुँ भनेर आफूले जाहेरी बयान दिएर उनको भर्खर मात्र अदालतमा, अदालतमा उनको बकपत्र भइरहेको अवस्था थियो। त्यो बेलामा म दैलेख पुगें। दैलेख पुग्दै गर्दा मेरो संयोगले डेकेन्द्रको आमासँग भेट भयो। डेकेन्द्रको आमा हेर्दै गर्दा मेरो आमाभन्दा फरक, एउटा पहाडको आमा, धेरै पढ्ने मौका नपाएको, सामान्य परिवारको, मलाई मैले उहाँलाई भेटें, नमस्कार गरें। मलाई देखिसकेपछि सायद उहाँलाई आफ्नो छोराको झल्को आयो होला, उहाँले आफ्नो आँसु रोक्न सक्नुभएन र मेरो दुवै हात अनुहार, मेरो दुवै दुवै गालालाई आफ्नो दुई हातमा समातेर उहाँले आँसु रोक्न नसकेर भन्नुभयो, मलाई न्याय चाहियो बाबु, मलाई न्याय चाहियो भनेर भन्नुभयो। मैले उहाँलाई थम्थमाएर भनें, तपाईंले न्याय पाउनुहुन्छ भनें। म त्यहाँबाट फर्केर आएँ। तर म त्यो बेलाको एउटा प्रसंग सुनाउन चाहन्छु। उहाँलाई न्याय दिने कि नदिने, तपाईं प्रत्येकसँग जोडिएको छ, मसँग जोडिएको छ। डेकेन्द्र थापाको आमाले त्यति भनिसके पछाडि मलाई प्रसंग सुनाउँदै भन्नुभयो, अदालतमा उभिएको जो हत्याको अभियुक्त थियो, ऊ बयान दिइरहेको थियो। त्यो बयान डेकेन्द्रको आमा सुनिराख्नुभएको थियो। उसले बयान दिँदै गर्दा भन्दै थियो, जुन कुरा डेकेन्द्रको आमाले सुन्नुभयो र हामीलाई सुनाउनुभयो। एउटा आमालाई के पर्यो होला! बयान दिने अभियुक्तको भनाइअनुसार दैलेखको नगरपालिकामा जतिखेर पानीको पाइप लिएर गइयो, पानीको पाइप माओवादी साथीहरूले काटिदिसके पछाडि दैलेख नगरवासीको तर्फबाट डेकेन्द्रजी वार्ता गर्न भनेर माओवादी साथीहरूले बोलाएको ठाउँमा जानुभयो। वार्ता भंग भयो, उहाँ घर फर्कन खोज्नुभयो। माओवादी साथीहरूले भन्नुभयो, तपाईं घर फर्कन पाउनुहुन्न, पार्टीको आदेश छ। उहाँलाई कोसोँ हिँडाएर लिएर गइयो। हिँडाएर एउटा घरमा लगेर राखियो। घरमा पाँच दिनसम्म राखियो। पाँच दिन राखिसके पछाडि, त्यसपश्चात् उहाँलाई भनियो, पार्टीको आदेश छ, छेउको विद्यालयमा हिँड्नुस्। छेउको विद्यालयमा लिएर गइयो, उहाँको सम्पूर्ण लुगाहरू खोलियो, निर्वस्त्र बनाइयो, अनि विद्यालयको एउटा खम्बामा बाँधियो। दुई हात पछाडि बाँधेर भनियो, तपाईं यहीँ बस्नुस्, पार्टीको आदेश छ। त्यसपछाडि उहाँकै अगाडि खाल्डो खनियो। डेकेन्द्रजीलाई बाँधियो, डेकेन्द्रको अगाडि खाल्डो खनियो। र खाल्डो खनिसके पछाडि, खाल्डो खनिसके पछाडि, जिउँदो डेकेन्द्र थापालाई त्यो खाल्डोमा राखियो। खाल्डोमा राखिसके पछाडि त्यो साथीले भन्नुभयो, पार्टीको आदेश छ, म माटो हाल्न बाध्य छु। त्यो बेलामा डेकेन्द्र थापा जम्मा एउटा कुरा मात्र भनिरहेका थिए। अदालतमा त्यो अभियुक्त बताइरहेको छ, डेकेन्द्रको आमा सुनिराख्नुभएको छ। डेकेन्द्र जम्मा एउटा कुरा मात्र बताइरहेका थिए, रुँदै थिए, माथि आकाशतिर हेर्दै थिए, ईश्वरलाई पुकार्दै थिए र भन्दै थिए, हे ईश्वर, मैले त्यस्तो के गल्ती गरेको थिएँ, र मेरो आमाको कोखबाट तैंले मलाई जन्माइस्। मैले के त्यस्तो अपराध गरेको थिएँ, मेरो आमाको कोखबाट मैले, तैंले मलाई जन्माइस् र आजको दिनमा मेरो यो अवस्था भएको छ भनेर उनी रुँदै थिए, माथिबाट पार्टीको आदेश थियो, माटो हालिँदै गयो, हालिँदै गयो, उनी आमा आमा भनेर चिच्याउँदै गए, दुई हात माथि फैलाउँदै गए। डेकेन्द्र बोल्न छाडे, उनले माटो हाल्न थाले, र उनले अदालतमा भने, मैले माटो हाल्न छाडिसके पछाडि डेकेन्द्रको सास बन्द भइसकेको थियो। त्यो दिनबाट म सुत्न सकिनँ, आज अदालतमा उभिएर बयान दिँदैछु, डेकेन्द्रको हत्या मैले गरेको हुँ, सजाय मैले पाउनुपर्छ। तर त्यसको ठीक दुई दिन पछाडि प्रचण्डजी र बाबुरामजी काठमाडौंबाट हेलिकप्टर लिएर दैलेख जानुभयो र भन्नुभयो, यो हत्याको कथालाई जसले बल्झाउँछ, त्यो एक जनालाई पनि हामी छाड्दैनौं। यदि कसैले पनि यो कथालाई बल्झाउँछ भने नेपालमा फेरि द्वन्द्व चर्कन्छ भनेर भन्नुभयो र फर्केर आउनुभयो। मैले उठाउन खोजेको प्रसंग डेकेन्द्रको मात्र होइन, हत्या डेकेन्द्रको मात्र होइन। माओवादीका साथीहरू पनि मारिनुभएको छ, सेना मारिएको छ, प्रहरी मारिएको छ, सर्वसाधारण नेपाली मारिएको छ। तर १७ हजार नेपालीहरू डेकेन्द्र जस्तो मारिसके पछाडि, प्रहरी मारियो, माओवादीको साथी पनि त्यतिकै वीभत्स ढंगबाट मारिनुभएको छ।
त्यो युद्ध सकिसके पछाडि आज काठमाडौंको क्षेत्र नम्बर चारमा निर्वाचनबाट फैसला गर्ने बेला आएको छ, डेकेन्द्रको आमाहरूले बगाउनुभएको आँसु, चाहे माओवादीको कुनै आमाले बगाउनुभएको होला, चाहे कुनै सेना वा प्रहरीको आमाले बगाउनुभएको होला, त्यो युद्ध सही थियो कि गलत थियो? त्यो युद्ध जसमा १७ हजार मानिसहरू मारियो, त्यो मारिएको मानिस केका निम्ति मारियो? त्यो मारिएका मानिस यही निर्वाचनको राजनीतिको निम्ति मारिएको हो भने, १० वर्ष पछाडि १७ हजार मानिसको हत्या पछाडि, आज आखिरमा आएर भोट नै माग्न आउनुपर्ने हो भने, आखिरमा आएर सिंहदरबार नै बस्न आउनुपर्ने हो भने, आखिरमा आएर बालुवाटारमै बस्न आउनुपर्ने हो भने, १७ हजार मानिसहरू किन मारियो? त्यो युद्धको हिसाब खोज्ने कि नखोज्ने? त्यो आमाहरूको आँसुको त्यो मूल्य खोज्ने कि नखोज्ने? त्यो खोज्ने बेला आएको छ। त्यो प्रश्न कसले गर्छ? त्यो प्रश्न अब काठमाडौंले गर्नुपर्छ, त्यो प्रश्न कपनले गर्नुपर्छ। त्यो प्रश्न गर्ने मात्र होइन, निर्वाचनबाट उत्तर दिनुपर्छ, हामी युद्धको पक्षमा छैनौं, हिजो पनि थिएनौं, भोलि पनि हुने छैनौं। हामी हिंसाको पक्षमा छैनौं, हिजो पनि थिएनौं, भोलि पनि हुने छैनौं। हामी स्वतन्त्रताको पक्षमा छौं, हामी समानताको पक्षमा छौं, हामी न्यायको पक्षमा छौं, हामी सद्भावको पक्षमा छौं, हामी सहिष्णुताको पक्षमा छौं। हामी सबै नेपालीको पक्षमा छौं, हामी नेपालीहरूको बीचको एकताको पक्षमा छौं। यो सन्देश काठमाडौंको यो क्षेत्रबाट दिन आवश्यक छ। यही सन्देश हामी सबैले मिलेर दिन्छौं भन्ने तपाईंहरूको बीचमा यही कुरा राख्दै र तपाईंहरू सबैलाई म अन्त्यमा आग्रह गर्दै, तपाईंको प्रतिनिधिका रूपमा नेपाली कांग्रेसको चारतारे झण्डा बोकेर संविधानसभाभित्र काम गर्ने अवसर पाएँ, संसदभित्र काम गर्ने अवसर पाएँ भने, एक क्षण पनि तपाईंलाई निराश बनाउन्नँ, तपाईंलाई पश्चाताप गर्नुपर्ने अवस्था आउन दिन्नँ भन्ने प्रण तपाईंहरूको बीचमा गर्दै, तपाईंहरूकै बीचमा रहेर काम गर्छु, तपाईंहरूसँगै बसेर काम गर्छु, तपाईंकै आवाज बोलेर बस्छु, तपाईंकै प्रतिनिधि भएर काम गर्छु भन्ने बचनबद्धता तपाईंहरूको बीचमा प्रकट गर्दै, यो मंसिर ४ गते हुने निर्वाचनमा दुइटै चिन्ह, दुइटै मतपत्रमा रुख चिन्हमा छाप लगाई नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउनुहुन आग्रह गर्दै मेरो कुरा टुंग्याउँछु। कार्यक्रममा आइदिनुभयो, तपाईंहरू सबैलाई धेरै धेरै धन्यवाद। यही उत्साहका साथमा मंसिर ४ गतेसम्म निर्वाचनमा सहभागी बनिदिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्दै तपाईंहरूसँग बिदा माग्न चाहन्छु। धन्यवाद! नमस्कार! जय नेपाल!
जय नेपाल! जय नेपाल! जय नेपाल