प्रचण्डको चुनुवाङ बैठकको सम्बोधन
यो बैठकको उद्घाटनको क्रममा मैले कमाण्डरहरुसँग राखेको थिएँ कि इतिहासको असाध्यै संवेदनशील मोडमा हामी छौँ र यो बैठकले लिने निर्णयहरूले हाम्रो पार्टी, क्रान्तिको भाग्य भविष्य मात्रै होइन, साम्राज्यवादका विरुद्ध विश्व सर्वहारा आन्दोलनको भाग्य भविष्य पनि धेरै हदसम्म निर्धारित हुने स्थितिमा हामी छौँ।
र हामीले त्यो महान उद्देश्यको निम्ति आफूले आफैलाई कति तयार गर्न सक्छौँ, हामीले त्यो सर्वहारा आदर्शको निम्ति आफूलाई बदल्ने प्रतिज्ञा गर्न सक्छौँ या सक्दैनौँ भन्ने प्रश्न मैले राखेको थिएँ।
सुरुमै अनुभूतिको पाटोबाट भन्नु पर्दा मलाई के महसुस भयो कमाण्डरहरु भने, यो तीन-चार दिनको बहस पछि यहाँ विचारको क्षेत्रमा, भावनाको क्षेत्रमा पनि यति सुन्दर व्याख्याहरू भए, भने एउटा सौन्दर्यशास्त्रीले यसको बिम्ब, यसका यहाँ प्रयोग भएका प्रतीकहरू, कविताहरू, लयहरू, अभिव्यक्तिमा जो विविधता देखा पर्यो र विचारको जो उचाइ छुने यहाँ कोसिस भयो, मलाई बैठकको सुरुमा त म एक किसिमको भावमा थिएँ। स्वभाविक रूपमा म संघर्ष गर्ने मुडमा थिएँ वास्तवमा।
म अब आवश्यक पर्यो भने जत्रोसुकै संघर्ष गरेर, म कमाण्डरहरुलाई सीधा भाषामा भन्न चाहन्छु, नभएको भए म राजीनामा दिने मुडमा पनि थिएँ। यो पार्टी अब बन्ने प्रतिज्ञा गर्दैन भने, यो केन्द्रीय समिति उठ्दैन भने र त्यो छुनेतिर जाने होइन भने नैतिकताको आधारमा मैले राजीनामा दिनुपर्छ भन्ने सम्म पनि थिएँ र म संघर्षको मुडमा थिएँ।
र मैले संघर्ष गर्नुपर्छ, नेपाली सर्वहारा वर्गको निम्ति, नेपाली जनताको निम्ति, विश्व सर्वहारा वर्गको निम्ति र विश्व भरिका साम्राज्यवाद विरोधी जनताको निम्ति। अर्को भाषामा, मैले विद्रोह गर्नुपर्छ भन्ने पनि मलाई भइराख्या थियो। त्यसकारण म असाध्यै आक्रामक मुडमा चाहिँ प्रस्तुत हुने स्थिति मेरो बनेको थियो। त्यसो नगरिकन, त्यो विद्रोह र त्यो आक्रमण नभइकन, त्यो विचारको आक्रमण, भावनाको आक्रमण पनि, मुख्य कुरा चाहिँ आफूले आफैलाई बदल्ने, एक्काइसौँ शताब्दीका चुनौतीहरूको सामना गर्न लायक एउटा नयाँ पार्टी निर्माण गर्ने, जसलाई नयाँ क्रान्तिको थालनी गर्ने भनियो, म त्यो मुडमा थिएँ कमाण्डरहरु।
तर छलफल, बहस अगाडि बढ्दै जाँदा, बढ्दै जाँदा र यो अन्तसम्म आइपुग्दा मैले आफूले आफैलाई फेरि अहिले असाध्यै फुच्चे जस्तो फिलिङ भा’छ मलाई। अनुभूतिको कुरा गर्नुहुन्छ भने यति सुन्दर ढंगले यहाँ विचार र भावनाहरू व्यक्त भए, यति उचाइबाट व्यक्त भए, सबै जोड्दा त यो केन्द्रीय समितिको सबै भावहरू, प्रतिबद्धताहरू, प्रतिज्ञाहरू जोड्दा निश्चित रूपमा कोही पनि व्यक्ति त्यसको अगाडि फुच्चे हुन्छ। मैले अहिले महसुस गरिराखेको, भने यति महान छ हाम्रो पार्टी, हाम्रो केन्द्रीय समिति, हाम्रा लिडरशिपका कमरेडहरु, हाम्रा कमाण्डरहरु, हाम्रा जेनरलहरु भनौँ। एउटा ठूलो लडाइँ सिद्ध्यिया जस्तो, एउटा ठूलो मोर्चा भव्य सफलतामा टुंगिएको जस्तो।
र आफूले आफैलाई जुन अनुभूतिको साथ प्रस्तुत गर्ने मैले कोसिस गरेको थिएँ, त्यो अनुभूति अर्को ठाउँमा रूपान्तरण भए जस्तो। हामी सबै एउटैमा विलिन भए जस्तो। अब यहाँ कोही व्यक्ति विशिष्ट भन्ने केही पनि छैन। हामी सर्वहारा वर्गको, एक्काइसौँ शताब्दीको सर्वहारा वर्गको यस्तो एउटा फ्युजन भयौँ, हामी यसरी फ्युजन भयौँ यो केन्द्रीय समिति सिंगै, यसरी फ्युजन भयो कि व्यक्ति हरायो। हामी सबै हरायौँ, अब हामी कोही छैनौँ। यो बैठकमा आउनुभन्दा अगाडि निश्चित रूपमा, कमरेडहरुले असाध्यै राम्रोसँग यहाँ व्यक्त पनि गर्नुभयो, हामी सबै कोही सिङ-जुँगा उचालेर आयौँ, हामी सबै आफ्नै-आफ्नै योजनाहरू, आफ्नै-आफ्नै हितहरू, आफ्नै चाहनाहरू र त्यसको निम्ति लड्ने ढंगले हामी आयौँ। हामी अलग-अलग भएर आयौँ जस्तो लाग्छ। हामी एक-एक व्यक्ति भएर आयौँ र यो बैठकभित्र दस्तावेजमाथिको छलफलको क्रममा हामी सबै व्यक्ति हरायौँ।
अहिले मलाई वास्तवमा भन्नुहुन्छ भने सीएम भएको जस्तै मलाई लाग्या छैन। विलिन भइयो, हामी सबै फ्युजन भइयो। हामीले भन्दै आएका छौँ, हुन त हामीले धेरै ठाउँमा यो फ्युजन शब्दको प्रयोग गर्ने पनि गरेका छौँ, कोही ठाउँमा सही ठाउँमा, कतिपय, कतिपय गलत ठाउँमा पनि प्रयोग गर्या छौँ। तर यो महान फ्युजन, महान विलयन, सर्वहारा उद्देश्यको निम्ति, मानव जातिको सुन्दर भविष्यको निम्ति, सबै उत्पीडित जाति, वर्ग, समुदायको मुक्तिको निम्ति एउटा यस्तो महान विलयन, यस्तो एउटा महान फ्युजन, जसले एउटा असाधारण ऊर्जा शक्ति पैदा गर्छ। किनकि ऊर्जा, इनर्जी, सर्वहारा वर्गको इनर्जी यही फ्युजनमा मात्रै हो। विचारको फ्युजन, भावनाहरूको फ्युजन र त्यसले पैदा गर्ने शक्ति। किनकि मान्छेभित्र, हामी सबैलाई थाहा छ, असीमित क्षमता पनि हुन्छ। त्यसले सही वातावरण पायो, सही ओरिएन्टेसन पायो भने प्रत्येक मानिसहरूभित्र यो विश्वलाई नै प्रभावित गर्न सक्ने ऊर्जा पनि हुन्छ। पाएन भने यी प्रत्येक मानिसहरू भिडमा बदलिने र त्यसको औचित्य, त्यसको भूमिका इतिहासमा चाहिँ सामान्य किरा-कर्कटको भन्दा बढी नहुने पनि हुन्छ।
मार्क्सवादले हामीलाई के सिकायो? समाज विकासको क्रममा त्यहाँसम्म आउँदा विचारको यस्तो एउटा अद्भुत उचाइ, एउटा अद्भुत स्पष्टता, अद्भुत वैज्ञानिकता यस्तो प्रस्तुत गर्यो, माओको भाषामा भन्दा त्योभन्दा अगाडि पनि मानिसहरू त लडी नै राख्या थिए। प्रकृतिसँग संघर्ष, विभिन्न वर्गका बीचमा संघर्ष त चलि नै राख्या थियो। माओले असाध्यै सुन्दर भाषामा भन्नुभयो, के मार्क्सवादमा हजारौँ सत्यहरू छन्, तर ती सबैलाई एउटैमा ग्याल्भनाइज गर्न सकिन्छ, एउटैमा घोल्न सकिन्छ कि विद्रोह अधिकार हो। विद्रोहको अधिकारलाई संस्थागत गर्यो, त्यहाँदेखि धर्ती हल्लियो। पूरा विश्व कम्पायमान भयो। र यस्तो एउटा शक्ति पैदा भयो, जसले हजारौँ वर्षदेखि शासन गरेका शासकहरूलाई, शोषकहरूलाई, उनीहरूको स्वर्गमा धावा बोल्यो भन्ने जो व्याख्या छ, निश्चित रूपमा हो। त्यो विचारै थियो। सुरुमा त्यो विचार निश्चित रूपमा दुई जना व्यक्तिकोमा थियो। सायद माओले त्यो कुरालाई पनि राम्रोसँग व्याख्या गर्नुभएको छ, विज्ञान र वैज्ञानिक विचार सुरुमा त दुई जनामै थियो। तर त्यो दुई जना भनेर त्यसलाई अवमूल्यन गर्ने स्थिति होइन थियो। त्यो त यस्तो एउटा अणुबम थियो, विचारको यस्तो एउटा परमाणु बम थियो जसले धर्ती हिलाउँथ्यो, हिलायो।
फेरि हामी के बुझ्छौँ त भने, विज्ञान हुनुको नाताले त्यो निरन्तर विकासको क्रममा हुन्छ। एकचोटि हिलाए त खान्छ, त्यसले सधैं हिलाई राख्छ भन्ने कुरा हुन सक्दैन। त्यो विज्ञान विकासको क्रममा नयाँ-नयाँ फड्कोमा नपुग्दा सम्म त्यसले हिलाई राख्छ भन्ने कुरा पनि होइन। र त्यसको विकास अपरिहार्य हुन्छ। र त्यही विकासको क्रममा, जस्तो कमरेडहरुले भन्नुभयो, लेनिनवाद, माओवाद सम्म आयो र चाहिँ माओवाद सम्म आउँदा मुख्यत: सांस्कृतिक क्रान्तिसम्म आउँदा विचारले एउटा उचाइ छोयो र त्यसले विश्वलाई, विश्वभरिका श्रमजीवीलाई एउटा बाटो, एउटा दिशा निर्देश गरि नै राख्यो। हामी सबै सायद त्यही महान आदर्शका, त्यही महान विचारका सन्तानहरू हौँ। हामी त्यसैका सन्तति हौँ, त्योभन्दा बाहिर हामी होइनौँ।
नेपालमा दश वर्षको जनयुद्धले जे प्रभाव सिंगो नेपाली समाज, सयौँ वर्षदेखिको समाजलाई खल्बल्याइदियो, त्यसका जराहरू उखेली दियो, भने सन्तुलन भत्काइदियो। तर त्यसको पछाडि, हामी सबैलाई राम्रोसँग अनुभूत छ, हामी सबैले राम्रोसँग देखेका छौँ, अरू हामीसँग हतियार भएको कारणले त्यो भयो? के हामीसँग धेरै मेसिनगनहरू भएको कारणले त्यो भयो? हामीसँग करोडौँ जनता हाम्रो पक्षमा भएकै हुनाले त्यो भयो? त्यो पनि होइन। किनकि हामी एउटा सानो समूह नै थियौँ। हामी थोरै मानिस नै थियौँ। नेपालमा बडेबडे पार्टीहरू भन्ने नै थिए, कम्युनिष्ट नामका पनि। तर फेरि पनि हामीले विचारको विज्ञानलाई विज्ञानकै अर्थमा बुझ्नुपर्छ। सायद कमरेडहरु त्यतिबेला एकता केन्द्र बन्ने बेलामा, एकता केन्द्रमा चल्ने छलफलका क्रममा जो कमरेडहरु अहिले पनि यहाँ उपस्थित हुनुहुन्छ, उहाँहरूलाई पक्कै पनि स्मरण छ, हामी लगातार विज्ञानकै कुरा गर्थ्यौँ त्यतिबेला पनि। विचारको विज्ञान, विज्ञानसम्मत धारणा, कै कुरा गर्थ्यौँ। विचारधाराकै कुरा गर्थ्यौँ, प्रवृत्तिकै कुरा गर्थ्यौँ, प्रवृत्तिकै संघर्षको कुरा गर्थ्यौँ।
मानिसहरूलाई हाम्रा कुरा सुन्दा अचम्म लाग्थ्यो, अनौठो मान्थे त्यतिबेला। भने कम्युनिष्ट आन्दोलनभित्रका विभिन्न प्रवृत्ति मात्रै होइन, कम्युनिष्ट बाहिरका त झन् जिब्रो नै टोक्थे। मलाई अहिले सम्झिन्छु मैले, एउटा पत्रकार, के रे पुरुषोत्तम दाहाल, भने कमरेड जेबीको घरमा मलाई भेट्ने भनेर त्यहाँ भेट्न गा’थेँ म। र मैले जनयुद्धको कुरा गर्या थिएँ। जनयुद्ध त सुरु भएको थिएन। सायद त्यो एक-डेढ वर्षै अगाडि थियो। जनयुद्ध सुरु गर्नुभन्दा एक-डेढ वर्ष अगाडि थियो। र नेपालमा जनयुद्धभन्दा अर्को कुनै विकल्प छैन। यहाँको सामन्ती शोषण, सामन्ती संरचना भत्काउने, साम्राज्यवादी, विदेशी उत्पीडनहरू, विस्तारवादी उत्पीडनको जरा काट्नको लागि र नेपाललाई चाहिँ दुनियाँमा एउटा नयाँ नेपालको रूपमा चिनाउनको निम्ति जनयुद्धकै व्याख्या गरिया थियो त्यहाँ।
त्यसले अचम्म मान्थ्यो। कुरा, प्रस्तुति हेर्दा त उसलाई सायद, त बडा कन्फिडेन्ट्ली भन्या छन् भन्ने त त्यसलाई लाग्यो। उसलाई राम्रै लाग्यो। मान्छेको प्रस्तुति, यताउता चाहिँ सबै त उसलाई राम्रै लाग्यो। तर यो विचार, जनयुद्धले नै नेपाललाई रूपान्तरण गरिन्छ र गर्न सकिन्छ भन्ने विचार चाहिँ अनौठो लागेछ र उसले गएर तुरुन्तै कान्तिपुरमा एउटा आर्टिकल लेख्या’थ्यो। सायद त्यतिबेला पत्रकार कमरेडहरुलाई त थाहा होला, अरू कमरेडहरुलाई नि थाहा हुनुपर्छ। ‘विपनामा जनयुद्धको सपना’। के कुरा बुझ्नुभयो त? ‘विपनामा जनयुद्धको सपना’ भनेर लेख्यो उसले चाहिँ। अब उसको दृष्टिकोण अनुसार अथवा जो कोहीको पनि त्यतिबेलासम्मको चाहिँ स्थितिमा मानिसले सामान्य ज्ञानको दृष्टिकोणले, सरदर ज्ञानको दृष्टिकोणले, सरदर विचारको दृष्टिकोणले ‘विपनामा जनयुद्धको सपना’ लेख्नु मलाई ठीकै हो भन्ने लाग्छ।
तर त्यो विचारको विज्ञान जो हाम्रो सानो समूहभित्र बोलिराख्या थियो, त्यो ज्योति जो बोलिराख्या थियो र हामीलाई एउटा आत्मविश्वास थियो, जनयुद्ध कसरी जान्छ, भविष्यमा यसले कति घुम्तीहरू र मोडहरू पार गर्नुपर्ला, त्यो कुरा त थाहा हुने कुरा भएन। तर जनयुद्ध हुन्छ, लान सकिन्छ भन्ने एउटा चाहिँ विश्वास हाम्रो सानो समूहमा थियो। जताबाट हेरे पनि त्यो समूह त्यति ठूलो भएर मानिँदैनथ्यो। सानो समूह नै थियो। तर जब जनयुद्ध २०५२ साल १ गते पहल गरियो, हामीले एउटा पनि चौकी त कब्जा गर्न सकेनौँ एकै गतेको दिन त। सायद त्यही सिन्धुलीगढीको चाहिँ त्यहाँ पुलिस नभएको हुनाले कब्जा भयो कि क्या हो। हतियार नभएको हुनाले कब्जा भयो। नत्र अन्त जहाँ हतियार लिएर बस्या’थे पुलिस, त्यो कहीँ पनि कब्जा भएन। हामीले हान्न त होलेरी पनि हानियो, यता पट्टि रुकुममा कहाँ हानियो रे? रारी। रारी उसमा पनि हानियो, तर कहीँ पनि कब्जा भएन हाम्रो। हँ? राडीमा पनि त्यही भयो, हतियार नभएको हुनाले कब्जा भयो। हतियार भएको ठाउँमा कब्जा भएन। तर त्यो एउटा यस्तो उद्घोष थियो, त्यो यस्तो उद्घोष थियो, विज्ञान आधारित विचारको उद्घोष थियो। त्यो उद्घोषले के गर्यो त भने, हतियार कब्जा नभए पनि विचारका गोलीहरू, विचारका रकेटहरू काठमाडौंमा प्रहार हुन थाल्यो र त्यसले सिंगो समाजमा तरंग १५ दिनभित्रैमा, १५ दिनभित्रैमा नेपालमा एउटा यस्तो ठूलो तरंग, यस्तो एउटा महान फड्को, यस्तो क्रमभंगको त्यसले प्रतिनिधित्व गर्थ्यो, त्यो आफ्नो गतिमा विकास हुनु अपरिहार्य थियो। त्यो विकास भयो र यहाँसम्म आयो।
भने विज्ञानलाई हेर्यो भने, ग्यालिलियोको कुरा गरे पनि, न्युटनको कुरा गरे पनि, भने यी तमाम वैज्ञानिकको कुरा गर्यो भने कयौँको त सयौँ वर्ष लाग्यो त्यो विज्ञान साबित हुन, त्यो विश्वले मान्न। तर विज्ञान भइसकेपछि त्यसलाई मान्नु अपरिहार्य छ। जुन चिज विज्ञान छ, त्यो मान्न अपरिहार्य छ, त्यसलाई मान्नै पर्छ। दुनियाँले त्यसलाई मान्छ, ढिलो या छिटो। त्यही विज्ञान, विचारको विज्ञानको कारणले हामी अगाडि बढ्दै गयौँ। तर विचार, विज्ञानका अरू सबै शाखा जस्तै, विचारको विज्ञानको शाखा पनि निरन्तर प्रयोग र निरन्तर विकास र निरन्तर चाहिँ तपाईंको ट्रायल एण्ड एरर भनौँ न, के भन्छ त्यसलाई? प्रयोग गर्ने, गल्ती हुन्छ, त्यसबाट सिक्ने क्रमबाटै गुज्रिन्छ यो। ट्रायल एण्ड एरर। ट्रायल एण्ड एररकै मेथड, जसरी अरू विज्ञानमा प्रयोग हुन्छ नि प्रयोगशालामा, त्यो प्रयोगशालामा प्रयोग हुने विज्ञानको विकास पनि कुनै वैज्ञानिकको दिमागमा एकाएक आएर तुरुन्तै चाहिँ त्यहाँबाट एउटा चाहिँ अद्भुत र अचानक केही पनि भा’छैन। हामीलाई त्यसको परिणाम हेर्दाखेरि त अद्भुत, अद्भुत गर्यो विज्ञानले त भनिन्छ। तर विज्ञानको विकासको आफ्नो नियमलाई राम्रोसँग अध्ययन गर्ने जो कोहीले के देखिन्छ भने, धेरै वर्षको मेहनत पछि, धेरै मानिसहरूको मेहनत पछि, धेरै प्रयोगको असफलता पछि मात्रै त्यो विज्ञानले फड्को हानेको हुन्छ। त्यो नयाँ आविष्कार भएको हुन्छ, नयाँ अनुसन्धान भएको हुन्छ।
समाज विज्ञान, विचारको विज्ञान पनि त्योभन्दा बाहिर हुनै सक्दैन। तपाईं-हामी परिकल्पना मात्र गर्न सक्छौँ, तपाईं-हामी आदर्शवादी ढंगले भन्न मात्रै सक्छौँ, के यस्तो महान विचार पैदा भइदिए हुन्थ्यो हामी कहाँ, हाम्रो यस्तो महान नेताहरू पैदा भइदिए हुन्थ्यो, हाम्रो पार्टी यस्तो भइदिए हुन्थ्यो, त्यस्तो भइदिए हुन्थ्यो। किनकि हजारौँ वर्षको जो विचार संस्कार द्वारा यो समाज प्रशिक्षित छ भनौँ, तालिम छ, त्यो अधिभूतवादी तालिममा छ। हामीले सहज बुझ्ने भनेको अधिभूतवाद हो, द्वन्द्ववाद चाहिँ होइन। तपाईं-हामी कोही पनि दैनिक जीवनमा सहजै बुझिने कुरो अधिभूतवाद छ, द्वन्द्ववाद चाहिँ बुझिने कुरो छैन अथवा बुझ्न सजिलो छैन। किन द्वन्द्ववाद बुझ्नको निम्ति त्यहाँ नयाँ-नयाँ प्रयोग, नयाँ-नयाँ संघर्ष, नयाँ-नयाँ चाहिँ माने एउटा चाहिँ क्रमबाट गुज्रिनु पर्छ। तर माने शासक वर्गीय भनौँ न, इतिहासले पैदा गरेको शासकीय चिन्तन र शासक वर्गको दर्शन, मान्यता, यो सबैले चाहिँ मान्छेलाई सरलीकृत रूपमा, असाध्यै सहज, एकांगी रूपमा चिजलाई बुझ्ने र ढुक्क भएर बस्न सिकाएको छ। प्रगतिको निम्ति संघर्ष नगर्न सिकाएको छ। त्यसको असर मानिसको नसानसामा भरिएकै छ। भने यो संसार कसरी बन्यो? भगवानले बनाए, सिद्ध्यियो कुरा, खिसा खतम। अहिले पनि तपाईं-हामी देख्छौँ नि, साम्राज्यवाद यत्रो विज्ञानले यहाँसम्म विकास गर्दा पनि हामी इन्डियामा हेर्यो भने हरेक धर्मशालामा, हरेक चाहिँ माने एउटा चाहिँ धार्मिक उसमा चाहिँ लाखौँ, करोडौँ मान्छे लैजानको निम्ति शासक वर्ग अहिले ती जनतालाई वैज्ञानिक चेतनातिर गयो भने त विद्रोह हुने रहेछ, उनीहरूले बुझेको छन् त्यो कुरा राम्रोसँग। त्यसकारण तिनीहरू अधिभूतवादी भइराखुन्, तिनीहरू पटमूर्ख भइराखुन्, तिनीहरूको चेतनामा विज्ञान नघुसोस् भन्नकै निम्ति, पोपहरूको चाहिँ चुनाव हुने बेलामा भने कसरी भयो? इन्डियामा चाहिँ लाखौँ, हजारौँ मरेर किच्चिएर तैपनि त्यतै लैजानेतिर चाहिँ उनीहरूको किन चाहिँ भने जोड छ? भन्दा त्यो अधिभूतवाद नै प्रतिक्रियावादीहरूको निम्ति, शासकहरूको निम्ति असाध्यै राम्रो हतियार, शासन गरिराख्नको निम्ति।
भने त्यसको ठीक खिलाफमा विज्ञानको माग के हो त? भन्दा निरन्तर विचारको विकास। माओले भन्नुभयो, कसरी हुन्छ त विचारको विकास? त्यो कुनै चाहिँ ऋषिमुनिले तपस्या गरेर हुने कुरा पनि भएन। त्यो कुनै चाहिँ पण्डित विद्वानले लाइब्रेरीमा बसेर पढेर मात्रै पनि हुने भएन। उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग। आखिर ल्याएर संश्लेषित गरेका कुरा यति नै हो।
हामीले पनि विचारको विकास गर्ने क्रममा त्यही उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग र त्यो प्रयोगकै क्रममा अगाडि बढ्ने र विचारलाई डेभलप गर्दै लैजाने। यो प्रक्रिया हामीले समात्न सक्दा हामी निरन्तर अग्रगति तिर, निरन्तर प्रगति तिर गइने। तर हाम्रो सामाजिक सत्ता, हाम्रो सांस्कृतिक सत्ता जस… जसले हामीमाथि राज गरेको छ, तपाईं हाम्रो दिमागमा राज अझै पनि सर्वहारावादी विज्ञानले राज गर्या छैन। गरिसक्यो भन्यो भने त्यो त ठूलो भूल हुन्छ, त्यो हुन सक्ने कुरा पनि होइन। अझै पनि हामीमाथि राज अरुले नै गर्या छ, अरु नै सत्ता, अरु नै फिलोसफी।
हामीले द्वन्द्वात्मक भौतिकवादको फिलोसफी भन्दा भन्दै पनि हाम्रो दिमागमा राज गर्ने अझै पनि जबरदस्त सत्ता चाहिँ वास्तवमा पुरानो शासक वर्गले फैलाएको सत्ता, अधिभूतवादी बन्ने सत्ता, एकाङ्गी बन्ने सत्ता, सरलीकृत रूपमा चिजहरूलाई बुझ्न खोज्ने सत्ता, सरल सहज ढंगले बुझ्न खोज्ने सत्ता, टुक्रै मानसिकतामा बुझ्न खोज्ने सत्ता अझै पनि जब्बर छ। र हामी निरन्तर क्रान्ति भन्दा खाली बाहिर निरन्तर क्रान्तिको कुरा होइन। वास्तवमा चाहिँ आत्मिक चेतना, हाम्रो आफ्नै चेतना माथि, हाम्रै आफ्नै चेतनाका विरुद्ध पनि निरन्तर क्रान्तिको कुरा हो।
त्यो क्रान्ति रोकिने बित्तिकै, हामीभित्र त्यो क्रान्ति रोकिने बित्तिकै, हामीले त्यो नयाँ-नयाँ प्रयोग गर्ने प्रक्रिया रोकिने बित्तिकै गति अवरोध सुरु हुन्छ र त्यहीँबाट समस्याहरू पैदा हुन्छन्। यदि हाम्रो चेतनालाई निरन्तर अग्रगति दिने, नयाँ-नयाँ प्रयोग गर्ने, नयाँ-नयाँ साहस पनि गर्ने र विचारलाई निरन्तर विकास गर्न आफैंप्रति निर्मम हुँदै जाने भयो भने त्यसले निश्चित रूपमा फेरि विचारलाई चाहिँ अग्रगति दिइराखेको हुन्छ। र त्यसले ठूल-ठूला चमत्कारहरू गर्दै जान्छ। किनकि त्यो जनतासम्म पुगिसकेपछि, त्यस खालका वैज्ञानिक विचारहरू जनतासम्म पुगिसकेपछि त्यो एउटा अद्भुत शक्तिमा परिणत हुन्छ। त्यसलाई दुनियाँको कुनै पनि तागतले हिलाउन सक्दैन।
यसो हेर्दा मानिसहरूलाई अहिले के लागि राख्या छ? साम्राज्यवाद एकदम हावी भएको छ। दुनियाँ जहाँ पनि उसको सैनिक अड्डा छ। पुँजीपतिहरूको चाहिँ खर्बौं खर्बौं पति बनेका छन् अहिले। वर्ल्ड बैंक, आईएमएफहरूले चाहिँ विश्व कन्ट्रोल गरिराख्या छ। भन्दा कसरी दुनियाँमा क्रान्ति हुन सक्ला त अब? जताततै पहिला भएका क्रान्तिहरू पनि पतन भइसके अथवा पराजित भइसके। अब कसरी क्रान्ति हुन सक्ला? भन्ने कयौं मानिसहरूलाई लागि राख्छ। लागि राख्या छ र त्यसकारण चाहिँ पलायन, निराश हुने र यथास्थितिको अगाडि आत्मसमर्पण गर्ने, घुँडा टेकिदिने।
मान्छे हुनुको नाताले उठ्नुपर्छ भन्नेतिरबाट भन्दा सम्भावनाहरू छन्, यो सम्भव छ भन्नेतिर भन्दा सम्भव छैन भन्नेतिरबाट हेर्ने। त्यो प्रवृत्ति अहिले हामी जताततै देख्छौँ। हामी यसरी किन सोच्दैनौं? हामी यसरी किन सोच्न सक्दैनौं? जतिबेला दुनियाँमा कम्युनिष्ट घोषणापत्र बनेकै थिएन, जतिबेला दुनियाँमा विद्रोहको चाहिँ एउटा रणनीति र कार्यनीतिको माने प्रारम्भिक खाका पनि थिएन, दुईटा व्यक्तिले यत्रो दुस्साहस, त्यो दुनियाँ उल्ट्याउन सकिन्छ, यिनीहरूको स्वर्गलाई ध्वस्त पार्न सकिन्छ, र नितान्त नयाँ विश्व बनाउन सकिन्छ भन्ने आँट किन गरे?
त्यो बेलाको तुलना गरेर हेर्ने हो भने त, अहिले त हामी संसारै भरि नयाँ खालका विद्रोह छन्। सय वर्षको हामीसँग अनुभव छ, विजयको अनुभव छ, पराजयको अनुभव छ। हामीसँग ज्ञानको भन्नुस्, ज्ञानको एउटा भण्डार जम्मा हुँदै गइराख्या छ मानव जातिमा। हामी किन हिम्मत गर्न सक्दैनौँ फेरि यो दुनियाँलाई बदल्न? त्यहाँ दुनियाँ बुझ्ने, दुनियाँ बदल्ने दुई जना व्यक्तिले हिम्मत गर्ने, आज यत्रो संसारमा चाहिँ एउटा नयाँ ध्रुवीकरण भइराख्या छ, हामीले हिम्मत किन गर्न सक्दैनौं?
हाम्रो पार्टीले जनयुद्ध गर्दा, अहिले चाहिँ केही कमरेडहरुसँग, मेरो अहिले यो बीचमा मेरो धेरैसँग बहस भयो कमरेडहरु, धेरै मान्छेहरुसँग, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका पनि, मुख्यत: भारतका र धेरै किसिमका, धेरै कोणबाट बहसहरू भए। केही कमरेडहरुले के भने, अन्तर्राष्ट्रिय कमरेडहरुले भने, ‘जनयुद्ध सुरु गर्ने बेलामा त तपाईंहरूको चाहिँ सय जना पनि होल टाइमर थिएनन्, त्यही ४०-५० जना चाहिँ थिए होलान् जम्मा चाहिँ देशभरि होल टाइमर भन्दा। अहिले त लाखौँ करोडौँ बन्यो। तर लाखौँ करोडौँ बन्न थालिराख्या छ, तर फेरि चाहिँ तपाईंहरू चाहिँ बिस्तारै-बिस्तारै फेरि यो वार्ता, किनभने वार्ता मन पर्दैन हाम्रा अन्तर्राष्ट्रिय भाइचाराहरूलाई। हामीले कहिले वार्ता गर्ने, कहिले युद्धविराम गर्ने, कहिले के गर्ने, यो उनीहरूलाई कहिल्यै पुसुरदेखि मन परेको छैन।
फेरि तपाईंहरू यो झमेलामा किन? त्यत्रो थोरै हुँदा सब… सबमाथि आक्रमण गरेर, सबैको भण्डाफोर गर्दै, युद्धतैद्वारा सबै पल्टाइन्छ भनेर हिँड्ने, युद्ध पनि यो हाइटमा आउने, युद्ध यो हाइटमा आइसकेपछि फेरि तपाईंहरूलाई यो वार्ता, फेरि उनीहरूसँग झुक्न, झुक्न भनेन है शब्द, झुक्ने होइन, फेरि उनीहरूसँग चाहिँ माने खेल खेल्नुपर्ने किन भयो? किन भइराख्या छ? यो त चाहिँ अलि-अलि यसले त विचलन, डेभिएसनतिर त लान्न यसले? डेभिएसनतिर जाने त होइन? भनेर प्रश्न गरेँ। अहिले केही समय अगाडिको मात्रै हो।
मैले भने, हामीले सुरुदेखि अहिलेसम्म आउँदा हामीलाई हेर्यो, हामीलाई बुझ्न खोज्ने हो भने तपाईंहरूसँग हामी मिल्या छैनौं। तपाईंहरूको सोच र हाम्रो सोच मिलेको छैन। हामी भिन्न सोचबाट अगाडि बढिराख्या छौं। युद्ध सुरु नगर्दा नै हामीले वार्ता गर्या थियौँ। युद्ध सुरु गर्नुभन्दा अगाडि नै हामीले साम्राज्यवादीहरूसँग, प्रतिक्रियावादीहरूसँग वार्ता गर्या थियौँ। त्यही वार्ताले युद्ध सुरु गर्ने वातावरण बनायो भनेको थिएँ के मैले। कमरेडहरुले ध्यान दिनुहोला। किनभने हामी संसदमा गा’ थियौँ, त्यो त वार्तै त गर्या हो। युद्ध सुरु गर्नुभन्दा अगाडि नै हामीले वार्ता गरिराख्या थियौँ। हाम्रो राजासँग नि वार्ता भा’थ्यो, हाम्रो सरकारसँग नि वार्ता थियो, प्रधानमन्त्रीसँग सँगै पनि बस्थ्यौँ हामी। त्यही वार्ताले नै हामीलाई युद्ध सुरु गर्ने बनायो।
अनि युद्धले फेरि नयाँ स्तरको वार्ता बनायो फेरि। युद्ध र वार्ता, युद्ध र शान्ति, यसको डायलेक्टिक्सलाई चाहिँ हामीले नयाँ ढंगले बुझ्या छौँ हामीले। कमरेडहरुले चाहिँ सोध्ने गर्छन् हामीलाई, अनौठो मान्छन्, एकता केन्द्र बनाउने बेलामा त्यही बहस निकै ठूलो भयो अन्तर्राष्ट्रिय रूपमा। एकता महाधिवेशनको बेलामा सहभागी महाधिवेशनमा हुने कमरेडहरुलाई राम्रोसँग सम्झना छ। सिद्ध्यिए भन्ने थियो, हामी सिद्ध्यियौँ। यिनको क्रान्तिकारिता ध्वस्त भयो। अब विचलित भए यिनीहरू।
किनभने हामीले दक्षिणपन्थीहरूसँग एकता गर्या थियौँ वास्तवमा। दक्षिणपन्थी सोच भएका मान्छेहरूसँग, जनयुद्ध गर्ने कुराको कट्टर विरोधीसँग। हो नि कमरेड? कट्टर विरोधीसँग। हामीले चाहिँ एकता गर्यौँ। हाम्रा भाइचारा पार्टीहरू र रिमका सबैजसोलाई त्यो कमिटीको त टोटललाई के लाग्यो भने सिद्ध्यिए, यिनीहरू डुबे। यिनीहरूले केही गर्छन् कि भन्ने जस्तो लाग्या थियो। यिनीहरू डुबे। त्यसकारण एकता केन्द्रमा नआएको चाहिँ त मोहन विक्रम मात्रै।
अनि मोहन विक्रम नै बरु सही रहेछ भनेर मोहन विक्रमलाई चाहिँ, उहाँ कमरेड यहीँ हुनुहुन्छ कमरेड अशोक, मोहन विक्रमलाई उचाल्ने र हामी चाहिँ खतम मान्छे हुन् भन्ने खालको यत्रो डड्डु तयार पारे उनीहरूले। त्यो डड्डु पनि सायद तपाईंहरूले पढ्नुभएको होला कतिपय कमरेडहरुले। हाम्रो यो पनि गल्ती, त्यो पनि गल्ती, तिमीहरू सिद्ध्यिने भयौ भनेर। मोहन विक्रमले नै चाहिँ किनभने उनले त्यही बेलामा फेरि हामीले त एकता केन्द्र मात्रै बनाएको भए त हुन्थ्यो नि, दक्षिणपन्थीसँगै हो एकता गरेको फेरि। क्रान्तिकारी भनेर गर्या पनि होइन। नयाँ ध्रुवीकरणको निम्ति जरुरी छ भनेर गर्या छौँ, त्यसको पनि मलाई लाग्छ त्यो ठूलो व्याख्या गर्न त पर्दैन तर यहाँ स्मरण गर्न त यतिबेला जरुरी छ भन्ने लाग्छ।
हामीले दक्षिणपन्थीसँग एकता मात्रै गरेनौँ। हामी त चुनावमा पो गयौँ संसदीय चुनावमा। कुरा बुझ्नुभयो त? जनमोर्चा बनाएर चाहिँ गयौँ र सांसद पनि भयौँ। सांसद पनि भयौँ र चाहिँ दुई-तीन वर्ष सांसद त पछि-पछि हामी लाग्दालाग्दै हैरान पनि भयौँ। कमरेडहरुलाई सबै थाहा छ।
मोहन विक्रमले त के गर्यो? एकता केन्द्र पनि यो चाहिँ गाडा अगाडि र के… गोरु पछाडि। गाडा अगाडि र गोरु पछाडि भन्दिया छ। बहिष्कार पनि भन्दियो अझ उल्टो। भनेपछि त हाम्रा रिमका कमरेडहरुलाई के लाग्यो भने महान क्रान्तिकारी त मोहन विक्रमै रहेछ भन्ने भा’थ्यो दुई वर्ष तीन वर्षसम्म। तर हामीलाई के विश्वास थियो भने क्रान्तिको निम्ति जरुरी छ। हाम्रो एउटा चाहिँ जो भिजन बन्दै थियो, एउटा अवधारणा बन्दै थियो, परम्परागत अवधारणामाथि विद्रोह, परम्परागत मान्यतामाथि विद्रोह, त्यसका विरुद्ध आक्रमणको एउटा धारणा बन्दै थियो।
त्यो बन्ने प्रक्रियामा हामी अगाडि बढिराख्या थियौँ र हामीलाई हाम्रो कन्भिक्सनप्रति विश्वास थियो। हामीलाई हाम्रो वर्गप्रति, हाम्रो जनताप्रति र जनताको हित र आवश्यकताप्रति हाम्रो निष्ठाप्रति हामीलाई विश्वास थियो। त्यसकारण हामी संसदमा गए नि फर्किन्छौँ भन्ने थियो हामीलाई। हामी एकता केन्द्र बनाए पनि चाहिँ हामी चाहिँ फेरि अर्को ठाउँमा जान्छौँ भन्ने थियो। र घटनाक्रमले के पुष्टि गर्यो भन्दा संसदमा जानु बेठीक थियो कि ठीक थियो? कङ्क्रिट एनालाइसिस अफ द कङ्क्रिट कन्डिसन भन्छ नि, मार्क्सवादको जिउँदो जाग्दो आत्मा यति हो। लेनिनले परिभाषा गर्दा त यति हो मार्क्सवाद। अरू बेकार, अरू सब वाहियात हो।
तपाईं हाम्रो दिमागमा काफी हदसम्म, अहिले नयाँ आउने कमरेडमा त म अहिले भन्दिनँ, हामी पुरानाहरूमा धेरै हदसम्म मार्क्सवाद हामीले मार्क्सवादबाट सिकेनौँ क्या। मार्क्सवाद त हामीले नेपालका अवसरवादीबाट, तिनका मुखबाट सिकियो। अनि त्यो मार्क्सवाद भल्गराइज भएर हाम्रो दिमागभित्र पस्यो। के भन्छ त्यसलाई? भ्रष्टीकरण भएर चाहिँ हामीले सिक्यौँ मोहन विक्रमबाट र लामाबाट मार्क्सवाद सिक्यौँ हामीले। वर्गप्रति निष्ठा नभएको, क्रान्तिप्रति निष्ठा नभएको मार्क्सवाद। ठोस वस्तुको ठोस विश्लेषण गर्ने होइन, मनोगत आग्रह, मनोगत पूर्वाग्रहबाट आरोप-प्रत्यारोप गर्ने र एउटा आत्मरति लिइराख्ने। क्रान्ति त अगाडि बढोस् नबढोस्, तर आत्मरति चाहिँ भइराखोस् आफूलाई। क्रान्तिकारिताको आत्मरति, क्रान्तिकारिताको प्रदर्शनको आत्मरति भन्ने हामीले देख्यौँ। एउटा ट्रेन्डको रूपमा हामीले के भने ठोस वस्तुको ठोस विश्लेषण… हामीले चुनावमा भाग लिनुपर्छ भन्ने कुनै रणनीतिक त भन्या होइन। तर नेपालको त्यस ऐतिहासिक सन्दर्भमा साँचै मार्क्सवादलाई अगाडि बढाउनको निम्ति, साँचै क्रान्तिलाई अगाडि बढाउनको निम्ति हामीले घुम्तीमा पस्नै पर्छ।
हामीले चक्कर काट्नै पर्छ। र हामीले यसलाई चाहिँ एउटा राष्ट्रिय बहस, हामीले जे विचार सोच्या छौँ जनयुद्धको रणनीति, जनयुद्धको कार्यनीति जे भने पनि, जो हामीले सोचिराख्या छौँ त्यसलाई चाहिँ ठूलो स्केलमा बहसमा लानुपर्छ। संसदभित्र नि त्यो बहस लानुपर्छ। दक्षिणपन्थीभित्र पनि त्यो बहस लानुपर्छ। किनकि त्यहाँभित्र पनि क्रान्तिकारी छन्। यहाँ क्रान्तिकारिता र अवसरवादिताको ध्रुवीकरण ठीक ढंगले भएको छैन र विचार आधारित बहस पनि ठीक ढंगले भएको छैन भन्ने मान्यताबाटै हामी एकता केन्द्रमा गयौँ, चुनावमा पनि गयौँ। मैले भने सरल भाषामा हामी भन्थ्यौँ त्यतिबेला, के घाटा भयो त? एकता महाधिवेशन भयो, लडाइँ पनि पर्यो, ठूलो स्केलमा बहस पनि भयो। म पटक-पटक सानो उदाहरण सानो जस्तो, मैले त्यसलाई ठूलो मान्छु हेर्नुस्। बीएलको घरमा सिराहामा जनयुद्ध जिन्दावाद, मास्पा, लेनिनवाद, माओवाद जिन्दावाद लेखाइयो नि त। लेखे नि त उनीहरू। लेख्न बाध्य भए दुई वर्ष भए पनि, तीन वर्ष मात्रै भए पनि।
त्यसले जनताको ठूलो हिस्सामा, जनताको ठूलो हिस्सामा जनयुद्धको लाइन गयो। संसदमा गएर हाम्रा सांसदहरूले जनवादी क्रान्ति जिन्दावाद भनेर नारा लगाएकाकै हो। रियाक्सनरी पार्लियामेन्टमा गएर राम्रो नराम्रो जति सके नसके, जे होस् जनवादी क्रान्ति हुनुपर्छ भनेर पार्लियामेन्टबाट उद्घोष त हाम्रा कमरेडहरुले गर्या हो नि त। त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि एउटा राजनीतिक धाराको रूपमा सर्वहारा वर्गको धारालाई स्थापित गर्न मद्दतै गर्यो। तर हामी त्यहाँ डुब्ने वाला थिएनौँ, हामी आयौँ फेरि। हामी फेरि आयौँ।
त्यसले एउटा आधार बनायो। हामी खुला र भूमिगत, वैधानिक र अवैधानिक संघर्षको, मधेस र पहाडको संघर्षको, भने एउटा फ्युजनको धारणा हाम्रो बनेछ कमरेडहरु। त्यही-त्यही बेलादेखि बन्दै गएछ। कुनै डग्मामा होइन। सोचको कुनै आग्रहमा होइन। ठोस स्थितिको ठोस विश्लेषणको आधारमा लाइनहरू बनाउँदै जाने, बनाउँदै जाने र क्रान्तिलाई अगाडि बढाउँदै लैजाने भन्ने क्रमबाटै हामी अगाडि बढ्यौँ।
र अपत्यारिलो किसिमबाट हामीले जनयुद्ध सुरु गर्यौँ। समाजको ठूलो हिस्सालाई पत्यारै नलाग्ने गरी राजनीतिक क्षेत्रको, नेपालको सामान्य राजनीति मात्रै होइन, कम्युनिष्ट राजनीतिका क्षेत्रमा पनि जनयुद्धलाई खिसिटिउरी गर्ने, यहाँभित्र केही हुन्छ भन्ने कुरा चाहिँ पत्याउनै नसक्ने स्थितिबाट हामीले जनयुद्धको पहल पनि फेरि गर्यौँ, तीन वर्ष चक्कर काटेर आएर। जनयुद्ध अगाडि बढ्दै गएर एउटा स्थितिमा पुग्यो। जनयुद्धको सुरुदेखि हामीले के भन्या छौँ, कमरेडहरुले सायद नोट गर्नुभयो होला। सिद्धान्त त हामी वार्ता विरोधी छैनौँ भनिराख्या छौँ त्यहाँ। उता हतियार पनि उठाइराख्या छौँ। सिद्धान्त त वार्ता विरोधी त हामी होइनौँ भनेर कुनै पनि राजनीतिक मान्छेको दिमागमा हामी पोलिटिकल प्राणी हौँ है, र हामी पोलिटिकल, एउटा धाराको हैसियतले हामीलाई इतिहासले चाहिँ यो जनयुद्ध थाल्न बाध्य पारेको छ। तर कोही मान्छे हामीसँग पोलिटिकल डिल गर्न आउँछ भने, राजनीतिक रूपले बहस गर्न आउँछ भने, त्योसँग हामी बहस गर्न तयार छौँ।
हामीले जनयुद्ध सुरु गर्नुभन्दा सायद एक हप्ता, दश दिन कति अगाडि जनमोर्चाको तर्फबाट जो ४० सुत्रीय कार्यक्रम पेस गरियो, हामीले फौजी हमलाभन्दा पहिला राजनीतिक हमला गरेकै हौँ। तपाईं हेर्नुभयो भने फौजी हमलाभन्दा पहिला राजनीतिक हमला गरेर अनि त्यो राजनीतिक आक्रमणद्वारा अथवा त्यो राजनीतिक आक्रमणको फौजी औचित्य सिद्ध गर्ने ढंगले हामीले जनयुद्ध सुरु गर्यौँ। कमरेडहरुले कतिको त्यो त्यसको मर्मलाई याद गर्नुभएको छ। चाहे हामीले ठूल-ठूला गरेका आमसभाहरूमा जनयुद्धमै जानुपर्छ भनेर चाहिँ भनिएका कुराहरू हुन्, चाहे त्यो चाहिँ प्रधानमन्त्री कार्यालयमा चाहिँ हाम्रा कमरेडहरु जो यहीँ हुनुहुन्छ सबै यो सायद धेरैजसो, उहाँहरूले गएर टेबुल गरेका मागहरू हुन्। हामीले के गर्यौँ, चाहे हामीले एकता केन्द्र बनाएको कुरा होस्, चाहे हामीले चाहिँ पार्लियामेन्टमा गएको कुरा होस्, सबै हेर्यो भने हिस्टोरिकल्ली के कुरा प्रुफड हुन्छ भने, हामीले राजनीतिक हमला गरेर त्यसको त्यो हमलाको औचित्य सिद्ध गर्नको निम्ति नै हामीले जनयुद्धको पहल गर्यौँ। यद्यपि, रणनीतिक दृष्टिकोणले हामी एकदम साफ थियौँ। त्यतिबेला हामी रणनीतिक भ्रममा थियौँ भनेर भन्यो भने त्यो ठूलो भूल हुन्छ फेरि। हामी जनवादी क्रान्ति गर्ने, सशस्त्र युद्धद्वारा, बन्दुकद्वारा नै सत्ता आउँछ भन्ने कुरामा हामी भ्रममा परेको हुनाले, त्यो कुराप्रतिको हाम्रो बुझाइ, बुझाइ अस्पष्ट भएको हुनाले चाहिँ हामीले त्यसो गर्या त थिएनौँ।
हामीले गरेको के थियौँ भने, नेपालको अहिलेको सन्दर्भमा र विश्वको अहिलेको सन्दर्भमा, किनकि हामीले फेरि त्यस्तो बेलामा सुरु गर्यौँ, जतिबेला जनयुद्धका लागि असाध्यै बढी प्रतिकूल स्थिति नै थियो। प्रतिकूल यस अर्थमा पनि थियो कि कमरेड गोन्जालोको गिरफ्तारीपछि पेरुमा उठ्दै गरेको क्रान्तिको झिल्को पनि निभ्नेतिर गइराख्या थियो। ९२ मा कमरेड गोन्जालो क्याप्चरमा पर्नुभयो। हामीले बढी प्रेरणा लिन खोजेको पेरुबाटै थियो। किन त्यसको सर्वहारा क्रान्तिको एउटा नयाँ झिल्को हो भन्ने नै हामीलाई थियो। हामीले बढीभन्दा बढी डकुमेन्टमा रिफरेन्स लिने गरेको पनि पेरुबाटै थियो, गोन्जालोकै चाहिँ रचनाहरूबाट पनि थियो। त्यो साँचो कुरा हो।
तर हामीले जनयुद्ध सुरु गर्ने बेलामा त चार वर्ष, तीन वर्ष, चार वर्ष हुन लागिसक्या थियो गोन्जालो गिरफ्तार भएको र चाहिँ करिब-करिब त्यो पार्टी अब चाहिँ क्राइसिसमा गयो। त्यो आन्दोलन क्राइसिसमा गयो भन्ने कुराको हामीलाई बोध भएको बेलामा। फिलिपिन्समा माओ जिउँदै हुँदा सुरु भएको जनयुद्ध पनि बिस्तारै-बिस्तारै सेटब्याकतिर, अथवा त्यसको चाहिँ गति धिमा बनेको स्थितिमा हामीले सुरु गरेका थियौँ। त्यसको चाहिँ तीव्रता हराइसक्या थियो। टर्की, इब्राहिम कायपकायाको चाहिँ ऊ पछि केही समय अगाडि गयो तर त्यो चाहिँ टुक्रा-टुक्रामा विभाजित हुन खोजिराख्या थियो। त्यस्तो अवस्थामा हामीले सुरु गरेका थियौँ।
तर सुरु गर्दा चाहिँ राजनीतिक हमलाबाट सुरु गर्यौँ हामीले र त्यसको फौजी औचित्य सिद्ध गर्ने प्रक्रियाबाट गयौँ। यो निश्चित रूपमा हाम्रो विचारको मौलिकता नैले नै त्यहाँ काम गरिराख्या थियो। विकासको जुनसुकै स्तरमा भए पनि त्यहाँ विचारको मौलिकताले काम गरेको थियो, त्यहाँ विज्ञानले काम गरिराखेकै थियो। त्यतिबेला हामीले भन्दा अहिले त कतिपय मान्छेहरू एमालेमा पुगेका छन्। उनीहरूले भन्थे, ‘सपना मात्रै बाँड्छन्’। अझ त्यसमा पनि मलाई त ताकेर, ‘बढी नै यसले सपना बाँड्ने मात्रै गर्छ यसले।’ त्यतिबेलै थियो जनयुद्ध सुरु हुनुभन्दा। उहाँहरूलाई थाहा छ सायद अमर गिरि भन्ने मान्छेहरू थिए।
पहिला त ठीकै-ठीकै मान्थे, पछि त सपना चाहिँ बढी बाँड्यो। भने यो सपना, चाहे कम्युनिष्ट आन्दोलनभित्रका त्यस्ता मान्छेहरू भनौँ, चाहे पुरुषोत्तम दाहाल टाइपका रियाक्सनरी कित्ताका चाहिँ अलि बौद्धिकहरू भनौँ, सबैले एउटै शब्द भने, ‘सपना’। हो, निश्चित रूपमा सपनाको कुरा हो। तर त्यो सपना वस्तुसंगत, विज्ञानसंगत छ कि छैन?