रवि बालेन र कुलमान

रवि कुलमान र बालेनको एकताले नेपाली राजनीति एक किसिमले तरङ्गित भएको छ। खासगरी युवा जमात र पुराना दलहरू र पुराना सरकारहरूको कार्यशालीबाट आजित भएका जनताहरू यस मिलनबाट अत्यन्त उत्साहित भएको सहजै अनुमान गर्न सकिन्छ। हरेक किसिमले हेर्दा यो एक ता सकारात्मक नै देखिन्छ। किनभने नेपाली समाजको पछिल्लो केही दशकहरू एक किसिमले राजनीतिक म्युजिकल चेयरको गेममा घुमिरहेको थियो। केही मान्छेहरू यो बीचमा केही प्रगति भएको पनि अनुमान गर्छन्, तर विशेष त म्युजिकल सेयर नै पछिल्लो लगभग तीन दशकको नियति हो।

र यी तिनको एकताले त्यो घुमाइबाट जनताहरूलाई बाहिर निकाल्ने बलियो आश छ। खासगरी नवयुवाको आन्दोलन पछाडि बनेको सुशीला कार्की सरकारले सरकार बनेको केही दिनमै अविरल वर्षाजन्य विपदबाट जनतामाझ सरकार भएको अनुभूति दिलाउन जुन भूमिका खेल्यो त्यसले वास्तवमै जनताको सरकार भयो भने उसले गर्ने कार्यशैलीले जनताहरूमा एक किसिमको खुसी र उत्साह छाउँछ भन्ने स्पष्ट संकेत दिलायो। जनताहरू राजनीतिक दल सरकार र नियामक निकायहरूबाट यति आजित भइसके कि न्यूनतम कार्य गर्नु नै जनताहरूलाई खुसी दिलाउने एक माध्यम बन्न जान्छ। त्यसैले विपद व्यवस्थापनमा सरकारले जुन तदारुकता देखायो त्यो वास्तवमा सरकारको नियमित क्रियाकलाप मध्यको एक हो।

उदाहरणको लागि त्यस्तै अवस्थामा पछिल्लो वर्षमा केपी ओली सरकारले गरेका काम कारबाही र प्रधानमन्त्रीको हैसियतले खड्गौलीले दिएको अभिव्यक्ति नै काफी छ। खडगौलीको तुच्छ बोली र उनले हरेक कुरालाई व्यङ्ग्यात्मक शैलीमा ढाल्न गरेको कोसिसले, उनी जनताको जनजीविकासँग सम्बन्धित न्यूनतम कुराहरूबाट अति नै टाढा भएको अनुभूति दिलाउँथ्यो। त्यसको ठिक विपरीत सुशीला सरकारले जुन तदारुक्ता देखायो त्यसले जनताको मनमा सरकार भनेको के हो र सरकारले के गर्नुपर्ने थियो भन्ने कुराको स्पष्ट मार्गचित्र प्रस्तुत गर्यो। यो मार्गचित्र विपद व्यवस्थापनको सम्बन्धमा थियो। जनताको चाहना सरकारका हरेक क्रियाकलाप यस्तै मार्गचित्र अनुसार अगाडि बढोस् भन्ने थियो।

यसै सन्दर्भमा रवि कुलमान र बालेन बीचको एकता नेपाली जनताहरूलाई पुराना राजनीतिक दलहरूको चक्रव्युहबाट निकाल्न सक्ने एक आशाको बिन्दु मात्र नभई, अझ उज्ज्वल भविष्यको कल्पना गर्न सक्ने एक कडीको रूपमा स्थापित भएको छ।

नेपालका अधिकांश मानिसहरूको न्यूनतम माग छ। सामान्य जनजीविका रोजगारी शिक्षा स्वास्थ्य भ्रष्टाचारको अन्त्य लगायत यी न्यूनतम मागहरू नेपाली जनताका मागहरू हुन्। त्यस्तो अपेक्षा राख्ने जनताहरूले यो सरकारबाट केही पनि नभएपनि न्यूनतम रुपमा सरकार स्वयं यस्ता भ्रष्टाचारहरूमा नमुछिने कुराको अपेक्षा राख्दछन्। त्यो हदसम्म मलाई यो एकता र अब बन्ने सम्भावित सरकारप्रति आस लागेर आउँछ।

र यो एकताबाट आस गर्नुपर्ने अर्को कुरा के पनि हो भने, कुलमान घिसिङ जसले नेपालमा व्याप्त दैनिक २० घण्टासम्मको लोडसेडिङलाई अन्त्य गरी अत्यन्त जादुई रूपमा देशलाई लोडसेडिङ मुक्त बनाए। निश्चय नै यसमा कुलमान एक व्यक्तिको मात्र नभई उनका कैयौँ सहयोगीहरू र त्यो कार्यमा लाग्ने धेरै प्राविधिकहरूको ठूलो भूमिका छ। तर ्यसको नेतृत्व लिएको र त्यसलाई एक किसिमले निष्कर्षमा पुर्‍याएर त्यसलाई निरन्तरता दिएको श्रेय कुलमान घिसिङलाई अवश्य पनि जान्छ र जानुपर्छ। यसर्थ न्यूनतम रूपमा कुलमान घिसिङ जनतालाई केही डेलिभरी दिएका व्यक्ति हुन्। यसर्थ कुलमानसँग आस गर्नेहरूको भीड लामै छ। उनका सार्वजनिक अभिव्यक्तिहरू सुनेर मलाई के लाग्दछ भने उनी प्राविधिक रुपमा अब्बल छन् र कार्यसम्पादनमा उनको राम्रो दखल छ। कार्यसम्पादन नेपाली जनताहरूको न्यूनतम मागहरू मध्येको एक माग हो। र यदि यो पार्टीबाट सरकार बनेमा र कार्यसम्पादन गर्नुपर्ने स्थितिमा कुलमान पुगेमा उनले त्यो कर्तव्य निभाउने कुरामा धेरैजना आश्वस्त छन् त्यसमा म पनि छु।

दोस्रो कुरा काठमाडौँ उपत्यकाका प्रमुख निर्वाचित बालेन विशेषगरी युवाहरूमा अत्यन्त लोकप्रिय छन्। युवाहरू बाहेक पनि अन्य साधारण जनताहरूको उनीमाथि ठूलो भरोसा छ। यो लोकप्रियताको पछाडि कैयन कारण छन्। पहिले त प्रमुख निर्वाचित केही समयमै उनले पुराना दलहरूसँग हाकाहाकी दिएको प्रस्तुति र निडर शैली एक हो। बानेश्वरको एक भवनका मालिकसँग उनले भवनको नक्सा देखाउँदै आक्रोशित मुद्रामा गरेको संवादले पनि सामान्य जनताहरूमा के सन्देश दियो भने यी व्यक्ति शक्तिका अगाडि झुक्दैनन् र नियमलाई खरो रुपमा पालन गराउँछन्।

नेपाली जनताहरूको न्यूनतम मागमध्येको यो पनि एउटा माग थियो। कि कानुन शक्तिशाली वा सामान्य नागरिक जोसुकै हुन् सबैलाई बराबर हुनुपर्छ। र त्यो लगायत विशेषगरी नेकपा एमालेका नेताहरूसँग संवाद छलफलमा उनले देखाएको निडर स्वभाव ले जनताहरूमा शक्तिको अगाडि नझुक्ने एक पात्रको रुपमा बालेन शाहलाई जबरजस्त स्थापित गर्यो।

बालेनप्रति जनताहरूको क्रेज हुनुको अर्को कारण उनले काठमाडौँमा देखिने गरी गराएका केही परिवर्तनहरू हुन्। काठमाडौँको सामान्य सरसफाई रंगरोगन लगायत विभिन्न पुरातात्विक महत्त्वका ढुङ्गेधारा पोखरीहरूको खोजेर प्रवर्धन गरेकाले विशेषगरी काठमाडौँका मान्छेहरूले देखिने गरी परिवर्तन महसुस गरेका छन्। यसले पनि उनी डेलिभरी दिन सक्ने व्यक्तिको रुपमा जनताहरूमा परिचित छन्। उदाहरणका रूपमा हामी नयाँ सडकको फुटपाथ, केही पुराना पोखरी हिटीहरूको सम्बर्धन र संरक्षण। यी लगायत उनले गरेका अन्य कैयन कार्यहरू विशेषगरी पछिल्ला काठमाडौँका प्रमुखको तुलनामा धेरै नै फरक भएको जनताहरुले महसुस गरेका छन्।

अलि फरक कोणबाट सोच्दा मलाई के लाग्छ भने उनको क्रेज बढ्नुको एउटा कारण उनको अन्तर्मुखी छवि पनि हो। गीतहरू मार्फत उनले आफू गरिबको बोली बोल्ने व्यक्तिको रुपमा आफूलाई अर्थ्याए, र सार्वजनिक पदमा पुगेपछि कहिल्यै पनि मिडिया वा सार्वजनिक मञ्चहरुमा देखिएनन्। यसरी शक्तिसँग नझुक्ने कार्य गर्ने र बाहिर नदेख्ने नदेखिने यस्तो पात्र नेपाली जनताहरूको लागि एक मिस्ट्री बन्न पुग्यो। जसरी सेलिब्रिटी संस्कारको व्याप्तता छ विश्वमा, कि कोही पनि सफल व्यक्तिहरूको आन्तरिक जीवन र उनीहरूको क्रियाकलाप बुझ्नका लागि मानिसहरू अत्यन्तै धेरै चासो दिन्छन्, त्यो जानकारी सहजै पाइँदैन। र यसले गर्दा एक किसिमको फिडब्याक लुप बनाउँछ जहाँ उनीहरूको मिस्त्रीले गर्दा मान्छेहरु अझ बढी उनलाई देख्न लालायत हुन्छन् र जति देख्न लालायत हुन्छन् त्यति नै celebrityहरू सहज पहुँचमा पुग्दैनन्। यो खालको मिस्टीले गर्दा पनि उनको प्रभावमा र लोकप्रियतामा महत्त्वपूर्ण भूमिका खेलेको मैले अनुभूत गरेको छु। यसबीचमा उनले सार्वजनिक फोरमहरूमा प्रस्तुत भएर जनताका मागहरू विरोधहरू सुनेर त्यसलाई सम्बोधन गर्न कोसिस गरेको भए त्यसबाट उनका केही कमजोरीहरू देखिन सक्थे जुन उनको लागि घातक हुन सक्थ्यो। सार्वजनिक रूपमा प्रस्तुत नभएर उनले यो सम्भावनालाई पूर्णरूपमा निस्तेज गरिदिए।

त्यसपछिका महत्वपूर्ण पात्र हुन् रवि लामिछाने। सुरुवातदेखि नै आक्राममक शैलीमा अत्यन्तै भावुक भएर विषयवस्तुहरूलाई प्रस्तुति दिने, शक्तिहरूसँग नझुक्ने, विभिन्न संस्थाका कार्यकारी प्रमुख नेता र समाजमा शक्ति जमाएर बसेका विभिन्न व्यक्तिहरूलाई उनले हाकाहाकी शैलीमा सोध्ने प्रश्न, उनको आक्रामक व्यवहार र त्यही किसिमको प्रस्तुति र हाउभाउले जनतामाझ उनको पनि त्यही छवि बनाइदियो जुन बालेनको पनि छ। त्यही छवि जहाँ जनताको आवाज बोल्ने एकजना मान्छे कुनै पनि शक्तिका अगाडि नझुक्ने निडर व्यक्तिको रुपमा प्रस्तुत भयो, त्यसलाई जनताहरूले आफ्नो आवाज बोलिदिने एक प्रतिनिधिको रुपमा सहर्ष स्वीकारे। यस्ता नाटकीय आक्रमक भावुक र निडरताको सम्मिश्रणले उनले देशविदेशमा रहेका कैयन नेपालीहरूको राम्रो समर्थन बटुले।

यो क्रममा यस्तो अवस्था पनि आइदियो कि सामान्य जनमानसले सरकारबाट जुन कार्यसम्पादन र न्यायको अपेक्षा गर्थ्यो, त्यसको विकल्प मानौँ रवि लामिछाने हुन्। सामान्य जनजीविका गुजार्ने मानिसहरू जो नेपालका अधिकांश जनमानसहरूमा पर्दछन् तिनीहरूका एक किसिमले आस लाग्दा भरपर्दा र न्यायिक व्यक्तिका रुपमा लामिछानेले जुन छवि बनाए त्यो छवि देशमा मात्र होइन विदेशमा पनि फैलियो जसलाई विश्वव्यापी रुपमा हेरिने उनको सञ्चारमाध्यम र विशेषगरी इन्टरनेटले अत्यन्तै ठूलो सहयोग गर्यो।

मेरो अनुभवमा नेपाली जनताहरू इतिहासकालदेखि नै परिवर्तनको पक्षमा छन्। जस्तो कि पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा माओवादीले जुन सफलता प्राप्त गर्यो, त्यो सफलता माओवादीको आधार इलाका नेपालका ग्रामीण भेगहरूमा मात्र सीमित थिएन। देशकै राजधानी काठमाडौँ र देशका अन्य ठुला सहरहरू जहाँ अत्यन्त शिक्षित सभ्रान्त वर्गहरूको बसोबास छ। त्यहाँ पनि माओवादीले अत्यन्त ठूलो जित निकाल्यो। त्यो जितले के स्पष्ट गर्थ्यो भने संगठनको प्रभाव पुराना दलहरूको रवैया र देशमा व्याप्त निराशाहरुप्रति तत्कालीन पार्टीहरूले भन्दा कुनै नयाँ पार्टीले अत्यन्तै राम्रो काम गर्ला भन्ने आश धेरै जनताले गरेका थिए र त्यो आश निर्वाचनमा पनि व्यक्त गरे। अहिले यो प्रसङ्ग होइन तर विशेषगरी प्रचण्डको व्यक्तिगत वैचारिक अस्पष्टता र उनको राजनैतिक उद्देश्यमा भएको दोधारे प्रवृत्तिले उनलाई इतिहासले दिएको त्यति ठूलो मौकाबाट उनले हात धुनु पर्यो।

त्यस्तैगरी गत स्थानीय निर्वाचनमा देशका विभिन्न भागहरूमा विजयी स्वतन्त्र उम्मेदवारहरूले के स्पष्ट संकेत गरे भने कुनै एउटा परिचित निर्वाचन चिन्ह हुँदैमा वा पार्टीहरुले जसरी जनताहरुलाई आफ्ना निर्विकल्प समर्थकको रुपमा देखेका थिए वास्तविकता त्यस्तो हुँदैन भन्ने कुरालाई अझ प्रष्ट पारिदियो। यदि कुनै स्पष्ट विकल्प छ भने त्यो विकल्पमा समर्थन गर्न नेपाली जनताहरू अग्रसर हुन्छन् र त्यतिको विवेक पुर्याउँछन् भन्ने कुरा स्पष्ट रुपमा देखियो।

फेरि नेपालमा अर्को के प्रवृत्ति छ भने यदि कोही व्यक्तिको छवि स्वच्छ छ र उसले जनताको बोली बोल्छ भन्ने भान नेपाली आम मानिसहरुले पाए भने उसलाई राजनीतिक नेता वा त्यसको कार्यकारी प्रधानमन्त्रीको रुपमा देख्ने अपेक्षा गर्दछन्। भूकम्पपछि धुर्मुस सुन्तलीले सुरुवात गरेको बस्ती निर्माणको सफलता पछि उनलाई देशको प्रधानमन्त्री बनाइनुपर्ने कुराहरू यदाकदा सामाजिक सञ्जालमा सुनिन थाले। यस्तो समर्थन र हौस्याई नेपालमा यो स्तरको हुन्छ कि उनीहरूलाई जस्तोसुकै कार्य पनि गर्न सकिन्छ। भन्ने आट पलाउँछ। त्यसैको परिणाम हो धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा सुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण। अन्तर्राष्ट्रिय क्रिकेट सङ्घट रङ्गशाला निर्माण आर्थिक दृष्टिले अत्यन्तै ठूलो परियोजनामध्येको एक हो। जहाँ देशमा भएको एउटै मात्र अन्तर्राष्ट्रिय स्तरको भन्न मिल्ने दशरथ रङ्गशाला मात्र भएको अवस्थामा, केही सीमित व्यक्तिहरूले चन्दा सङ्कलनको भरमा त्यति ठूलो आयोजना सम्पर्क गर्न सक्छु भन्ने आँट गर्नु एक किसिमले अदृष्टिता थियो। तर सामाजिक सञ्जालले मान्छेहरूलाई यति ठूलो हौसला प्रदान गर्छ कि सबै थोक सम्भव छ कि भन्ने लाग्छ। तर वास्तविकता त्योभन्दा धेरै नै फरक हुन्छ।

यस्तै सामाजिक सञ्जालहरूमा भएको व्यापक लोकप्रियता र जनताको बोली बोल्ने छवि बनाएका रवि लामिछानेलाई राजनीतिमा आउन जनता हरूले हौस्याउने नै भए। तर पनि त्यो लोकप्रियतालाई उनले म राजनीतिमा हुन्छु भन्ने सोच बनाएको देखिँदैन। किनकि एक टेलिभिजनलाई छोडेर उनी नेपालकै सर्वाधिक अत्याधुनिक फोके प्रविधिको टेलिभिजन संस्थामा आबद्ध भए। त्यसबीचका सम्पूर्ण घटनाक्रम स्पष्ट नभएपनि उनको त्यो कदम व्यापारिक कदम थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति पाएका एक प्रस्तोतालाई टेलिभिजनमा ल्याउँदा त्यसले पुग्ने फाइदा त्यसका लगानीकर्ताहरूमा स्पष्ट रुपमा थियो। र यदि कसैले यति महँगो टेलिभिजन कम्पनी स्थापना गर्छ भने त्यसका लागि आवश्यक बजेट र कार्यक्रम सफल पार्नका लागि केही मार्की कार्यक्रमहरु चाहिन्छन्। र रवि लामिछाने त्यही मार्की कार्यक्रमका प्रस्तोता थिए।

तर सो पछाडि भएको स्थानीय निर्वाचन र त्यसमा सफलता प्राप्त गरेका हर्क साम्पाङ बालेन लगायतका व्यक्तिहरूले रवि लामिछानेलाई राजनीतिमा आउन अझ हौसला प्रदान गरेको हुनुपर्छ। र सोसल मिडियाको जमानामा जे भाइरल हुन्छ उसैलाई टिप्नुपर्छ। र स्वतन्त्र उम्मेदवारहरूले जितेको त्यो तात्तातो समयमा उनले आफ्नो पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राखिदिए। छोटो समयमै उनले पार्टी निर्माण त गरे, तर निर्मित पार्टीको वैचारिक धरातल के हो भन्ने प्रश्न सञ्चारमाध्यममा व्याप्त थियो। तर सामान्य कार्यसम्पादन को अपेक्षा गरेका नेपाली जनताहरूका लागि ‌विचार र वादको छलफलका गौण थियो र कार्यसम्पादन प्रधान। उनीहरूलाई डेलिभरी चाहिएको थियो। र डेलिभरी हाताहाती चाहिएको थियो भाकला होइन। तर यसरी वैचारिक अस्पष्टता भएको पार्टीले के गर्न सक्दैन भन्ने अनुमान मूलधारका राजनीतिक पार्टीहरूले लगाए। र त्यो वैचारिक अस्पष्टताको एङ्गललाई सञ्चार माध्यममा पेल्न खोजे।

तर रवि लामिछानेको लोकप्रियताको पल्ला यति भारी थियो, उनको छवि र निमुखाहरूको आवाज बोल्ने व्यक्तिका रूपमा उनले बनाएको पहिचानले ती वैचारिक अस्पष्टता सम्बन्धी तर्कहरूलाई देख्ने कुरै भएन। र निर्वाचनको छोटो समय अगाडि नै घोषणा गरेको पार्टी चुनावमा होमियो। र रासोपा त्यति छोटो समयमा प्रत्यक्षमा केही सिट र तुलनात्मक रूपमा समानुपातिकमा धेरै सिट ल्याएर संसदको चौथो शक्तिको रुपमा दरियो।

चुनावअघि उनले सशक्तमा बोलेको एउटा भनाइ थियो no not again, अर्थात् अब पनि पुरानाहरूलाई कुनै हालतमा स्वीकार्नुहुन्न। यसमा उनले पुराना भनेर नेपाली कांग्रेस नेकपा एमाले र तत्कालीन नेकपा माओवादीलाई इङ्गित गरेका थिए। उनको अर्को चर्चित भनाइ थियो केपी बा देउबा र नानीका बा, यी तिनैलाई नस्वीकार्ने। अत्यन्त उत्तेजक र चर्को भाषण गर्ने उनको शैलीका लागि यी भनाइहरू सामान्य थिए। जनताका माझ भएको विश्वासका आधारमा उनी अत्याधिक बहुमतका साथ निर्वाचित भए।

तर चुनाव लगत्तैको सरकारमा उनी तिनै तीन वामध्येका दुई बासँग मिले। राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक अस्पष्टता त छँदै थियो। तर व्यावहारिक रूपमा भने घोषित कुराहरूमा ऊ टिक्न सकेन। र सरकारमा सामेल भएर रवि लामिछानेले गृहमन्त्री र उपप्रधानमन्त्री सम्हाले। यो बीचमा उनका नागरिकता र राहधानीका बारेमा भएको प्राविधिक त्रुटिका विरुद्ध अदालतमा मुद्दा दर्ता भयो। र यही प्राविधिक त्रुटिका कारण उनले आफ्नो सांसद पद गुमाउनुपर्यो र स्वतः मन्त्री पनि। तीव्र गतिमा अदालती प्रक्रिया टुङ्गाएर, सोही क्षेत्रमा पुनः निर्वाचन जितेर अझ अत्याधिक बहुमतका साथ उनी फेरि विजयी भए।

गृहमन्त्रीका रूपमा रवि लामिछानेले केही ठूला भ्रष्टाचारका काण्डहरू लाई अनुसन्धानमा अगाडि बढाउने केही कामहरू गरेका छन्। पछिल्लो समय उनी नि गृहमन्त्री हुँदा जब पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्यो, त्यतिबेला चर्चित भुटानी शरणार्थी काण्ड सतहमा थियो र त्यसमा केही प्रभावशाली व्यक्तिहरू पक्राउ पनि परेका थिए। रवि लामिछानेका समर्थकहरू तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेको नेपाली कांग्रेस निकटस्थ केही व्यक्तिहरू उक्त मुद्दामा मुछिने भएकाले नेपाली कांग्रेसले त्यो सरकार ढालेको हो भन्ने तर्क राख्छन्। जसरी पुराना राजनीतिक दलहरू आफ्ना गतिविधिहरू गर्छन्, त्यसो भएको होइन भन्ने स्पष्ट आधार पनि छैन। तर अर्को महत्त्वपूर्ण कुरा के हो भने त्यो सरकारको आधार निकै कमजोर थियो। २७५ मध्ये जम्मा ३२ सिट भएको दलका प्रमुख पुष्पकमल दाहाल सरकारका प्रधानमन्त्री थिए। अझ त्यसमाथि सरकार प्रमुख दाहालले सार्वजनिक भाषणहरूमै आफूसँग जादुई अङ्क भएको अत्यन्तै लज्जास्पद अभिव्यक्ति दिन्थे। र विश्व इतिहासमा कहीँ पनि संसद्को तेस्रो र एकदमै कमजोर दलले दिगो रुपमा सरकार चलाउन सकेका छैनन्। यसर्थ उनीहरूले सरकारको आधार कमजोर भएको विषयलाई यो तर्कबाट छुटाउँदा एक किसिमको बेइमानी हुन जान्छ।

व्यक्तिगत रूपमा मलाई रवि लामिछानेको आन्तरिक नियत सफा नै छ जस्तो लाग्छ। राजनीतिक पृष्ठभूमिबाट नभएकाले, राजनीतिको गोलचक्करमा हुने अनेक अनैतिक कार्यहरूको बोझ उनले बोक्नुपरेको छैन। हालका प्रमुख दलका कुनै पनि प्रभावशाली पदमा पुगेका व्यक्तिहरूले, दशकौंदेखि विकृत नेपाली राजनीतिको अत्यन्त घृणित फोहरी खेल खेलेर र त्यसमा विजयी भएर मात्रै त्यहाँसम्म पुगेका हुन्। रवि लामिछानेले त्यो फोहोरको भारी बोक्नुपरेको छैन। यस अर्थ पनि उनको विगत कैयन मूलधारका राजनीतिक व्यक्तिहरूभन्दा सफा छ।

रवि लामिछानेका केही कमजोरीहरू छन्। संसदीय निर्वाचन अगाडि आफ्नो नागरिकताको प्राविधिक त्रुटिलाई नसच्याइकन संसदमा उठ्न उनका कमजोरीहरू मध्येको सबैभन्दा सानो कमजोरी होला। दोहोरो राहधानीको मुद्दा भने अलि गम्भीर प्रकृतिको मुद्दा हो। गृहमन्त्री भएकै बेला बठ्याइँका आधारमा नानीका बासँग मिलेर उनले महान्यायाधिवक्ताद्वारा एक चिठी लिए। जुन चिठीमा उनी विरुद्ध राहधानी सम्बन्धी मुद्दा लाउनुपर्ने आधार नभएको व्यहोरा थियो। जानकारहरूका अनुसार यो गैरकानुनी कदम हो र उक्त मुद्दा लाग्न नसक्ने ठहर गर्नु महान्यायाधिवक्ताको क्षेत्राधिकार बाहेकको कुरा हो, र यसका विरुद्धको मुद्दा अदालतमा विचाराधिन छ। र त्यहाँमाथि गृहमन्त्री भएका रवि लामिछाने स्वयं प्रहरी प्रहरी र अनुसन्धान विभाग जसले यस्ता प्रकृतिका मुद्दाहरूको छानबिन गर्छ, उनकै मातहत हुने भएकाले यसमा स्वार्थ बाझिने कुरा त भइहाल्यो। उनीमाथि लागेको सहकारी ठगी सम्बन्धी मुद्दा अझै पनि अदालतमा विचाराधीन छ। अदालतले स्पष्ट रूपमा भनिसकेको छ उनलाई दोषी नदेखिने कानुनी आधार देखिएको छैन। तसर्थ उनी पूर्वपक्षका लागि थुनामा थिए।

यो विषयमा हामीले अलि स्पष्ट रुपमा भन्नुपर्ने हुन्छ, कि अदालतमा दर्ता भएको यो मुद्दा र त्यसपश्चात उनलाई विभिन्न अदालतमा लगाइएका फरक फरक मुद्दाहरू उनका विपक्षी र परम्परागत दलहरूका राजनैतिक प्रतिशोधका कारण भएका होइनन् भन्ने आधार छैनन्। त्यसमा राजनीतिक प्रतिशोध भएको हुनसक्छ भन्ने सम्भावना म स्पष्ट देख्छु। तर कुनै पनि मुद्दा अदालतमा गइसकेपछि न्यायिक प्रक्रियाबाट त्यसको निर्क्यौल हुनुपर्छ भन्ने कुरामा पनि म अझ स्पष्ट छु। त्यसमाथि नैतिक राजनीति गर्ने नयाँ एजेन्डा बोकेर आएका पार्टीहरूका लागि त यो प्रक्रियालाई पूर्ण रुपमा सहयोग गर्नु र अदालती प्रक्रिया पूरा नहुँदै यसलाई विशुद्ध राजनीतिक मुद्दा भन्दै जनताहरूका बीचमा जानु एक किसिमको पाखण्डीपन हुन जान्छ। अदालतमा विचाराधीन रहेको मुद्दाका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर सङ्कलन अभियान नै चलायो। यसरी अदालती मुद्दालाई जनताको समर्थनको आधारमा प्रभाव पर्ने हर्कतको व्यापक रूपमा कहिँबाट विरोध भएको मैले पाएको छैन।

टेलिभिजनको कार्यक्रमको प्रस्तोता हुँदा उनले अपनाएको शैलीको म एकदमै ठूलो विरोधी हुँ। कुनै पनि निष्पक्ष संचार माध्यमले मुद्दाका हरेक विषयलाई उजागर गरेर जनतालाई सुसुचित गर्नुपर्ने हुन्छ। कसैलाई लागेकै आधारमा न्याय दिने नाममा ठाउँको ठाउँ कसैको मानमर्दन गरिनु तुच्छ भाषाले बोलाइनु र एक किसिमको हेपाहा रवैया देखाइनु कुनै हालतमा पनि ठिक तरिका होइन। म यसलाई भिजिलान्ते न्यायको संज्ञा दिन्छु। भिजिलान्ते न्याय अर्थात् कुनै एक स्वघोषित नैतिक पात्रले कुनै पनि मुद्दाको सही र गलत निर्क्योल गरी ठाउँको ठाउँ न्याय निरूपण गर्ने तरिका। कुनै समय तत्कालीन माओवादीले घोषणा गरेको वाइसीएल भन्ने संगठनले यस्तै हर्कत गर्थ्यो-भिजलान्ते न्याय। स्थापित मूल्य मान्यताहरू के हुन् भने, कुनै पनि मुद्दा न्याय सम्पादनको प्रक्रियामा गएर प्रचलित नियम कानुन अनुसार निरूपण नभएसम्म कसैलाई दोषी करार गर्न मिल्दैन। तर रवि लामिछानेले प्रस्तोताका रूपमा यसका खिलाफ कैयन कार्यहरू गरे, कति जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निजी कार्यालयका प्रमुख, कैयन ठेकेदार आदिलाई सिधै फोन गरेर कुनै पनि मुद्दामा दोषी करार दिने, कार्यालयका कर्मचारीहरूलाई उनीहरूको कार्यकक्ष नै पसेर मानमर्दन गर्ने किसिमले प्रश्नहरु तेर्साउने र ठाउँको ठाउँ उत्तर दिन बाध्य तुल्याउने। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै चर्चित आफ्नो कार्यक्रममा उनले दिएको भौतिक आक्रमणलाई प्रश्रय दिने खालको एक एक भनाइ सामाजिक सञ्जाल लगायतमा भाइरल छ। यसले जनताका माझमा रवि लामिछाने शक्तिका विरुद्ध झुक्दैनन् भन्ने छवि त बनायो तर नैतिक रुपमा उनका क्रियाकलापहरू प्रचलित मान्यताका ठिक विपरीत थिए।

विधिको शासन मानवीय सभ्यताको एक उत्कृष्ट कडी मध्यको पर्छ। र विधिको शासनलाईको मान्यतालाई लत्याउने काम रवि लामिछानेले सरचार माध्यमको प्रस्तुता हुँदा र अहिले एक प्रमुख राजनीतिक दलको सभापति हुँदा समेत गरिरहेका छन्।

तर मैले माथि भनेझैँ यो त्रिपक्षीय एकता नेपाली राजनीतिमा एउटा कुशे ढुंगाको रुपमा स्थापित हुने कुरामा कुनै शङ्का छैन। न्यूनतम रूपमा पुराना पार्टीहरूको कार्यशैली र उनीहरूको मनोगत प्रवृत्ति लाई यो एकता र आसन्न चुनावले ठूलो धक्का दियोस् भन्ने मेरो आशा छ। चुनाव होस् स्वतन्त्र पार्टीले जितोस् र र सहमतिअनुसार बालेन प्रधानमन्त्री बनुन्। यो अवस्थामा कर्मचारी तन्त्र र राज्यका हरेक निकायमा भएका पुराना पार्टीहरूको जडबाट बिल्कुलै अलग नयाँ राजनीतिक दल आएमा त्यसमा भएका कैयन विकृतिहरू, आसेपासे पोषण र तुच्छ किसिमका भ्रष्टाचारहरू स्वतः नियन्त्रण हुन्छन्।

त्यसपछि आउँछ साँच्चै देश विकास गर्ने कार्य। र यो अवस्थाका लागि मेरो ठूलो संशय छ। संशय पनि नभनौँ म ‘कन्फ्लिक्टेड’ छु। वैचारिक रूपमा अस्पष्ट र भागबण्डाका आधारमा निर्मित यो एकताले देशलाई एउटा स्पष्ट मार्गनिर्देश गर्छ भन्ने कुरामा मलाई ठूलो संशय छ। यो समूहमा अत्यन्तै अपरिपक्व नवयुवाहरूको पनि ठूलो जमात छ। र तिनीहरूले पनि निर्णय प्रक्रियामा ठुलै दखल दिने स्पष्ट छ। तर पछिल्लो आन्दोलन र त्यसपछि सार्वजनिक वृत्तमा देखिएका केही प्रतिनिधि नभई युवाहरूलाई लिने हो भने उनीहरुमा राजनीतिक स्पष्टता अत्यन्तै न्यून पाइन्छ। सतहमा त्यो स्पष्टताले खासै केही फरक पार्दैन आखिरमा देश विकासै गर्नु हो।

तर देशको विकास जथाभावी सडक खनेर, बस्तीलाई विस्थापित गरेर वा लोक रिझ्याँई गरेर हुँदैन। यसका लागि स्पष्ट मार्गदर्शन चाहिन्छ। यो संगठनमा भएका कुलमान र स्वर्ण वाग्ले, योग्यताका आधारमा र सार्वजनिक वृत्तमा उनीहरुले दिएका अभिव्यक्तिका आधारमा, मलाई आश लाग्ने दुई पात्र हुन्। तर बहुमतको अपेक्षा गरिएको प्रमुख राजनीतिक दल दुई पात्रभन्दा कैयन ठूलो छ। विभिन्न दिशामा फर्केका विभिन्न आन्तरिक उद्देश्य भएका व्यक्तिहरू यसमा छन्। उनीहरूको न्यूनतम मिलनबिन्दु पुरानाहरूलाई विस्थापित गर्नु हो। तर पुरानाहरूलाई विस्थापित गर्नु कुनै आर्थिक नीति सामाजिक नीति वा राज्य सञ्चालनको नीति होइन।