टासी ल्हान्जोम र नेपाली राष्ट्रियता

केही समय अगाडि अमेरिकाका तत्कालीन राष्ट्रपतिको रूपमा जो बाइडनले आयरल्याण्डको भ्रमण गरेका थिए। आयरल्यान्ड एक स्वतन्त्र राष्ट्र हो। आयरल्यान्डको संसदलाई सम्बोधन गर्दै जो बाइडनले आफूले आफूलाई आइरिस भएको रूपमा व्याख्या गरे। यसको कारण थियो उनका पुर्खा आयरल्याण्डबाट अमेरिका आएका थिए। र उनी दोस्रो अथवा तेस्रो पुस्ताका अमेरिकी नागरिक थिए। तर उनका पुर्खाहरू आइरिस्।
तिनै जो बाइडन उपराष्ट्रपति हुँदा अमेरिकाका राष्ट्रपति थिए, बाराक ओबामा। ओबामाका पिता केन्याका थिए। जन्मसिद्ध नागरिकताको आधारमा बाराकोबामा अमेरिकाका नागरिक थिए। र त्यही रूपमा अत्याधिक मतले विजयी हुँदै उनी अमेरिकाका सबैभन्दा कान्छा राष्ट्रप्रति र पहिलो अश्वेत राष्ट्रपति बने। उनले आफू गर्वका साथ केन्याली इतिहाससँग सम्बन्धित भएको कुरा ढुक्कसँग भनेका छन्। अझै पनि बाराकोबामा अमेरिकी इतिहासमा सबैभन्दा बढी मन पराइएका राष्ट्रपतिमध्ये एक हुन्।
म सानै छँदा भारतीय कार्यक्रम इन्डियन आइडलका विजेता प्रशान्त तामाङ्ग भएको कुराले नेपालमा खुब बजार पिटेको थियो। प्रशान्त तामाङ्ष नेपालीभाषी भारतीय नागरिक हुन्। आफ्नो गायन कला साथसाथै नेपालीभाषी भएकै कारणले पनि कैयौँ नेपालीहरूले उनलाई साथ दिए। स्टेजमा गएर नेपाली ढाका टोपी लगाएकोमा कैयन नेपालीहरूले गर्व गरे।
केही समय अगाडि नेपाली पौडीबाज गौरीका सिंहले साफमा भएका धेरै रेकर्डहरू तोडिन्। उनी नेपाली नागरिक हुन्। उनी सानै उमेरदेखि बेलायतमा हुर्केकी हुन्। तर उनको सम्पूर्ण बसोबास पलाई बढाई बेलायतमै भएको थियो। बेलायतमै हुर्के पनि उनले लगभग स्पष्ट रुपमा नै नेपाली भाषा बोल्न सिकेकी रहिछन्। तिनै गौरिका सिंहले साफ लगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा नेपाली पौडीको कृतिमान राखेको र नेपाललाई पदक दिलाएकामा सयौं हजारौं लाखौं नेपालीहरुले खुसी व्यक्त गरे। पौडीमा उनको रेकर्ड अझै केही समय टिक्नेछ। त्यो नेपालीहरूको लागि एक आधारशिलाको रुपमा रहनेछ।
बेलायतमै हुर्केका जन्मेका र बङ्गलादेशी मूलका हमजा चौधरीले बङ्गलादेशी फुटबल टिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्छन्। पछिल्लो समय नियुक्त भएका नेपाली राष्ट्रिय टिमका कोचले पनि उही रणनीति सार्वजनिक गरेका थिए। विभिन्न देशहरूमा छरिएर रहेका नेपाली मूलका र नेपाल राष्ट्रिय टिमलाई प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई समेटेर उत्कृष्ट टिम बनाउने। यसरी आफ्नो देशको मूलका विभिन्न देशमा छरिएर रहेका प्रतिभाशाली व्यक्तिहरूलाई आफ्नो देशको प्रतिनिधित्व गराउने चलन विश्वका धेरै देशहरूमा छ। खेलकुदका क्षेत्रमा त मैले यस्तो प्रयोग अति नै धेरै देखेको छु।
विभिन्न देशको राजनीतिमा चर्चित र विभिन्न देशमा भएर सफल भएका नेपाली मूलका व्यक्तिहरूप्रति नेपालीहरूले गर्व गर्छन्।कतिपय त्यस्ता व्यक्तिहरूले सम्मान पाएका छन्। कतिपयले आफ्नो डायस्पोरालाई प्रतिनिधित्व गर्ने त्यस्ता व्यक्तिहरुबाट आफ्नो देशको नाम उज्वल भएकोमा खुसी व्यक्त गर्दछन्।
यी सामान्य प्रतिनिधि घटनाहरू मात्र हुन्। सार तत्व के हो भने कुनै पनि व्यक्तिको मूल प्रति व्यक्तिले गर्व गर्न सक्छ। आखिरमा सम्पूर्ण मानवजातिको मूल थलो भनेको अफ्रिका नै हो। जहाँ मानव जातिको उत्पत्ति भएको थियो। प्रश्न के मात्र हो भने, को व्यक्ति कुन समयमा कुन क्षेत्रमा सरे। राजनीतिक रुपमा कुनै देशको नागरिक हुनु र त्यो समाजमा हुर्किनुले त्यो समाजप्रतिको आफ्नो उत्तरदायित्व केही हदसम्म निर्दिष्ट गर्न सक्छ। नेपाल अत्यन्तै बहुधार्मिक बहुसांस्कृतिक बहुभाषिक मुलुक हो। यहाँ स्पष्टसँग नेपाली नबोल्ने नेपालीहरू पक्कै छन्। नेपाली भाषा बोल्नु नेपाली हुनुको मानक होइन। संविधानले त्यसो भन्दैन, नेपालभित्र जन्मेका र नेपाली नागरिकता लिएका सबै नागरिकहरू नेपाली हुन्।
पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका केही प्रतिनिधि घटनाहरूले मलाई यी माथि उद्धृत केही कथाहरूसँगको बाझिएको अनुभूति हुन्छ। टासी ल्हान्जोम त्यस्तै एक प्रतिनिधि पात्र हुन्। धेरै मानिसले उनको थर पहिलोपल्ट सुनेको वा उनले राम्रोसँग नेपाली बोल्न नसक्ने भएकाले उनी नेपाली होइनन् भन्ने किसिमका धारणाहरु व्यक्त गरेका छन्। सतहमा यी सामान्य लाग्न सक्छन् तर अन्तर्यमा यी समाजभित्र रहेका नस्लवादी सोचका उपज हुन्। पचासौँ वर्षदेखि पहाडी ब्राह्मणहरूले नियन्त्रण गरेको नेपाली राजनीति र तिनकै वरिपरि घुमेको नेपालको राज्य व्यवस्थामा निश्चित थर अथवा निश्चित किसिमको अनुहारको बनोट नभएका मानिसहरू सधैँ शङ्काको घेराभित्र पर्छन्। केही समयअघिसम्म सुदन गुरूङ्ग पनि यस्तै शङ्काको घेराभित्र थिए र अझै छन्। उनले स्पष्ट रुपमा सामाजिक सञ्जालमा आफ्नो नागरिकता नै प्रस्तुत गरिदिँदा पनि मानिसहरु उनलाई शङ्काको घेराबाट बाहिर राख्न मञ्जुर थिएनन्। यो त गुरूङ्ग जस्तो पनि देखिँदैन, यो त तिब्बती कठपुतली हो, या यस्तै अन्य कैयन आरोपहरू।
यसै प्रसङ्गमा म एक प्रतिनिधिको रूपमा सामाजिक सञ्जालमा मैले भेट्टाएको एउटा भिडियोलाई लिन्छु। भिडियोमा एक व्यक्तिले टासी ल्हान्जोम संयुक्त राज्यद्वारा सञ्चालित एक कार्यक्रम, “संयुक्त राज्य युवा परिषद्को” सदस्य भएको र त्यसको आधारमा संयुक्त राज्यका प्रतिनिधिले उनलाई बधाई दिएका केही सामाजिक सञ्जालमा भएका पोस्टहरू राखेका छन्। यो पोस्टलाई उद्धृत गर्दै भिडियो बनाउने व्यक्तिले भनेका छन् कि यसमा उनमा शंका गर्नुपर्ने ठाउँ छ। यस्तै उनले प्रस्तुत गरेको अर्को तथ्य के छ भने संयुक्त राष्ट्रसङ्घको एक कार्यक्रममा पनि टासी ल्हान्जोमको उपस्थिति थियो। यी दुई कुरालाई आधार मानेर उनले टासी ल्हान्जोम अमेरिकी प्रतिनिधि भएको र अमेरिकाकै निर्देशनमा चल्न सक्ने पनि शंका व्यक्त गरेका छन्। संयुक्त राज्यद्वारा सञ्चालित हुने युवा परिषद्को सदस्य हुन मैले पनि दरखास्त दिएको थिएँ। मेरा लागि दुर्भाग्यवश म त्यसको सदस्यको रुपमा छानिन सकिँन। तर टासी ल्हान्जोम त्यसको सदस्य छानिएकी रहिछन्। यसका लागि उनी बधाईकी पात्र हुनुपर्ने हो। तर यहाँ ठीक उल्टो उनी त्यसैकारण शंकाको घेराभित्र परिन्। यसको एउटा प्रमुख कारण मानिसहरूको नश्लीय सोच हो, र यसकी पीडित उनी एक मात्र होइनन्।
समाजिक सञ्जालमा भेटिने यस्ता पोष्टहरूलाई म त्यत्ति धेरै महत्व दिन्नँ। किनकी अक्सर त्यसमा जस्तोसुकै शैक्षिक पृष्ठभूमी भएका, राम्रोसँग विषयवस्तुको अध्ययन नगरेका वा कुनै स्वर्थप्रेरित उद्देश्यका व्यक्तिहरू पनि प्रस्तुत हुन्छन्। तर यी र यस्ता पोष्टहरूको प्रभाव भने निकै पर्नेमा कुनै शङ्का छैन, किनकि आजकालको जमानामा अधिक मानिसहरूको सुचना र जानकारीको स्रोत नै समाजिक सञ्जाल बन्दै गइरहेको छ। यस्तै समाजिक सञ्जालमै पोष्ट गरिएको एउटा पोष्ट, पूर्व सांसद् र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पनि छ। उनले त्यसमा अपुष्ट आरोपका आधारमा अत्तयन्तै नश्लीय गन्ध आउने आरोप टासीबिरूद्ध लागाएका छन्। जुम्लाका भएकाले उनलाई हिमाली जिल्लाको प्रतिनिधि हूँ भन्ने लाग्नेखालको त्यो पोष्ट छ।
त्यसो त नेपाली मधेसी समुदाय यसैको एक प्रमुख उदाहरण हो। हरेकपल्ट नेपाली मधेसी समुदायको व्यक्तिले आफू नेपाली हुनुको प्रमाण नागरिकताले मात्र दिएर पुग्दैन। अनेक नामले चिनिने उनीहरूले आफू नेपाली हुनुको प्रमाण पहाडे ब्राह्मण नेपालीहरूभन्दा भिन्न किसिमले दिनुपर्छ। यही सन्दर्भमा मलाई केही वर्ष अगाडि कान्तिपुरमा प्रकाशित एक लेखको याद आयो। संक्षिप्तमा लेखको प्रारूप यस्तो थियो। त्यो समयमा काठमाडौँमा टेम्पो चल्दथे। यसैमा उद्धृत लेखका लेखक यस्तै टेम्पोमा सवार हुन्छन्। उक्त टेम्पोका चालकले अगाडिबाट पछाडि सहयोगीलाई सोध्छन्, “भाइ कति जना छन्?”, अनि पछाडिका सहयोगीले भन्छन् , “दाइ तीनजना मान्छे र एकजना मधिसे”। त्यो लेख लेखेदेखि आजका मितिसम्म नेपालमा थुप्रै परिवर्तनहरू भइसकेका छन्। र मलाई के लाग्छ भने यस्तो अवस्था अहिले नेपालमा छैन। तापनि शङ्काको दृष्टिले हेर्ने र मधेसी मूलका मान्छेलाई नेपाली हो कि होइन भनेर शङ्का गर्ने मानिसको जमात भने अझै पनि ठूलै हुनुपर्छ।
अध्ययनले के देखाउँछ भने यस्तो नश्लीय सोच मनिसको हुर्काई सिकाई इत्यादिको परिणाम हो। जन्मँदै मानिसहरू यस्ता नश्लवादी हुँदैनन्। ऐतिहासिक रूपमा नेपाल विभिन्न आधरामा सहिष्णु मुलुको रूपमा चिनिँदै आएको छ। तैपनी यस्ता सोचहरू फिट्टिक्कै नहुने भन्ने पक्कै हुँदैन। समयक्रकमा यस्ता सोचहरूमा सकारात्मक परिवर्तन आउनु पर्ने हो। तर पछिल्लो समय शिक्षित पुस्ताले पनि यस्तै खालको धारणा बनाउनु चिन्ताको विषय हो। हामी सामाजिक रूपमा असहिष्णु बन्दै गइरहेका छौँ कि भन्ने प्रश्न अत्यन्तै पेचिलो प्रश्न हो। समाजमा विकसित हुने यस्ता सोचहरू धिमा गतिमा विकसित हुँदैन जान्छन् र समयक्रममा ब्यापक हुन सक्छन्। यसका लागि हामी सहिष्णु हुनेबाटोतर्फ अघि बढ्नुपर्छ। यसका लागि हामी बेलैमा सचेत भएको राम्रो।