सारापोभा

"ऊ ठ्याक्कै सारापोभा जस्तै छे।"

"को सारापोभा?"

"मारिया सारापोभा क्या त।"

"को मारिया सारापोभा?"

"उही क्या त टेनिस खेलाडी, रूसी।"

"ए त्यो पो?"

"कसरी छे उस्तै? उचाइ हेर्दा त मारिया सारापोभाकी आधी जस्ती देखिन्छे।"

"यहाँ उचाइको कुरा कसले गरेको छ र? हेर्दा उस्तै छे।"

"कसरी? तैँले पहिले कहिल्यै सारापोभालाई भेटेको छस् र?"

"भेट्नै परेन नि, अनुहार उस्तै लवज, उस्तै बोलिचाली उस्तै।"

"बोलीचाली उस्तै रे? कसरी, त्यसले पनि रूसी भाषा बोल्छे र?"

"अरे बौलाहा, उस्तै लवज, उस्तै बोलिचली हुन उही भाषा बोल्नु पर्छ र?"

"अनि कसरी थाहा भो त, उस्तै लवज छ भनेर?"

"छ नि अब। बोल्दा ठूलो स्वरले बोल्दिन। मीठो र सरल आवजमा बोल्छे। आवजको मीठास्नै काफी छ।"

ठ्याक्क पल्लो विभागको गेटबाट ऊ निस्केको देखेँ मैले। अनि म त्यहीँ रोकिएँ। फोन निकालेर हातमा लिएँ अनि त्यसपछि फोनमा ध्यान दिएजस्तो गरेँ। "ल त्यसले त तँलाई नोटिस् गरी नि।"

"ए हो र, यतातिर हेरेकी थी?"

"अँ हेरी पुलुक्क। हिजो सारापोभासँग कुरा गरेको भनेको होइनस्? गएर हेलो भनदेको भए भइहाल्थ्यो नि। तर त्यसपछि नीशालाई केही भनि जस्तो छ, नीशा त मुस्काउँदै थी?"

"हा हा नीशाको कुरा नगर तँ, त्यस्को दाँतै त्यस्तै हो। 'डिफल्ट पोजिसनमा' पनि हाँसेको जस्तै देखिन्छे।"

"हा हा, अँ यार। जहिले देख्छु हाँसेकी जस्ती देखिन्छे। मलाई शङ्का त लाग्या थ्यो केही त पक्कै छ यस्तो रहस्य। अब रहस्य नै त्यसको बाङ्गेको दाँत र बन्दै नहुने थुतुनो पो र'छ त।"

सारापोभा गई। म दिनभर क्लासमा केही नगरी फर्केँ। अनि घर आएपछि इन्टरनेटमा सारापोभा खोजेँ। गुगल सर्च। "होइन उस्तै छे यार", मनमनै भनेँ। "ही फरकै छैन।"

उसको फेसबुकमा गएर पछल्लो फोटो निकालेँ। म्यूचुअल फ्रेन्ड भएकाले सागरको प्रोफाइलमा उसको सेयर भएको फोटो दिउँस देखेको थिएँ। अर्की को हो कुन्नीसँग थिई। अर्कीलाई चाहिँ चिनँन। तर फेरी पनि मालई त ठ्याक्कै सारापोभा जस्तै लागी। दुबैको फोटो निकालेँ अनि फटोसपमा गरएर 'जक्स्ट्यापोज' गरेँ, उसको फोटोबाट अर्कीलाई 'क्रप' गरेँ। किन किन मलाई दुबै ठ्याक्कै उस्तै लाग्छन्, यो फोटो त झन् दुरूस्तै। केजाती इफेक्ट हो कुन्नी, त्यसले एउटै फोटोमा दुबैजाना भएकजस्तो देखायो, दुबै फोटोका पृष्ठभूमी एकै थिए, त्यसले गर्दा पनि सँगै बसेर खिचेको जस्तै देखियो। पृषठभूमीमा एक किसिमको निरन्तरता थियो। प्रकाश पनि एकैनासको भएकाले, दुई फरक फोटोहरू सँगै राखेको जस्तो देखिएन। फोटोमा उसको मुहारमा केही घाम लागेको थियो, दाँत अलिकति देखिएको थियो- दुबैको। सूर्यको सुनौलो किरणले गर्दा केही विशेष जस्तो लाग्यो मलाई। अर्ध मुहारमा किरण थियो अनि अर्ध मुहारमा छायाँ परेको, त्यसले झन् विशेषता थपेको थियो। त्यो फोटोलाई एउटा गीतको एल्बम आर्ट बनाएँ। मलाई मनपर्ने गीत थियो। अङ्ग्रेजी। पछिल्लो हप्ता मैले सबैभन्दा धेरैपल्ट सुनेको गीत त्यही थियो। एल्बम आर्ट बनाउन केही गाह्रो थिएन। फोटोलाई त्यही फोल्डरमा राखे पुग्ने। तर यो फोल्डरबाट हटाएपछि त त्यो गीतमा यो आर्ट आउँदैन भन्ने मलाई थाहा थियो। त्यसैले, मेडिया प्लेयरमा खोलेर ड्र्याग यान्ड ड्रप गरेपछि हुने। त्यत्ति गरेपछि, मैले फेरी गीत सुरूदेखि बजाएँ,

होल्ड मी लाईक अ मदर उड

लाइक आई अल्वेज न्‍ऊ समबडी सुड

दो टुमरो डन्ट लुक द्‍याट गुड

मेडिया प्लेअरलाई फुलस्क्रिन बनाएँ। यो गीत त्यही चलचित्रको हो, जुन मैले दशैँपटक हेरेको छु। जति हेर्दा पनि मलाई यो पुग्दैन। बजिरहँदा, पुरै स्क्रिनमा मैले टिभीमा मात्र देखेकी सारापोभा र मैले हिजोमात्र फेसबुकमा कुरा गरेकी सारापोभा सँगै बसेर खिचाएको जस्तो देखिने फोटो छ। मेरा लागि जुम्ल्याहा जस्तै। गीत सुनिसकेपछि ठूलो ग्लानी भयो, कसैको सहमतिबिना उसको फोटो अरू कसैको फोटोसँग जोड्नु अनैतिक कार्य हो भन्ने महशुष भयो अनि त्यो फोटोलाई मेटाएँ, अनि गीतबाट पनि हटाएँ। भोलीपल्ट म बायो ल्याबको अगाडिपट्टि चौरमा पल्टीरहेको थिएँ। केही समय देखि मलाई रियल एनालिसिसको एउटा हिसाबले सताइरहेको थियो। वीजगणितिय त्यो समस्या हल गर्न म केही समय खाली भयो कि लागिहाल्थेँ। भर्खर कक्षा सकिएको र अर्को कक्षा नहुने भएपछि चौरमा बसेर त्यही समस्याबाका बारेमा घोत्लिँदै थिएँ। ठ्याक्क त्यो समस्या हल भयोजस्तो लाग्यो मलाई। धेरै समय लागेर हल गरिएका यस्ता गणितीय समस्याहरूले मलाई औधी आनन्द दिन्छन्। अनि एकदम खुसी लागेर उठेँ। चौरको पारीपट्टी रोड डिपार्टमेन्टको केही सर्भे थियो। त्यहाँ मेरो साथी मदन पनि थियो। म ऊसँग कुरा गर्न भनेर गएँ। उसकै ग्रूपमा सारापोभा पनि थिई।

"के हो ढाका ब्रो यस्तो?", मदनलाई म ढाका भनेर बोलाउँथेँ।

"तँ मुला गोटी था' नभ'को जस्तो नगर न मुला!", मदनले मलाई गोटी भनेर बोलाउँथ्यो।

"होइन साँच्ची सोधेको, के हो यो? केही भन् न।"

"मुला सर्भे नि अब। यो मुला चलाउन सिकेको", छेवैको ट्राईपडमा क्यामेर राखेको जस्तो दखिने एउटा औजारतर्फ इङ्गित गर्दै उसले भन्यो। "त्याँ' छे नि त्यो केटी, त्यसले त्यो डिभाइस् समाकी छे, यहाँबाट त्यही हेर्ने अनि त्यसको डिस्टान्स निकाल्ने।" त्यो अर्कोतर्फ औजार समाउने उही सारापोभा नै थिई।

"ल म पनि हेरूँ न त।"

"तँ मुला गोटी त्यो केटीलाई हेर्नुपर्‍यो कि के हो?"

मलाई वास्तवमै त्यसले कसरी काम गर्छ भन्ने जानकारी लिनु थियो। मेरो मानसपटलमा त्यतिबेला रिचर्ड फाइनम्यानको "स्योरली यू आर जोकिङ्ग मिस्टर फाइनम्यान" किताबको केही अंश खेलिरहेको थियो। यही अवस्थामा यदि फाइनम्यान थियो भने यसलाई कत्ति मजाले बुझ्थ्यो होला। कति जायज प्रश्नहरू सोध्थ्यो होला। म त्यत्ति गहिरोसँग जानकारी लिन र राख्न नसकेपनि केही बुझ्ने प्रयास त जरूर गर्न सक्छु। त्यहीँ सारापोभा भएकै ठाउँमा गएर उसलाई सोधेँ। उसले अलि बिस्तारमा जानकारी दिई। सामान्य रूपमा नै मैले प्रश्न सोधेँ अनि सामान्य रूपमा नै उसले जवाफ फर्काई।

त्यसको भोलिपल्ट बिहानै ट्वीटरमा सारपोभा ट्रेन्ड भइरहेको देखेँ। अनि ट्रेन्डमा क्लिक गरेँ। ट्रेन्ड हुनुको कारण सारापोभाले टेनिसबाट सन्यास लिएकी रहिछ। दुई वर्षअगाडि डोपिङ्गको काण्डमा फसेपछि फेरी टेनिस खेल्न फर्किन्छे जस्तो मलाई लागेको थिएन। तर फर्किई। केही राम्रो गरेपनि उही सेरेनासँग हरवबखत हारिरहने भएकाले खासै केही उपाधि जितेकी थिई जस्तो मलाई लागेको थिएन। कुनै २५० टुर्नामेन्ट जितेकी हुनसक्छे। सेरेनासँग हरदम हार्ने भएकाले सन्यास नलिएपनि हुनेवाला चाहिँ केही थिएन। तर अब पहिलेजस्तो लाईमलाईटमा आउँदिन, त्यही भएर अब उसलाई खासै टिभिमा पनि देखिन गाह्रो छ। अब म ओसाकालई समर्थन गर्नुपर्ला सारापोभा गएपछि भन्ने सोच बनाएँ।

खाना खाइवरी म दिउँस क्याम्पस जान साझा बस चढेको थिएँ। बसको अघिल्लतिर सारापोभा थिई, कहिल्यै यो रूटको बसमा पहिला देखेजस्तो लागेन। सिटछेउमा अर्को एकजना केटा थियो। त्यो केटासँग उसकै अनि नजिकैको सम्बन्ध भएजस्तो देखिन्थ्यो। क्याम्पस् छेऊ आएपछि म त्यहीँ पछाडिको ढोकाबाट झरेँ। साझा बसमा आगाडिको ढोकाबाट चढाउने र पछाडिको ढोकाबाट यात्रुहरू ओराल्ने गर्छन्। त्यहाँ झर्ने सबै यात्रु ओरालेर, साझा बस महाराजगञ्ज तर्फ लाग्यो। ऊ सँग भेटेर अलि अकवार्ड होला भने अलि छिटो हिँडेँ। अगाडि पुगेर यसो पछाडि ऊ आउँछे कि भनेर यसो चियाएजस्ते गर्दै थिएँ। तर ऊ आएजस्तो लागेन।

क्यम्पसमा मेरो साथी कपिल पहिल्यै आइसकेको रहेछ, जानेबित्तिक्कै भन्यो "खुब सारापोभा, सारापोभा गर्थिस् नि, आज त रिटायर हान्दिछे। अब कसलाई हेर्छस्?"

"अब ओसाका, सेरेनलाई २४ पुर्‍याउन त रोक्नु पर्‍यो नि।"

एकैछनिमा राजन पनि आइपुग्यो, "तँ मुला कति छिटो हिँडेको? बसबाट झरेपछि तँलाई देख्या थेँ, यत्ति छिट्टो आइपुगिछस्।"

"कुन बसमा थिइस् तँ"?

"कुन नि अब, त्यही साझा बस।"

"ल हो र, मैले त तँलाई देखिँन, मेरो ध्यान अर्कैतिर थ्यो।"

"को तिर?" ,

"त्यही तेरी सारापोभा हो कि के हो?" कपिलले भन्यो?

"तँ चुप मुला", मैले भनेँ।

राजनले कपिलाई सोध्यो, सारपोभा भनेको को भनेर, अनि कपिलले उसको वास्तविक नाम भन्यो। अनि राजनले लामो हाँसो छोडेर मतिर इङ्गित गर्दै भन्यो, "त्यसलाई देखिस् भने त्यसको साईडको लाई पनि देखिस् होला। त्यही हो उसको हुनेवाला। टिचिङ्गमा पढ्छ, त्यसैलाई पुर्‍याउन गई, यहाँ पनि झरिन त्यो त।"

हाँसो थपेर कपिलले भन्यो, "अब भाइले नयाँ ओसाका खोज्नुपर्ने भो"।