गणित भाषा, सुत्र साहित्य

गणितीय सुत्रहरू

अमूर्त कला र कलाकारिता बुझ्नका लागि हामीले त्यस क्षेत्र सम्बन्धित केही ज्ञान हासिल गरेको हुनुपर्छ। नत्र अशिक्षित मानिसलाई कालो अक्षर भैँसी बराबर भनेझैँ, विशेष गरी अमूर्त कलालाई बुझ्न कठीनाइ मात्र होइन त्यसलाई ग्रहण गर्न पनि गाह्रो हुन जान्छ। यो मानेमा भन्दाखेरी कलामा एक किसिमको गहिराई हुन्छ वा भनैँ अर्कै एउटा (वा धेरै, कम्तिमा एउटा) आयाम हुन्छ। सामान्यतः हामी हाम्रा पाँच इन्द्रीयहरूद्वारा के ग्रहण गर्न सक्छौँ वास्तविकताको व्यख्या तिनै अनुग्रहित तरङ्गद्वारा मात्र गर्न सक्छौँ। कलामा हुने यस्तो गहिराईलाई बुझ्ने हाम्रा कुनै पनि भौतिक इन्द्रियहरू छैनन्। यो गहिराई या आयाम भनेको विभिन्न क्षेत्रमा हुन्छ। अर्थोपार्जन गर्ने लगानिकर्ता वा ब्यापारीको क्षेत्रमा उसले देख्ने गहिराई सबैले देख्न सक्दैन्न। सङ्गीतकार वा गायकको आयाम श्रोताले सजिलै बुझ्न सक्दैनन्। यहाँ एक किसिमको प्रष्ट विभाजन गर्न सकिन्छ। सङ्गीत सर्जकले जुन आयाम ताकेर कृती सिर्जना गर्छ श्रोताले त्यही आयामको गहिराई नबुझे पनि त्यो सिर्जनाबाट छुट‍्टै आानन्द लिन सक्छ। श्रोता र सर्जकको बुझाईको अन्तरले सिर्जनालाई कमजोर बनाउँदैन तर सतही सर्जकले बनाएको सङ्गीतले श्रोतालाई त्यही किसिमले बाँध्न सक्दैन। श्रोताको दृष्टिकोणबाट हेर्दा यस्तो सिर्जनामा केही छुटेको महसुष पक्कै हुन्छ तर राम्रो सङ्गीतमा त्यो के विशेशता थियो भनेर पनि खुट्याउन सकिँदैन। यो एउटा स्पष्ट भेद हामी धेरै विषयहरूमा देख्छौँ।

सङ्गीत वा अन्य कुनै कलाहरूमा हुने यस्ता आयामहरू ब्यापार/अर्थोपर्जनका क्षेत्रमा कलाकारितामा वा अन्य अनगिन्ती विषयहरूमा हुन्छन्। ती विशेषताहरू त्यही क्षेत्रसँग सम्बन्धित हुन्छन् अनि उपभेक्ताका लागि ती त्यत्ती वोधगम्य नहुन सक्छन्। यस्तै आयाम वा गहिराई हुने क्षेत्र भनेको गणित पनि हो। अब मेरो मान्यता भनेको गणित पनि एउटा कला नै हो, यस मानेमा गणित अन्य कलाभन्दा प्रस्तुती र उपयोगमा फरक भए पनि कलाका सबै विशेषताहरू यसमा हुन्छन्। भाषाका शब्दहरू वा सङ्केतहरू प्रयोग गरेर हामी जसरी साहित्य सिर्जना गर्न सक्छौँ ठीक उसैगरी हामी गणितका सङ्केत र सुत्रहरूद्वारा विशिष्ट साहित्यको सिर्जना गर्न सक्छौँ। साहित्यमा हामी जसरी विषयवस्तुको खँदिलोपना र न्यूनतम शब्दहरूमा गहिरो भावलाई महत्व दिन्छौँ गणितमा पनि ठीक उसै गरी खाँदिएका सुत्रहरूको महत्व धेरै हुन्छ। भाषा - साहित्य र गणीतका बीचमा यो जुन सामञ्जस्यता छ यसले हामीलाई एउटा कौतुहलता पैदा गर्छ, के गणित पनि कुनै भाषा हो?

विज्ञान भनेको सत्यको खोजी हो। यो वाक्यलाई सतही रूपमा बुझ्ने हो भने हामीले खासै केही नयाँ जानकारी पाउँदैनौँ। तर कलामा भनेझैँ यो वाक्यमा पनि अर्को आयाम छ। यो आयामलाई बुझ्नु हाम्रो उद्देश्य हो। भौतिक विज्ञान भनेको हाम्रो विश्व ब्रह्माण्डको गूढ रहस्य भौतिक कुराहरूबाट सञ्चालित छन् र भौतिक कुराहरूबाटै हामी यसलाई पूर्ण रूपमा बुझ्न सक्छौँ भन्ने मान्यताको विज्ञान हो। यो विज्ञानलाई व्याख्या गर्न हामीलाई एउटा विशिष्ट भाषाको आवश्यकता पर्दछ। त्यस्तो विशेषता भएको भाषा भनेको गणित हो। गणितको भाषा प्रयोग गरेर हामी जुन सुत्र साहित्य सिर्जना गर्छौँ त्यो साहित्यले हामीलाई भाषा साहित्यजस्तै रोमाञ्चकता प्रदान गर्छ। भाषा सहित्यका पारखीहरू र यो साहित्यका पारखीहरू फरक हुन सक्छन् तर दुवैको गहिराई उत्तिकै हुन्छ। यसलाई फेरी सतही रूपमा बुझ्ने हो भने जबरजस्ती एउटा समानताको पगरी गुथाइएको जस्तो लाग्न सक्छ, तर जब हामी त्यसलाई बुझ्दै जान्छौँ यिनमा धेरैभन्दा धेरै समानताहरू देखिन्छन्।

भौतिक विज्ञानमा मलाई अत्ति नै मन पर्नेमध्येको एउटा सुत्र

\[ \nabla \cdot \vec{B} = 0 \]

हो। यसको सामान्य व्याख्या, एकध्रुवीय चुम्बक ब्रह्माण्डमा पाईँदैन भन्ने हो। अब यो यति सामान्य सुत्रले कसरी ब्रह्माण्डको यस्तो रहस्य व्याख्या गर्न सक्छ भनेर म सँधै अचम्भित हुन्छु। यसलाई जति विश्लेषण गरेर यसका अवयवहरूलाई केलाउँदै जान्छौँ र हरेक टुक्राहरूको अर्थ खोज्छौँ, उति नै हामी नयाँ गहिराईमा पुग्दै जान्छौँ। हरेक अवयवहरूको अर्थ बुझ्दा त्यो रहस्य वास्तविकतामा परिवर्तित हुँदै जान्छ।

देवकोटाले जसरी मानव शरीरका सबै अङ्ग प्रत्यङ्गहरूलाई मन्दिरका अवयवहरूका रूपमा प्रस्तुत गरेर

फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाऊ
मल्हम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाऊ
मानिसहरू भई ईश्वरको त्यो दिव्य मुहार हँसाऊ

लेखे, यी वास्तवमा सीमित शब्दहरूका सँगालो मात्र थिएनन्। यसमा उनको गहिरो विश्लेषण छरिएको छ, अमूर्त ईश्वरको अवधारणलाई ठोस भौतिक शरीरको रूपमा प्रस्तुत गरेर सहचारिताको जुन नैतिक चेत यहाँ दिइएको छ, हजारौँ शब्दहरूले शायादै यो अर्थ टिप्न सक्छन्। यस मानेमा यी सतही रूपमा सीमित शब्दहरू भए पनि भावार्थको हिसाबले यिनमा अनगिन्ती शब्दहरूको प्रभाव संश्लेषित छ। साहित्यमा हुने यही भावको संश्लेषण क्षमता भनेको यसमा हुने गहिराई वा आयाम हो। ठ्याक्कै यसैगरी गणितको सुत्र साहित्यमा त्यस्तो आयाम हुन्छ, यिनले ब्रह्माण्डीय रहस्यहरू संश्लेषित गर्छन्।

शब्द साहित्य र सुत्र साहित्यमा हामीले यो समानता स्थापना गरे पनि हामी यिनका केही विशेष भिन्नताहरूका बारेमा सजग हुनुपर्छ। भाषिक शब्द साहित्यमा सन्दर्भगत ब्याख्याका लागि केही खुला ठाउँ हुन्छ, गणितीय सुत्र साहित्यमा पनि व्याख्याका लागि केही छुट भए पनि काल्पनिकतामा डुबेर व्यक्तिगत व्याख्या गर्ने छुट धेरै अवस्थामा हुँदैन। सुत्र साहित्य धेरै हदसम्म आफैँमा पूर्ण भए पनि, यसले भाषिक शब्दहरूको सापटी लिएको हुन्छ। सापटी लिइएका यी शब्दहरूले उही अर्थलाई छुन खोजे पनि तिनमा भिन्नता हुन सक्छ। केही विशेष अवस्थामा यी भिन्नताहरू सोचेभन्दा धेरै हुन जान्छन्। यदि हामिले प्रयोगको सन्दर्भ र तिनलाई दिइएको अर्थको धागोलाई राम्ररी समातेर व्याख्या गर्‍यौँ भने धेरै हदसम्म सही र नियोजित निष्कर्ष निस्किन्छ। सपटी लिइएका शब्दहरूलाई सन्दर्भ नै नबुझी भाषिक अर्थमा प्रयोग गरेर धेरै मानिसहरूले गलत सन्देश पनि प्रवाह गरेको पाइन्छ।

कुनैपनि विषयको गहिरो अध्ययन गरेर त्यसमा दक्षता हासिल गर्न लगाव र समय लाग्छ। तिनमा हुने आयाम बुझ्न र त्यस विषयमा नयाँ सिर्जना गर्न झन् ठूलो साधनाको आवश्यकता पर्छ। उही शब्द प्रयोग गरेर कोही सधाकले केही कुरा व्यक्त गर्छ र अर्कोमा तिनै शब्दहरू सतही रूपमा प्रयोग भएको छ भनेपनि तिनको भावमा अति धेरै अन्तर पर्न जान्छ। 'यात्री'मा देवकोटाले मस्तिष्कको छाना लगाएको मांशपिण्डको दिवारमा इन्द्रीयहरूको द्वार भएको भौतिक मानव शरीरलाई मन्दिर बनाएर, मानवतारूपी ईश्वरको दिब्य मुहार हँसाउन प्रेरित गरे। उही देवकोटाले जब समाधिमा 'आखिरी श्रीकृष्ण रहेछ एक' को माहवाणी फुके, त्यो सतही शब्दप्रस्तुती थियो भनेर मान्न म विल्कुल तयार छैँन। यसमा पनि त्यही गहिराई लुकेको छ, जुन म बुझ्न अहिले सक्षम छैन, तर त्यसमा गहिराई छ भनेर महसुष गर्न म सक्छु।

उही मानेमा फरक सन्दर्भमा जब अल्बर्ट आइन्सटाइनले 'ईश्वरले पासा खेल्दैन' (God doesn't play dice) भने, यसलाई, उनी धर्म वा ईश्वरमा विश्वास गर्थे भन्ने निष्कर्ष निकाल्ने सतही 'ज्ञानी'हरूको बेलाबखतको अभिब्यक्तिले मलाई ऐठन हुन्छ। यस्ता 'ज्ञानी'हरू जसले विज्ञानका केही शब्दहरूलाई प्रयोग गर्छन् तिनले कम्तिमा सन्दर्भ र अर्थको तादात्म्य मिलाउन जरूरी छ। भौतिक विज्ञानमा जब हामी "पदार्थ र उर्जा एकै हुन्" भनेर भन्छौँ तब हामी अति सुक्ष्म र गहन परिवेशमा तिनका बीचको परिवर्तनशीलतालई इङ्गित गरिरहेका हुन्छौँ। धेरै वर्षको अनुभव र गणितीय सुत्र साहित्यको सुक्ष्म विश्लेषण र प्रयोगशालामा गरिने अथक प्रयासपछि यी मान्यताहरू स्थापित हुन्छन्। धेरै अवस्थामा यिनको अर्थ, दिइएको सन्दर्भमा भर पर्छ। बुझ्न के जरूरी छ भने यो वाक्यले अनगिन्ती विषयहरूका बीचको तादात्म्य र हरेकको आफ्नै रहस्यको प्रतिनिधित्व गर्छ। यसको दृष्टान्त अन्य परिवेशमा दिँदा यसको सन्दर्भलाई पनि छुटाउनु हुँदैन। अर्धवैज्ञानिकहरूले यो विशेष कुरालाई अक्सर छुटाउँछन्।

"पदार्थ र उर्जा एकै हुन्" भन्ने भनाईलाई गणितीय भाषामा भन्दा \(E = mc^2\) हुन जान्छ। सबै भौतिक तथ्यहरूलाई यति सजिलो मानवीय भाषामा व्यक्त गर्न सकिँदैन वा भनौँ गणितीय अभिव्यञ्जक यति संश्लेषित रूपमा लेख्न सकिन्छ कि मानवीय भाषामा त्यसलाई सजिले ब्यक्त गर्न सकिँदैन। उदारहणको लागि

\[ G_{\mu\nu} + \Lambda g_{\mu \nu} = 8\pi T_{\mu \nu} \]

भन्ने सुत्रले अन्तरिक्ष र समयको एकरूपता देखि लिएर गुरूत्व सम्बन्धी अत्ति नै गूढ रहस्यहरूलाई सहजै व्याख्या गर्न सक्छ। बीसौँ शताब्दिको पहिलो सत्रमा प्रतिपादित यो सिद्धान्तले शयौँ वर्षदेखिको हाम्रो अन्तरिक्षीय ज्ञानमा उलटपुलट ल्याइदियो। बखत र अन्तरिक्षबीचको भेद टुट्यो, अत्ति सुक्ष्म रूपमा हमीले हाम्रो अवस्थिति थाहा पाउन सक्यौँ। सङ्गीतमा झुम्दा जुन आनन्द सङ्गीत पारखीहरूले पाउँछन् ठीक उही रोमाञ्चकता यसको बोधमा हुन्छ। कला सर्जकहरूले कालजयी कला सिर्जना गर्दा जुन विशिष्ट सन्तुष्टि पाउँछन् यी सुत्र प्रतिपादकले उही सन्तुष्टि पाउँछन्। अझ उल्लेखनीय कुरा के छ भने, क‌ला सिर्जनालाई जसरी महसुष गर्न सकिन्छ यी सुत्रहरूलाई पनि उसैगरी महसुष गर्न सकिन्छ।