दृश्य पात्र र रहस्य

दृष्य

यामले हेमन्त्त हो यो। बाहिर बर्षको पहिलो हिँउँ बाक्लो परेको छ, सेताम्म्य बाहिरको दृष्य हेरिरहँदा मनमा चिसो पस्यो। तापक्रमको हिसावले, मेरो कोठा, जहाँ बसेर म बाहिर नियालिरहेको छु, १८ देखि २० सेल्सियसको हाराहारीमा होला। तर मनमा पसेको चिसो तापक्रमसँग सम्बन्धित थिएन। बाहिर निकैबेर नियाल्न मन लाग्यो, मेरा नजरहरू फुरूरूरू उडेका हिउँका पत्ताहरूमा भएका भएपनि वातावरणमा घटेका घटनाहरूसँग खासै मेरो दिमागी एकाग्रता थिएन, दृष्यहरू आँखाबाट पसेर दिमागमा नपुगी बीचै बिलाइरहेका थिए। सोचको डोरो अन्यत्रै ब्यस्त थियो। यसैबीच दृष्यमा मनुवाहरू समान्य रूपमा आवतजावत गरिरहेकै थिए। छाला खासै चिसो नभएपनि दिमाग झन् चिसो हुँदै थियो।

पात्र

दिमाग प्रश्नवाचक परिवेशबाट गुज्रीरहेको थियो, चिसो बढ्दै थियो, एक्कासी दृष्यमा एउटी युवती देखापरी, तत्कालै दिमागले परिवेश बदल्यो, दृष्य आँखा हुँदै दिमागसम्मै पुग्न थाले। दृश्यकी पात्रले वातावरणलाई निमेषभरमा नियाली, दायाँबायाँ, अघि पछि। दिमागले मलाई तत्काल आदेश दियो, झ्यालबाट हल्का पछाडी सर, कदाचित दृश्यकी पात्रको नजर यता पर्दा उसलाई निगरानिको भान नपरोस्, आफ्नो हर्कत स्वच्छन्द पुरा गर्न सकोस्। साविकको बाटो मोडेर ऊ घरहरूका बीचमा विरलै पाइने यस्तो कङ्क्रिट जङ्गलका बीचको जैविक रूखतिर लम्किई। हिउँले सेताम्मे ढाकेको परिदृश्यमा उजाड रूख उभिइरह्यो। नेपथ्यमा साइरन बजेको आवाज सुनिँदै एकै झोक्कामा आएर क्षणभरमै बिलायो। झटपट उसले फोन नियाली, फेरी उही हर्कत दोहोर्‍याई, दायाँ बायाँ अघिपछि निमेषको एक खण्डमै नियाली। मैले त्यो फोनको खोल देखेँ, पहेँलो रङ्गको थियो।

पृष्ठभूमी निख्खर सेतो भएकाले हरेक कुराहरू प्रष्ट थिए। अरू दिन यताउती दगुर्ने लोखर्केहरू आज कता गायब थिए। वातावरण पुरै शान्त थियो। यो जाडोमा यो फोनले पनि आराम खोज्दो हो, तरङ्गहरू पनि यो मौसममा साविकको झैँ काम नगर्दा हुनन। पहिलो पल्ट ग्राहाम बेलले रेडियो तरङ्ग मार्फत आवाज प्रसारित गर्दा विद्युतीय तरङ्ग भन्दा पनि त्यसको असरको तरङ्ग धेरै चर्चित भएको हुँदो हो। मानवमा प्राकृतिक परिवेशमा रमाउने भन्दा पनि सङ्कुचित रूपमा कुनै विषय विशेषको परिधिभित्र रहेर एकोहोरो घोत्लिने रोगले छोएको छ। अत्यन्तै साँघुरो परिधिभित्र मानवनिर्मित यान्त्रिक सोचाइमा हराउने यो काइदाले गर्दा मानव कतै बृहत रूपमा प्राकृतिक विशिष्टताबाट टाढा हुँदै त छैन? फोनको तरङ्गले सुक्ष्मातिसुक्ष्म समयमा, विश्व नै पार गरेपनि हामी साँघुरो परिधिबाट बाहिर निस्कन सकेका छैनौँ कि त?

रहस्य

यसैबीच कुन बेला दृश्यहरू आँखा र दिमागको मार्गबाटै बिलिन हुँदै जान थाले पत्तै भएन। झटपट त्यही रूखतिर आँखा लगाएँ। दृश्यमा रूखमात्र छ, हिउँले सेताम्मे ढाकिएको सम्म जमिनका बीचमा न त्यतातिर जाने पाइलाका डाम थिए न त्यहाँबाट फर्कने। आफूलाई थोरै गाली पनि गरेँ, कस्तो मेरो दिमाग, क्षणभर पनि एउटा विषयमा एकाग्र भएर बस्न सक्दैन। दृश्यमा केही घटना त पक्कै घट्यो, त्यो पात्रले के भूमिका खेली, किन त्यति साह्रो छिटो नजर डुलाई भन्ने प्रश्न अब रहस्यमै सीमित हुने भए। यान्त्रिक विषयको सोचाइले मान्छेलाई परिवेशबाट भड्काउँदै छ भन्ने आलोचना दिमगमा खेलाउँदै गर्दा ठीक त्यही कुराको दोषी भएँ म, आँखै अगाडी रहस्यको पर्दा लाग्यो।