ऊ पनि प्रकाश म पनि प्रकाश

एकछिन आँखा चिम्म गरेर गम खाने कोशिस गरेँ। आफ्नो सन्तानको निधनले आमा सीता दाहाललाई जत्तिको पीडा अरू कसैलाई भएन होला। बाबु प्रचण्डलाई आफ्नो प्रमुख राजनीतिक सहयोगी त्यसमाथि आफ्नै छोरा गुमाएकोमा ठूलो पीडा भयो होला।

आँखा चिम्म गरेकै अवस्थामा मलाई नन्दप्रसाद अधिकारी र उनकी श्रीमतीको अनशन थाल्नुअघिको चित्र पनि आयो।नचाहेरै भए पनि त्यो चित्र मेरा आँखासामुन्ने नाच्यो। अन्य वखतमा पनि मलाई त्यो चित्रले सताउने गर्छ। आज झन् गढा रूपमा मेरो दिमागमा यो चित्र प्रस्तुत भयो। न्याय पाएरै छोड्ने आशाका साथ आफ्नो जिन्दगीको ठूलो हिस्सा दाउमा लगाएका थिए उनीहरूले।

आफ्नो छोराको हत्याका कारण कति ठूलो पीडा भएको थियो होला। त्यसमाथि न्यायको खोजिमा अनशन बस्दा पागलको आरोप सहनुपर्दा कति ठूलो पीडा भयो होला उनलाई। तैपनि न्यायको खोजिबाट डगमगिएनन्, प्रलोभनमा परेनन्। बरू सहर्ष मृत्यु स्वीकारे न्याय बाहेक केही स्वीकारेनन्।

न्यायको खोजीमा अनशन सँगै अनशन बसेका पति को निधनले गङ्गामायालाई कति पीडा भयो होला। एउटा बज्रपातको पीडाले गर्दा न्यायको खोजिमा अर्को बज्रपातको पीडा सहनुपर्दा उनलाई कति पीडा भइरहेको होला? आफ्नो छोराको हत्या, न्यायको खोजिमा पतिको निधन हुँदा पनि गङ्गामाया बाँचेकी छिन। कमजोर शरीर लिएर। उनको मनमा के कदापि यो सोच आउँदोहो, “बरू छोरा हत्याको अन्याय सहेरै बसेको भए आज पति गुम्ने थिएनन्”? “अँहँ, म आगो सहन्छु अन्याय सहन्न।”

प्रचण्ड महान् भौतिकवादी हुन्,उनलाई राम्रोसँग थाहा छ, यो क्षणभङ्गुर जीवन, भौतिक नियमका आधारमा चल्छ। कुनै रसायनिक प्रतिक्रियामा आउने परिवर्तनको झिनो धागोमा जीवन र निर्जीव पदार्थको सीमाना बाँधिएर रहेको छ। यो भौतिक शाश्वत् नियम स्वीकर्न उनले कसरत गर्नै पर्दैन, पहिल्यै गरिसके। महान् मार्क्सवादी भौतिक शास्त्र जान्दाजान्दै पनि उनलाई आफ्ना नजिककाको निधनले जुन पीडा दिन्छ त्यो म केही हदसम्म बुझ्न सक्छु। म आफैँ भौतिकवादी हुँ, तैपनि मेरी हजुरआमाको निधनको बेलामा मेरो दिमागमा भौतिकवाद अत्यन्तै सङ्कुचित हुन पुगेको थियो।

अब प्रचण्ड जत्तिको भौतिकवाद नबुझेकी गङ्गामायाले त आफुलाई सम्हालेकी छिन्, भने, प्रचण्डले यसलाई सम्हान्न सक्छन्। अन्यायपूर्ण हत्याको खोजी गरी न्याय पाउन अनशन बस्दा ज्यान गुमाएका नन्दप्रसाद अधिकारी जुन अवस्थामा पुगे त्यही अवस्थामा प्रचण्ड पुत्र प्रकाश पनि पुगे। प्रकाश प्रचण्ड पुत्र हुन् र उनको निधनले यति धेरै चर्चा पायो, अनेकौँ छविलाल पुत्रहरू, अनेकौँ पुष्पकमल पुत्रहरू आकाल मृत्युको शिकार भए। कतिलाई महान् सपनाहरू देखाइयो, कति खाडिमा डढे कति एम्बुसमा परे, कति गुडिरहेको बसभित्र जले। कति प्रशान्त्तहरू उताका शिकार बने, कति पल्पसाहरू आफ्ने भिडियो डायरी नसकिँदै, दृश्यलाई आफ्नो भाव राम्रोसँग व्यक्त गर्न नपाउँदै रात्रीबसमा जले। ती जहाँ पुगे आज प्रचण्ड पुत्र पनि त्यही पुगे।

प्रचण्डले खेपेको यो पहिलो बज्रपात होइन तर उनले खेपेका कयैन बज्रपात भन्दा यो धेरै पीडादायी भएको हुनसक्ला। आफ्नो नेतृत्वमा कयौँ मानिसहरू आफूखुसी वास्तविक मुक्तिको खोजिमा निधन हुँदा उनलाई धेरै पीडा भएकै हुनुपर्छ।

सम्पूर्ण दाहाल परिवारप्रति मेरो सहानुभुति छ। सन्तान गुमाएकी सीता दाहालप्रति मेरो विशेष साहनुभुति छ। मेरो अन्दाजमा उनले जुन पीडा अहिले खेपिरहेकी छिन्, त्यसको एक छेउ पनि मैले अहिलेसम्म खेप्नुपरेको छैन। उनिप्रति मेरो अन्तरहृदयदेखिको सहानुभुति छ।

यो भौतिक जीवन हो, मृत्यु अवश्यम्भावी छ। ऊ पनि प्रकाश म पनि प्रकाश, उसको पालो अहिले आयो बस्।