अन्तिम वर्ष र जाम

स्नातक तहको अन्तिम बर्षमा छु। अन्तिम बर्षको अन्तिम सेमेस्टरमा गर्नुपर्ने प्रोजेक्ट सक्न थोरै मात्र समय बाँकी छ। कलेजका कक्षाहरू सकाएपछि प्रोजेक्टमा ध्यान दिन हतार गर्दै बस पर्खन्छु, करिब दश मिनेटको प्रतीक्षापछि बस आइपुग्छ, बसमा मानिसहरू टनाटन छन् ल्यापटप त्यसको चार्जार केही कापि किताव र प्रोजेक्टका समाले झोला अत्यन्त ठूलो गह्रौँ छ। बल्लतल्ल बसको ढोकामा पाइला राख्छु। बहिरबाट 'खलासी' कराउँछन्, अलि भित्र जानुस् न दाइ । सकस छ, सानो कदको मानिस भएकाले भिडमा अत्यन्त सकस महसुष हुन्छ, आफ्नो नाक ठ्याक्कै छेवैका अग्ला कदका दुइ यात्रुको काखिसम्म पुग्छ, गन्हाउँछ, पछाडि फर्कने ठाउँ छैन, बाहिरबाट निर्देशन चर्को स्वरमा आउँदै छ, 'अलि भित्र जानुस् न भन्या'।

झोलाको थिचाइले अत्यन्त सकस भएको छ। ढोकाबाट ठेलिँदै बल्ल तल्ल दुई कदम पछाडिको सिटछेउ सम्म पुग्छु। स‌ंयोगवस एक महिला यात्रु झर्छिन्। छेउमा कुन‍ै उभिएका महिला यात्रु छैनन्। लामो खुई काढेर बस्ने चेष्टा गर्छु, फेरी 'खलासी' कराउँछन्, "त्यो महिला सिट हो त्यसमा बस्न मिल्दैन" "महिला आएपछि छोड्दिउँला नि त" "अँहँ मिल्दैन ट्राफिकले देख्यो भने समात्छ"

मैले बुझेको आरक्षण भनेको महिला भए छोड्नुपर्ने थियो तर त्यहाँ बुझाइए अनुसार त्यसमा कुनै हालतमा पुरूष बस्न मिल्दैन, महिला भए पनि नभए पनि।

एकैछिनमा नयाँ महिला यात्रु आइन्, बसिन्।

"जाम पनि आज कत्ति भएको हो?"

थापाथली चोकबाट करिब १० मिनेटको रोकाइ र घस्राइकाबीच माइतिघरनिर बस पुग्छ, मानिसहरूको भीडबाट बसको झ्यालबाहिर पर धेरैवटा झन्डाको लस्कार देख्छु, बङ्गलादेशको राष्ट्रिय झण्डाजस्तो देख्छु, ब्यानरमा यसो देख्छु, स्पष्ट छैन अन्तिमका दुई अक्षर देखिन्छ, 'वान', "के 'वान' हो कुन्नि" अनगिन्ति 'वान' छन्

"कसको झन्डा रहेछ त्यो?" "ए हे जुलुस पो रैछ" करिब दुई तीन दर्जन मानिस होलान् अनि त्यसको दोब्बर सङ्ख्यामा प्रहरी त्यसको अघिपछि सशस्त्र प्रहरी होलान् "APF" देख्छु, सङ्ख्या एकिन भएन। "हाम्रो आन्दोलन जारी छ" "आन्दोलनकारीविरुद्धको दमन बन्द गर" "हाम्रो माग पुरा गर"

माइका एउटी महिलाको स्वर सुनिन्छ, त्यसको पछिपछि सुनिन्छ "'जारी छ जारी छ''बन्द गर बन्द गर' 'पुरा गर पुरा गर'"

"होइन माग चाहिँ के रहेछ?" गाँइँगुँइँ सुनिन्छ, फेरी त्यही रितमा त्यही लवजमा, त्यही चक्र सुरू हुन्छ, "हाम्रो माग पुरा गर"

६ लेनको बाटो हो त्यसको बीचका ४ लेन आन्दोलनकारीले आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गरेर आफना माग राख्दै छन् 'हाम्रो माग पुरा गर'। 'धर्म निरपेक्षता कायम गर', ए त्यो पो रहेछ माग।

त्यसै त जाम हुने ठाउँ बानेश्वर, त्यसमाथि एकातर्फी तीन मध्ये १ लेनमा सीमित छन् सवारी साधनहरू। लगभग आन्दोलनकारीकै हिँडाइको गतिमा बानेश्वर आइपुगियो। बुद्धनगर भन्दा अलि अगाडि पुलिसले रोक्न खोज्छ, तर सकेसम्म आन्दोलनकारीहरू अघि बढ्न खोज्छन्, एक दुई मिटरपछि चाहिँ पुलिसले ठ्याक्कै रोकिदिन्छ।

"अब त जाम सकिएला!"

अलि अगाडि फेरी अर्को माइकिङ्ग सुनिन थाल्छ। "अर्को आन्दोलन रहेछ।"

"हिन्दु राष्ट्र कायम गर," "कायम गर कायम गर"

त्यसको छेवैको भित्तामा अर्को ठूलो ब्यानार छ, 'सम्पूर्ण आदिवासी जनजाति मधेषी ख्रिष्टियन समुदायको माग पुरा गराउन अनिश्चितकालीन धर्ना'। बस्न पाए पनि अलि सजिलो हुन्थ्यो, केही मान्छे गाडिबाट उत्रिन्छन्, बल्ल सास छैवैको सिट खाली होला जस्तो लाग्यो, त्यसका यात्रु उठे,लामो सास फेर्छु, फेक्सोको हावा बाहिर फ्याँकी नसक्दै नजिकैकी महिलालेले पहिल्यै झोला राख्छिन्, मेरो पालो आउँदैन, यसो सिटभन्दा माथि हेर्छु महिला सिट पो हो कि क्या हो । होइन रहेछ, पुरुष सिट पनि त होइन रहेछ।

बानेश्वर चोकमा अलि धेरै नै जाम हुन्छ, बाहिर हल्लखल्ला सुन्छु, टाउकोमा पँहेलो 'रामनामी' बाँधेका युवाहरू दौडिँदै छन् "ओइ को हो त्यो" पुलिसहरू चनाखा हुन्छन् "त्यसरी आवेशमा अएर भएन नि भाइ," पुलिसले पँहेलो पट्टिधारीलाई शान्त पार्ने कोशीस गरे।

अर्को समुहको आन्दोलनकारी भित्र छिर्न खोजोक‍े रहेछ, झण्डा सहित।

बल्ल जाम खुल्यो, बानेश्वर चोकबाट गाडी अलिकति बढ्नेवितिक्कै मीनभवन नेर फेरी अर्को माइकिङ्ग सुन्छु। यसपटक महिला र अधबैँसेको बाहुल्य देख्छु सबैजसोले गेरू वश्त्र भिरेको छन्। जनै लगाएका लामो कपाल पालेका र धोती लगएका एक अधबैँशे पुरुष जसको निधारमा लामो रातो टीका छ, उनी प्रवचन दिँदै छन्। सडकको भुईँ भिजेको छ।

छैवैमा प्रहरीको ट्याङ्क छ, सबैजसो भिजेका देखिएकाले प्रहरीले पानीको फोहोरा हानेको अनुमान लाउँछु।

"झन् आज छिटो घर पुगेर प्रोजेक्टको काम गर्छु भनेको दुई घण्टा त यहीँ बितिसक्यो।" बल्लतल्ल गाडी अगाडि सरेर तीनकुने पुल कट्छ, अब चाहिँ गाडि हुईँकिन्छ, १ लेनबाट अएका सवरीहरू ४ लेनको स्वतन्त्रता पाउँदै छन्।