प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सम्बोधन - डा. बाबुराम भट्टराई

म आज आफ्नो जीवनको अत्यन्त खुसीको क्षण मध्ये एउटा मान्दैछु। किनकि मान्छे जन्मेपछि जब आँखा खोल्छ र संसारलाई बुझ्छ, जगत के हो, दुनियाँ के हो, म किन जन्मेँ, मैले के गर्नुपर्ने हो भन्ने प्रश्न गर्न थाल्छ, त्यसपछिदेखि नै उसले समाजलाई बदल्ने, रूपान्तरण गर्ने, अझ उन्नत बनाएर जाने, आफू जन्मेको कालखण्डभन्दा मर्ने बेलासम्म यो समाज, मानव जाति, प्राणीजगत उन्नत होस् भन्ने आकांक्षा राख्दछ। म पनि त्यही मध्येको एउटा प्राणी हुँ। त्यसैको निम्ति सात दशक उमेर पार गर्दा पाँच दशकको सक्रिय राजनीतिमा थुप्रै उकाली-ओराली चढ्दै यहाँसम्म म आइपुगेको छु। र अहिले खासगरी जेन्जीका युवा साथीहरू को जुन मैले कुराहरू सुन्ने अवसर प्राप्त गरें, त्यसले मेरो हौसलालाई अझै बढाएको छ। उमेरले बुढो भए पनि विचारले, जोसले, जाँगरले आफैँ युवा भएको मैले अनुभूत गरेको छु। त्यस अर्थमा, त्यस अर्थमा विशेष त युवा साथीहरू, जेन्जी साथीहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु, शुभकामना दिन चाहन्छु। र यो प्रगतिशील लोकतान्त्रिक पार्टी जो आज हामीले स्थापना गरेका छौँ, यसको म पूर्ण सफलता, उत्तरोत्तर प्रगतिको कामना गर्दछु। र तपाईंहरूले मलाई एउटा अभिभावकको रूपमा जुन यहाँ प्रस्तुत गर्नुभएको छ, त्यसको हैसियतले अभिभावकले के गर्नुपर्छ, तपाईंलाई थाहा नै छ। अभिभावकले आफैँ सक्रिय कार्यकारिणी भूमिका निर्वाह गर्दैन। जसले काम गर्नुपर्ने हो, तिनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ। आफ्नो कुरा राख्नुपर्छ। लागू भएन भने पनि उनीहरूले जे गर्छन्, उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ। तर आफ्नो कुरा चाहिँ फेरि भनिराख्नुपर्छ। म त्यही प्रतिज्ञा तपाईंहरूसँग व्यक्त गर्न चाहन्छु।

र अब म धेरै समय छैन, हामी चार बज्न लागिसक्यो, तीन घण्टा बढिसक्यो। अब आजकल त तपाईंहरू साथीहरूले भन्नुहुन्छ, हाम्रो एटेन्सन स्पान, म त ३० सेकेन्ड भनेको सुनेको थिएँ, अस्ति कसले त ३ सेकेन्ड भन्नुहुन्थ्यो। अब त्यसोभन्दा हाम्रो तीन घण्टा भइसक्यो भने अब त एटेन्सन स्पान त रहँदैन। त्यसैले मैले तपाईंहरूलाई दिक्क पार्ने कुरा गर्नुभन्दा पनि म सीधै के मा प्रवेश गर्छु भने यो जुन जेन्जी विद्रोह भयो, गत सेप्टेम्बर ८-९, भदौ २३-२४, त्यसलाई मैले त्यतिबेलै नै, सायद म मात्रै एउटा पूर्व प्रधानमन्त्री थिएँ जो आफ्नै गाउँले बसेको थिएँ, जसको हातमा मोबाइल थियो, अरूको हातमा के थियो भनेर आफैँ भनिसक्नुभएको छ। र त्यतिबेला पनि मैले आफूलाई लागेका कुरा मैले तपाईंहरूलाई सम्प्रेषण गरिराखेको थिएँ। त्यो कुरा म दोहोर्‍याउन चाहन्नँ। म खाली स्मरण मात्र के गराउन चाहन्छु भने, इतिहास भनेको चरणबद्ध ढंगले नै त्यो अगाडि बढ्छ। पुस्ता, जसरी हामी मान्छेको उमेरको पुस्ता हुन्छ, त्यस्तै इतिहासको, समाजको पनि पुस्ता हुन्छ। त्यो चरण हुँदै त्यो अगाडि बढ्छ। त्यसैलाई अहिलेका चाहिँ नि युरोपियन इलाइटेनमेन्ट भनिन्छ, प्रबोधन युग, त्यतिबेलाका दार्शनिकहरूले परिभाषित गरेका थिए। र त्यसैले समाज निरन्तर गतिशील छ, परिवर्तनशील छ र उन्नत चेतना भएको मान्छेले त्यो परिवर्तनको प्रवाहलाई अझ तीव्र पार्न भूमिका निर्वाह गर्नुपर्छ भन्ने विभिन्न विचारहरू संश्लेषित हुँदै आए। त्यसैलाई हामीले दर्शन विचार भन्न चाहिँ गर्छौं। अघि मित्र राम कार्कीले नि भन्नुभयो, विचारविहीनता भन्ने नै हुँदैन। जबसम्म हाम्रो मानव मस्तिष्क रहन्छ, सोच्ने क्षमता रहन्छ, वा अब त एआई पनि आयो, तर एआईले कपि गरेको हाम्रो यति दिमाग लाग्यो फेरि। त्यसै भएको हुनाले जब त्योसम्म रहन्छ, त्यतिबेलासम्म त्यसले यो समाजका विकासका, परिवर्तनका गतिलाई परिभाषित गरिराख्छ, नयाँ-नयाँ आविष्कार गरिराख्छ, ती प्रत्येक नयाँ आविष्कारको प्रक्षेपण गर्छ र आगामी संसारको दिशा के हुन्छ भनेर त्यो निर्माणमा ऊ उद्यत हुन्छ। त्यसैलाई हामीले विचार दर्शन भन्छौँ।

र यो जेन्जी जुन विद्रोह भएको छ, नेपालको जुन लोकतान्त्रीकरणको जुन एउटा प्रक्रिया थियो, जुन २००७ साल आसपासबाट सुरु भएर हाम्रो पुस्ता, बीपी र कृष्णप्रसादको पुस्ता हुँदै हाम्रो पुस्तासम्मले २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने बेलासम्म एउटा अध्याय, एउटा च्याप्टर इतिहासको त्यो लोकतान्त्रीकरणको औपचारिक ढंगले जनताले आफ्नै चुनिएका प्रतिनिधिमार्फत आफ्नै संविधान लेखेर जारी गर्ने काम त्यो पूरा भएकै हो। तर त्यसमा केही अपूर्णता थिए, त्यसैले मैले त्यतिबेलैदेखि यो संविधान आधा गिलास भरि छ, आधा खाली छ, यसका केही अपूर्णता छन्, तर त्यो आधा गिलासलाई जोगाउँदै आधा गिलास भर्नेतिर जानुपर्छ, त्यसो गर्नको निम्ति पुरानो प्रकारको राजनीति, पुरानो प्रकारको पार्टी र नेतृत्वले हुँदैन, नयाँ चाहिन्छ भनेर ७२ साल असोज ९ गते मैले आफैँले निर्माण गरेको यी साथीहरूसँग सँगै काम गरेर हामीले त्यहाँसम्म पुर्‍याएको पार्टी अब यसको इतिहास पूरा भयो। त्यसलाई खराब मैले कहिल्यै भनेको छैन। धेरै माओवादी पृष्ठभूमिमाका साथीहरूले हुन्छ, दाइले छोडेर जानुभयो भने, छोडेर गएको होइन, माओवादी आन्दोलनले आफ्नो कार्यभार पूरा गर्‍यो। सात सालमा सुरु भएको जुन क्रान्ति र परिवर्तनको कुरा थियो, त्यसलाई ४६ सालमा अलिकति अगाडि बढाइयो, त्यो अपूर्ण थियो, त्यसलाई अझ पूर्णता दिनुपर्छ भनेर धक्का मुलक ढंगले माओवादी जनयुद्ध र ६२/६३ को आन्दोलनले एउटा उचाइमा पुर्‍याएर हामीले ७२ सालमा त्यसलाई पूरा गर्‍या हो। सापेक्षिक ढंगले पूरा गर्‍या हो। र माओवादी आन्दोलन त्यो पूरा गर्ने एउटा अन्तिम कडी थियो त्यो।

हो, त्यो सँगसँगै नेपालमा पनि परिवर्तन आयो, विश्वमा पनि त परिवर्तन आयो। अहिले जुन जेन्जी तपाईंहरूलाई भन्ने गरिन्छ, त्यो जेन्जी भनेको त १९९७ देखि १९१२ सम्म जन्मेको पुस्तालाई भनेको। त्यो भनेको त्यो कालखण्ड हिसाब गर्नुस् त, त्यो बेलामा के परिवर्तन आयो? अहिले जे दिनचर्या तपाईंको बनेको छ, इन्टरनेट प्रविधिदेखि लिएर यो सोसियल मिडिया हुँदै एआई सम्म, मैले बुझेसम्मको एआईको ब्रेक थ्रु भएको २०१२ मा हो। पहिलेदेखि नै थियो कुरा त चलेको। तर सबभन्दा ठूलो क्रान्ति, मानव इतिहासकै सबभन्दा ठूलो प्राविधिक क्षेत्रको क्रान्ति, मान्छेको चेतना, सूचना-सञ्चारको क्रान्ति भएको यही कालखण्डमा हो। त्यसो भएको हुनाले, अनि अब हामीले हिजोकै त्यही विचार, हिजोकै कांग्रेसले बोकेको एउटा उदारवादी पुँजीवादी विचार अथवा कम्युनिष्टहरूले बोकेको सबै राज्यले नियन्त्रण गर्नुपर्छ भन्ने नियन्त्रणवादी, एकाधिकारवादी विचार, त्यो बोकेर अहिलेको युगको काम पूरा हुन सक्थ्यो? सक्दैनथ्यो। त्यसैले नयाँ विचार सहितको नयाँ विकल्प चाहिन्छ भनेर नै हामीले विभिन्न अभियानहरू सुरु गर्‍यौँ। तर बुझ्न त समय त लिन्छ त्यसले। त्यसले ढिलो भइराखेको थियो। र तिनै पुराना शक्तिहरू, किन हाम्रो समाजको धरातल त धेरै न्यून छ। तपाईंहरूलाई थाहा छ हाम्रो अहिले पनि विश्वको आर्थिक स्तरमा हेर्‍यौँ भने विश्वको औसतभन्दा दश गुणा हामी तल छौँ। किनकि मान्छेको आर्थिक स्तरले नै मान्छेको सामाजिक स्तर निर्धारण गर्छ र त्यसले चाहिँ सांस्कृतिक स्तर निर्धारण गर्छ, त्यसैले उसको चेतनाको स्तर निर्धारण गर्ने हो। त्यसैले जब विश्वको औसतभन्दा दश गुणा तल भएको समाज छ भने, त्यसले अहिलेको जेन्जी पुस्ताले भनेको जुन विचार हो, सोचेको विचार हो, त्यो पूरा हुन सक्थ्यो? कि पुरानै दलहरूबाट, तिनै नेताबाट हुन सक्थ्यो? सक्दैनथ्यो। त्यसै भनेर त्यो हुन सकेन र त्यो जुन गुम्सिएर बसेको थियो अन्तरविरोध, त्यही नै भदौ २३ र २४ गते विस्फोट भएको हो।

हो, त्यो विस्फोटपछि म किन खुसी छु भने, अब बल्ल, अब दुनियाँले बुझ्ने गरी, दुनियाँले बुझ्ने गरी पुरानो ढंगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो। त्यसैले अब पार्टी र दल मात्रै म भन्दिनँ, अब राजनीतिको पुनर्संरचना खोजिएको हो। यहाँ साथीहरूले जुन कुरा राख्नुभएको छ, राजनीतिको पुनर्संरचना खोजि यहाँ भइराखेको छ। त्यसो नगरेसम्म विश्वसँग जोडिएर हामी जान सक्दैनौँ र अहिलेको नेपालको र अहिलेको जेन्जी पुस्ताले जे अपेक्षा गरेको छ, त्यो पूरा गर्न सकिँदैन। त्यसैले अहिले जुन प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ, यो पार्टी भनेको जेन्जी आन्दोलनको उपज हो र जेन्जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ। यदि यो कुरा बुझिएन, यदि यो कुरा बुझिएन र मैले आफ्नो बखान गर्न थालें, अर्कोले अर्को बखान गर्नेतिर गर्न थाल्यौँ भने हुँदैन। यो हाम्रो एजेन्डा, अबको यो पार्टीको एजेन्डा भनेको जेन्जी पुस्ताको चेतनासँग, त्यसको आवश्यकतासँग, यो युगसँग जोडिएका कुराको मागहरू पूर्ति गर्ने यसले सक्छ कि सक्दैन?

त्यो हिजोका छोड्नुस्, कांग्रेस-कम्युनिष्ट यहाँ ठट्टा पनि भयो, एउटा साथीले लाल सलाम भन्नुभयो, अर्कोले अर्को के भन्नुभयो, केही समयमा लाल सलाम, जय नेपाल, यो सबै भन्दै जाउँला, तर पछि चाहिँ गएर सुरुमा त गंगा, जमुना, सरस्वती मिसिएपछि त एउटा रंग मिसिए हुन्छ नि सुरुमा, तर पछि गएपछि त गंगा एउटै बन्छ, गंगाको रंग अर्कै हुन्छ। त्यसैले अहिले केही दिनसम्म गंगा-जमुनाका हाम्रा अलग-अलग धार रहन्छन्। अलि पर पुगेपछि गंगा बन्छ, त्यो गंगा पनि गएर समुन्द्रमा मिसिएपछि हाम्रो रूप, रंग अर्कै हुन्छ। त्यसैले त्यसमा चिन्ता नगरौँ। तर केही समय चाहिँ हाम्रो यस्ता अलि-अलि अलग-अलग रंगढंग, अलग-अलग भाषाशैली, अलिकति जोड-घटाउ रहन्छ। त्यसलाई अन्यथा मान्नु हुँदैन। र मेरो विशेष संकेत चाहिँ यो जेन्जी पुस्ताका साथीहरूसँग हो। उहाँहरूसँग म मसँग धेरै अन्तरक्रिया गर्ने मैले अवसर पाएको छु। थुप्रै साथीहरूसँग भेटघाट मैले गरेको छु। त्यसैले उहाँहरू सशंकित हुनुहुन्छ, पुरानो पुस्ताका साथीहरूले सोध्नुहोला। उहाँहरू किन, उहाँहरूले किन जिग्ज्याग गर्छन् भनेर हाम्रो केही साथीहरू जोडिनुभएको छ, म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु, आँट गर्नुभएको छ। तर उहाँहरूको मनमा संशय छ, ठूलो संशय छ। म तपाईंलाई भन्दिनैपर्छ मैले यहाँ। तर यो के हो कि हामी त यत्रो आँट गरेर आयौँ, तर यी पुरानै स्कुलमा हुर्केका मान्छेहरू, पुराना पार्टी र सोच र प्रवृद्धिसँग आएका मानिसहरू, यी बदलिने हुन् कि होइनन्? यिनीहरूसँग काम गर्न सकिन्छ कि सकिँदैन? हामीले भने जस्तो पार्टी बन्छ कि बन्दैन? भन्ने उहाँहरूको ठूलो प्रश्न छ। र मैले उहाँहरूलाई बचन दिएको छु, तपाईंहरू आउनुहोस्, लड्ने हो त्यसको निम्ति। म आफैँ पनि कम्युनिष्ट पार्टीमा लाग्दा ३७ सालमा मैले कम्युनिष्ट पार्टी प्रवेश गर्दा, त्यतिबेलादेखि नै स्टालिनको प्रवृत्तिको जुन जगजगी थियो, स्टालिनको तरिकाले अब विश्वमा कम्युनिष्ट पार्टीहरू रहँदैनन्, विश्वमा कम्युनिष्ट पार्टीहरूको अस्तित्व रहँदैन, यति केन्द्रित, यति एकमनवादी, यति जड छ, त्यसले न कार्यकर्तालाई चेतनशील बन्न दिन्छ, न त्यसले चाहिँ ज्यान गए कुर्सीमै त्यो मर्छ, त्यो कहिल्यै छोड्दैन भन्ने प्रश्न मैले त्यतिबेलै राखेको थिएँ। र यो ट्रस्किवाद, रानीवाद, बुझ्नुभएन? म भर्खर २२-२३ वर्षको फुच्चेलाई ठूला-ठूला नेताहरूले हेर्नुभा’छ।

त्यसैले मैले तपाईंलाई के भन्न खोजेको हो भने, तपाईंहरू यहीँ आएर संगठित भएरै लड्ने हो। यो तपाईंको अधिकार हो, तपाईंले पाउनुहुन्छ। त्यसरी मात्रै बदलिन्छ। र दर्शनको, भौतिक जगतको पनि, सामाजिक जगतको पनि नियम के हो भने, कुनै पनि तत्व विपरीत तत्वले नै वस्तु बनेको हुन्छ। भौतिक जगतमा पनि त्यही हो, सामाजिकमा पनि विपरीत प्रवृत्ति बनेको त्यो बनेको हुन्छ, तिनीहरूको बीचमा टक्कर चल्छ। त्यो टक्करले फेरि नयाँ चिज जन्म दिन्छ भन्ने हो। युनिटी, स्ट्रगल, ट्रान्सफर्मेसन अंग्रेजीमा, एकता, संघर्ष, रूपान्तरण। यही नै नियम चाहिँ यही हो। चाहे त्यसलाई मार्क्सको रूपमा जुन्नुस्, चाहे त्योभन्दा अझ अगाडि नै यो सिद्धान्त पत्ता लगाउँदा इमानुयल कान्टहरूले पनि हो। उनीहरूले यो प्रगतिवाद भन्ने शब्द सबभन्दा पहिले त उनीहरूले प्रयोग गरेका हुन्। ऊ अलि अज्ञेयवादी खालका दार्शनिक थिए। त्यसो भएको हुनाले हामीले यो प्रगतिशील लोकतन्त्र किन राखेको हो भने, कुनै पनि चिज स्थिर छैन, त्यो निरन्तर गतिमा हुन्छ। त्यसैले प्रगतिशील शब्दले चाहिँ आजभन्दा भोलि राम्रो, उन्नत, पर्सि भोलिभन्दा पर्सि, पर्सिभन्दा निपर्सि हुन्छ। समाज, जगत, हामी पनि हुनुपर्छ। र हाम्रो विचार, हाम्रो सोच, शैली, आचरण, यो पार्टी पनि प्रत्येक दिन नवीकरण हुँदै जानुपर्छ भन्ने अर्थमा यो प्रगतिशील प्रयोग, प्रोग्रेसिभिजम भन्ने दार्शनिक त्यो हेर्नुहोला, इन्टरनेटमा पनि पाइन्छ, हेर्नुहोला। त्यसको परिभाषा इलाइटेनमेन्टदेखि जोडिएको छ, त्यतिबेलैदेखि प्रयोग भएको शब्द हो। र डेमोक्रेसी त जनताको हो। जतिबेला अटोक्रेसी, मोनार्की अरूको अन्त्य भयो र आधुनिक औद्योगिक युगसँगसँगै आधुनिक लोकतन्त्रको अवधारणा आयो, डेमोक्रेसीको अवधारणा आयो। त्यसपछि पनि त्यो लोकतन्त्र त विकसित हुँदै नै आएको छ।

पहिले त ठूलाबडा, धनीले मात्रै भोट हाल्ने भन्ने थियो, पुरुषले मात्रै भोट हाल्ने भन्ने थियो, हैन? यस्तो पनि त लोकतन्त्रै थियो नि। पछि हुँदै हुँदै अहिले आएर हामी कहाँ पुग्या छौँ? यो इन्क्लुसिभ र पार्टिसिपेटरी डेमोक्रेसी हुनुपर्छ भन्ने पुग्यौँ नि त। अब त सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदाय सबैको सहभागिता हुनुपर्छ, सबैको बराबर स्थान हुनुपर्छ भन्ने कुरा। र अब रिप्रेजेन्टेटिभ डेमोक्रेसी, प्रतिनिधिले प्रतिनिधि चुन्ने र नेता छान्ने होइन, डाइरेक्ट सदस्यले, जनताले डाइरेक्ट आफ्नो नेता छान्छ। र पार्टीभित्र पनि सदस्यले आफ्नो चाहिँ नेता चाहिँ साधारण सदस्यले छान्छ भन्ने अहिलेको पछिल्लो विकास भनेको त्यो हो। र आगामी दिनमा यो उसको चाहिँ प्रगतिशीलका एजेन्डाहरू त पनि र डेमोक्रेसीका एजेन्डा पनि अगाडि बढेर जान्छ। त्यसैले यो प्रगतिशील लोकतान्त्रिक पार्टी भनेको यो नयाँ जेन्जी पुस्तासँग जोडिएको पार्टी हो। यसको इच्छा, आकांक्षा, सोचसँग जोडिएको पार्टी हो। त्यसैले युवा, जेन्जी साथीहरू निर्धक्क भएर तपाईंहरू आउनुपर्छ। र तपाईंहरूले यो पार्टी हाँक्नुभएन, चलाउनुभएन भने, म अन्यथा नमान्नुस् साथीहरूले, पार्टी बन्न गाह्रो छ। फेरि यो पनि बिस्तारै पुरानै पार्टीभित्र परिणत हुने, चुनाव आउँछ अनि त्यतिबेला फेरि भागबण्डा, कहाँबाट चाहिँ सिट पाइन्छ, कोसँग मिल्दाखेरि चाहिँ कस्तो ढोका चाहर्दाखेरि चाहिँ टिकट पाउँछु भन्ने प्रवृत्ति त्यहाँ हुन्छ। अनि ५०, १००, २०० सिट जित्यो अनि त्यसपछि फेरि मन्त्री को हुने भन्नेतिर चाहिँ जाने त्यतातिर जान्छ। त्यसको केही अर्थ छैन। त्यसो हो भने त करिब १५० पार्टी दर्ता भएका छन्, ५० भन्दा बढी चुनावलाई दर्ता भएको छ भन्ने सुन्छु। फेरि अर्को एउटा दोकान थाप्ने जरुरत छैन। तर मेरो विश्वास र मेरो आग्रह चाहिँ के हो भने, यो चाहिँ १५० मध्येको एउटा पार्टी होइन।

हिजोको एउटा उदारवादी लोकतन्त्रमा आधारित पुँजीवादी धार पक्रेने कांग्रेसको धार र त्यसैका वरिपरिका अरू धारहरू, जसलाई अहिलेको राइट अफ सेन्टर भनिन्छ, मध्य दक्षिण शक्तिहरू जुन भनिन्छ, अहिले नयाँ उदय भएकाहरूले आफूलाई मध्य दक्षिण भन्नुहुन्छ, त्यो एउटा धार। अर्को राज्यले सबैथोक अहिले समाजवाद ल्याउनुपर्छ, अहिले सबैलाई बाँड्नुपर्छ, अहिले सबैले स्वर्ग बनाइदिनुपर्छ भन्ने, तर व्यवहारमा त त्यो छैन। तपाईंले भाँडोमा, घरभित्र प्रशस्त मात्रामा पकाउनुभएकै छैन, अनि सबैलाई बराबर बाँड्छु भन्छु त सबै भोकै पर्ने कुरा न हुन्छ। पहिले त प्रशस्त मात्रामा पकाउनुपर्‍यो नि त तपाईंले, त्यो क्षमता हुनुपर्‍यो नि त तपाईंको, अनि पो बाँड्ने हो। भने अर्कोतिर आफूलाई कम्युनिष्ट, समाजवादको नाउँमा सबैलाई तुरुन्तै बराबर गर्दिन्छु भन्ने अनि सम्भव हुँदैन, आफूचाहिँ चोरीचोरी ठूलो भा’आफ्नो खाने, अनि अरूलाई चाहिँ पुगेन भनेर भन्ने जुन एउटा प्रवृत्ति छ, ठग प्रवृत्ति, त्यो कम्युनिष्ट प्रवृत्ति पनि टिक्दैन। हो, त्यसको विकल्पमा, त्यसको विकल्पमा यो धार हो।

यो चाहिँ अबको विदेशी धारमा तेस्रो भन्दा त्यो दार्शनिक रूपले अलि मिल्दैन, त्यो चाहिँ ठीक र बेठीक नै दुई धार हुन्छ। ठीक र बेठीकको मिश्रित मध्यममार्गी भन्ने एउटा अवसरवादी सारसंग्रहवादी धार हुन्छ। र मैले भन्न खोजेको चाहिँ त्योभन्दा अगाडि बढेको भनेको के हो भनेदेखि, अब व्याख्यामा नजाऊँ, तपाईंले चाहिँ इन्टरनेटबाट हेरेर, उसबाट हेरेर हेर्न सक्नुहुन्छ। एउटा त व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने। यो जुन समाजको चालक शक्ति के हो? भन्ने चाहिँ व्यक्तिको जुन निजी इच्छा, आकांक्षा, स्वार्थ हुन्छ, त्यो नै मुख्य हो, त्यसलाई छोडिदिएपछि त्यसले विकास ल्याउँछ। सामाजिक, आर्थिक, सामाजिक आदि सबै भन्ने एउटा उदारवादी दार्शनिक धार हो एउटा, राजनीतिक धार हो, जसलाई कांग्रेस र अहिले आफूलाई मध्य दक्षिण भन्ने त्यो नयाँ बनेर आएको शक्तिहरू छन्, तिनको धार त्यो हो। अर्को भनेको मान्छे त्यति मात्रै होइन, मान्छेको निजी स्वतन्त्रता, निजत्व भन्ने पनि हुन्छ। तर सँगसँगै मान्छे जन्मदेखि सामाजिक प्राणी हो। बाबु र आमा भएर नै सन्तान जन्मन्छ। अनि त्यसपछि त त्यो सातमा, आठ महिना, नौ महिनामा जन्मेको बच्चालाई आमाले चाहिँ दुध नखुवाउने हो भने र बाउले चाहिँ साथ नदिने हो भने, त्यो बच्चा त हुर्किदै हुर्किदैन। त्यसैले त हामी त परिवार, समाज, राज्य आदि गरेर हामी सामाजिक हौँ फेरि। प्रत्येक मान्छे समाजमा मात्रै बन्छ। यस अर्थमा मान्छेको निजत्व पनि हुन्छ, सामाजिकता पनि हुन्छ। त्यसैले कम्युनिष्टहरूले चाहिँ वर्गको नाउँमा चाहिँ अरू कुरा, निजत्वलाई छोडिदिने, अरू पहिचान छोडिदिने गरे र त्यो दुर्घटनामा पुगे। कांग्रेस र दक्षिणपन्थी भन्ने शक्तिहरूले चाहिँ व्यक्तिको निजी स्वतन्त्रता र उसको चाहिँ निजी स्वार्थ हो, त्यही प्रधानत्व भन्दा भन्दै त उनीहरूले त बहुसंख्यक जनतालाई गरिब बनाउने, असमान बनाउने, विभेद गर्ने गरेर जुन संकटमा परे, त्यो पनि दीगो छैन।

अब हामीले अगाडि सार्न खोजेको विचार भनेको चाहिँ व्यक्तिको निजत्व र उसको सामाजिकता, सामूहिकता यी दुईटैको ठीक सन्तुलन मिलाएर अगाडि बढ्ने विचार, दर्शन, यो विचार दर्शनको हकमा त्यो र त्यही अनुसारको हाम्रो अर्थनीति पनि त्यही ढंगको, निजी क्षेत्रलाई पनि र राज्य क्षेत्रको पनि, समुदायको क्षेत्रको पनि भूमिका हुने कुरा र सामाजिक हिसाबले पनि हामीले वर्ग, व्यक्ति मात्रै होइन, जाति, क्षेत्र, लिंग, समुदाय, यिनीहरूको पनि अधिकारको कुरा गर्ने भनेर यस अर्थमा हामीले चाहिँ त्यो विकसित विचार निर्माण गर्न खोजेको हो। प्रगति, त्यस निम्ति हामीले समाजवाद भन्ने शब्द प्रयोग गर्‍यौँ। हुन त सायद यहाँ अहिले गर्नुभयो, यसको छुट्टै बहस गरौँला, अहिले यहाँ भ्याइँदैन। राम्रो शब्द त अब पुँजीवादपछि त समाजवाद भन्ने नै हो। तर हाम्रा कम्युनिष्ट भन्ने साथीहरू, जो ‘कमाउनिष्ट’ हुनुभएको छ, भन्न कम्युनिष्ट भन्नुहुन्छ, उहाँहरूले फेरि समाजवाद भन्दियो भने त्यो चोरी, नक्कली गरेर यति सिपालु, म आफैँको त भौचका बाबा, नभन्नुस् तपाईंहरू भनेर समाजवाद भन्न थालियो, अनि उहाँहरूले के गर्नुभयो, त्यो नेकपाको भित्र त राखेर फेरि समाजवादी भन्न थाल्नुभयो। अनि मान्छेले त्यो कम्युनिष्ट र समाजवाद भनेको फरक भन्ने नि उहाँ जनतालाई बुझ्न गाह्रो भयो।

त्यसो भएर अहिले हामीले पार्टीको नाममा समाजवाद भन्नुभन्दा नि गुदी तत्व भनेको चाहिँ प्रगतिशीलता हो, निरन्तर गति र परिवर्तनमा हो। र लोकतन्त्र हो। लोकतन्त्र भनेको अघि रामले पनि भन्नुभयो, मैले नि भनेँ, लोकतन्त्र भनेको निरन्तर विकसित हुँदै जाने चाहिँ कुरा हो, उन्नत ढंगले हुँदै जाने कुरा हो। त्यसैले प्रगतिशीलता कन्टेन्टमा, गुदीमा प्रगतिशीलता, एजेन्डा चाहिँ राजनीतिमा, अर्थनीतिमा, विचारमा, संस्कृतिमा, संस्कारमा, शैलीमा, त्यो चाहिँ प्रगतिशील हुनुपर्‍यो र त्यसको रूप पक्ष, सार पक्ष त्यो हुनुपर्‍यो, रूप पक्ष चाहिँ डेमोक्र्याटिक हुनुपर्‍यो। प्रत्यक्ष जनताबाट निर्वाचित हुने, खुलापन हुने, लगायतका जुन आधुनिक लोकतन्त्रका मान्यताहरू छन्, त्यसलाई विकसित गरेर जानुपर्छ भन्ने अर्थमा हामीले प्रगतिशील लोकतन्त्र भनिएको हो। त्यसैले यो एकदम लचिलो शब्द छ, तर यसको गहिराइ धेरै छ। यसलाई नै बुझेर हामीले त्यो नयाँ धार हामीले विकसित विकास गर्नुपर्छ र विश्वमा नि यो विषयको चाहिँ बहस चाहिँ छ। त्यसै भएको हुनाले साथीहरूले हामीले यो सुरु गरेका छौँ। अर्को एकथान पार्टी हो होइन। कांग्रेसबाट रुष्ट भएका मान्छे यता आउने, कम्युनिष्टबाट रुष्ट ठाउँ यो होइन। त्योभन्दा विकसित तिनीहरू भन्दा अगाडि बढेको चेतना भएका मान्छे यहाँ आउने हो। र त्यो चाहिँ मुख्य रूपमा जेन्जीका साथीहरू जो तपाईंहरूसँग प्रदुषण छैन, किन म पनि त्यो माओवादी आन्दोलन १७ वर्ष काम गरेको, कता-कता धमिलो त्यहाँनेर आउँछ। अलिकति माया यताउति हुँदाखेरि मलाई पनि अलिकति म पनि त्यो पछि नै पुगिहाल्छु। अरू साथीहरूलाई नि कांग्रेसबाट आउने साथीलाई त्यतै लाग्ने। अब हुँदाहुँदै पछि अहिले नयाँ र वैकल्पिक भनेर त जुन अहिले आज एकदम पपुलिजममा आधारित व्यक्ति इन्डिभिजुअल हिरोइजममा आधारित जुन शक्तिहरू बनिरहेका छन्, ती छोडेर आउने साथीहरूलाई पनि केही समय अलिकति कठिन हुन चाहिँ सक्छ। तर मेरो आग्रह साथीहरू के छ भने जेन्जी साथीहरू धेरैभन्दा धेरै तपाईंहरू सहभागी बन्नुहोस् र तपाईंहरू चाहिँ फेरि विनम्र चाहिँ बन्नुपर्छ। तपाईंहरूको जुन यो क्लिन प्लेट छ, स्लेट छ, त्यहाँ लेख्न सजिलो हुन्छ नि त।

हैन? क्लिन स्लेटमा लेख्न सजिलो हुन्छ। तर अर्कोले लेख्या स्लेटलाई त फेरि मेटाएर लेख्दाखेरि त्यो खजमजिन्छ, अस्पष्ट हुन्छ, झन् ढिलो हुन्छ। त्यसले तपाईंहरूले चाहिँ अब खराब कुरा होइन, राम्रा कुरा सिक्ने, सिकाउने र यो संगठनलाई हाँक्ने ढंगले तपाईंहरू आउनुहोस्। र पुराना साथीहरूले जुन हाम्रो अनुभव पनि चाहिन्छ फेरि। राजनीति भनेको व्यवहारमा गएर पनि सिक्ने हो। मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, संसारको व्याख्या गर्ने मात्रै कुरो होइन, मुख्य कुरा बदल्ने हो भन्थे उनले के रे। त्यसो भएको हुनाले व्याख्या त अनेक ढंगले गर्न सकिन्छ। तर ठीक कि बेठीक भन्ने छुट्याउने चाहिँ फेरि के हो भने दुनियाँ बदल्न सकियो कि सकिएन भन्ने आधारमा त्यो विचार ठीक हो कि होइन, नीति ठीक हो कि होइन भन्ने चाहिँ टुंगो हुन्छ। त्यसैले त्यो कुरो प्रयोग गर्ने भनेको चाहिँ फेरि पार्टीमार्फत नै हो। त्यो भनेको जनताको बीचमा गएर नै हो, संघर्ष गरेर नै हो। त्यसो भएको हुनाले तपाईंहरू निर्धक्क साथ आउनुहोस् भन्ने मेरो आग्रह छ। र मैले यो बचन दिएको छु। खासगरी पुराना साथीहरूले ख्याल गर्नुहोला, उहाँहरूको त्यो रिजर्भेसनसहित जो आउँदै हुनुहुन्छ, त्यसैले एउटा साथीलाई भन्नुभयो, हामी खबरदारी गर्छौं भन्नुभयो। म उहाँलाई मेरो भन्छु भने हाम्रो रिजन जी, राम्रोसँग चिन्छु, उहाँ अलि ट्यालेन्टेड साथी पनि हो। तपाईंले बाहिर बसेर खबरदारी गर्न पर्दैन। किन तपाईं र म सबैलाई मैले चिन्ने अवसर पनि पाएको छु। तपाईंहरूले यहीँ आएर बढी भूमिका खेल्न सक्नुहुन्छ, यो पार्टीलाई बदल्न सक्नुहुन्छ, बदलिँदैन भने त बदल्ने हो नि त। संघर्ष गर्ने, विद्रोह गर्ने। यो उहाँले मैले पहिले विद्रोह गरेँ, अहिले जनार्दन जी, ल्हासा कार्की जीहरूले गर्नुभयो, सन्तोष जीहरूले हाम्रो सुजन जीहरूले गरिराख्नुभएको छ, त्यो त विद्रोह हो नि। त्यो विद्रोह गर्ने अधिकार तपाईंलाई सधैं हुन्छ। त्यसैले यसलाई रूपान्तरण बनाउने, रूपान्तरण गर्ने, कथमकदाचित भएन भने विद्रोह गर्ने, त्योभन्दा अगाडि राम्रो बनाउने। त्यस अर्थमा आउनुहोस् भन्ने मेरो आग्रह छ।

त्यो साथीहरू, म अब धेरै कुरा राख्दिनँ। मेरो अन्त्यमा तपाईंहरूलाई आग्रह के छ भने, यो पार्टी हामीले बनाउनुपर्छ, नत्र देश सहज अवस्थामा छैन। किन मेरो आँखामा म एउटा प्रधानमन्त्री तपाईंहरूको सद्भावले बनिसकेको मान्छे, मैले जे जति सूचनाहरू प्राप्त गरिराखेको छु, अहिले सम्म भदौ २४ को यता हेर्नुभयो भने तपाईं दुई अढाई महिना हुन थालिसक्यो, यो न अघि न पछि यो भिरको चिचिन्डो भन्छ नि, न तलबाट टिप्न सकिन्छ, न माथिबाट टिप्न सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ देशको अवस्था चाहिँ अहिले चाहिँ छ। त्यसैले एक त लोकतन्त्र धरापमा छ। अरू त्यो मात्रै होइन, जुन जटिल भूराजनीति हो, जुन ठूला शक्ति त अब हेर्नुस् त, पश्चिमा शक्ति त ठूलो शक्ति हुँदै हो। हाम्रै छिमेकीकै शक्ति अब चाहिँ एउटा शक्ति १० वर्षपछि पहिलो शक्ति हुँदैछ, अर्को तेस्रो हुँदैछ। उता पट्टिको दोस्रो, अहिलेको पहिलो तेस्रो हुँदैछ। त्यसले गर्दाखेरि उनीहरूको त्रिपक्षीय, तीनटा साँढेहरूको चाहिँ तानातान यहाँनेर छ। तपाईंहरूले सबैले देख्नुहुन्छ, तर मैले त देख्छु नि। किन मलाई त ती आँखाहरू, भित्री आँखाहरू तपाईंले प्रदान गर्दिनुभएको छ। त्यसैले त्यसलाई ठीक ढंगले सन्तुलन मिलाउन सकिएन, जानिएन, हाम्रो ढंग पुगेन, बुझिएन भने तिनले पनि खेल्दिने अनि देश भित्रको जुन अहिलेको असाध्यै संवेदनशील अवस्था छ, यी दुईटाको योगफल स्वरूप चाहिँ देश चाहिँ गम्भीर दुर्घटनामा जाने खतरा अहिले पनि छ। मैले तपाईंलाई बढाइचढाइ भनेको होइन, यो सत्य कुरा मैले भनिराख्या छु। त्यसो भएको हुनाले यसलाई मध्यनजर गर्दै हामीले सतर्कतापूर्वक अगाडि बढ्नुपर्छ। पुराना दलहरूबाट सच्चिने, सच्चिनुहोस् भन्ने हामीले भन्ने हो। तर चाहिँ के हो भने, सबैले सोझो औंलाले घिउ नआए पछि, अलि बाङ्गो बनाउनैपर्छ। म त झन् बाङ्गो पार्न जान्ने मान्छे। त्यसले गर्दा मलाई पनि अलिकति केही केही यो आन्दोलनको क्रममा त यो अलिकति तपाईंले सोझो औंलाले नहुने रहेछ, अलि बाङ्गो औंला नै चाहिन्छ भन्ने कुरालाई मैले चाहिँ राम्रोसँग बुझेको छु। त्यसो भएको हुनाले यो पार्टी निर्माण गरेर यो देशलाई सन्तुलित ढंगले लैजाने र नयाँ दिशामा लैजाने काममा हामी लाग्नुपर्छ भन्ने कुरालाई विशेष ध्यान दिउँ भन्ने म आग्रह गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार।