गणित भाषा, सुत्र साहित्य
गणितीय सुत्रहरू अमूर्त कला र कलाकारिता बुझ्नका लागि हामीले त्यस क्षेत्र सम्बन्धित केही ज्ञान हासिल गरेको हुनुपर्छ। नत्र अशिक्षित मानिसलाई कालो अक्षर भैँसी बराबर भनेझैँ, विशेष गरी अमूर्त कलालाई बुझ्न कठीनाइ मात्र होइन त्यसलाई ग्रहण गर्न पनि गाह्रो हुन जान्छ। यो मानेमा भन्दाखेरी कलामा एक किसिमको गहिराई हुन्छ वा भनैँ अर्कै एउटा (वा धेरै, कम्तिमा एउटा) आयाम हुन्छ। सामान्यतः हामी हाम्रा पाँच इन्द्रीयहरूद्वारा के ग्रहण गर्न सक्छौँ वास्तविकताको व्यख्या तिनै अनुग्रहित तरङ्गद्वारा मात्र गर्न सक्छौँ। कलामा हुने यस्तो गहिराईलाई बुझ्ने हाम्रा कुनै पनि भौतिक इन्द्रियहरू छैनन्। यो गहिराई या आयाम भनेको विभिन्न क्षेत्रमा हुन्छ। अर्थोपार्जन गर्ने लगानिकर्ता वा ब्यापारीको क्षेत्रमा उसले देख्ने गहिराई सबैले देख्न सक्दैन्न। सङ्गीतकार वा गायकको आयाम श्रोताले सजिलै बुझ्न सक्दैनन्। यहाँ एक किसिमको प्रष्ट विभाजन गर्न सकिन्छ। सङ्गीत सर्जकले जुन आयाम ताकेर कृती सिर्जना गर्छ श्रोताले त्यही आयामको गहिराई नबुझे पनि त्यो सिर्जनाबाट छुट्टै आानन्द लिन सक्छ। श्रोता र सर्जकको बुझाईको अन्तरले सिर्जनालाई कमजोर बनाउँदैन तर सतही सर्जकले बनाएको सङ्गीतले श्रोतालाई त्यही किसिमले बाँध्न सक्दैन। श्रोताको दृष्टिकोणबाट हेर्दा यस्तो सिर्जनामा केही छुटेको महसुष पक्कै हुन्छ तर राम्रो सङ्गीतमा त्यो के विशेशता थियो भनेर पनि खुट्याउन सकिँदैन। यो एउटा स्पष्ट भेद हामी धेरै विषयहरूमा देख्छौँ। ...