यूनिकोड र नेपाली लेखाई
डिजिटल माध्यम सामान्यतः डिजिटल उपकरणहरूको केन्द्रमा अत्ति नै सुक्ष्म उपकरणको सङ्गालो हुन्छ, यस्ता सुक्ष्म उपकरणलाई हामी ट्रान्जिस्टर भन्छौँ। यसलाई हामी दैनिक जिवनमा प्रयोग गर्ने बत्तीको स्वीचजस्तो मान्न सक्छौँ। यस्तो एउटा स्वीचको अवस्थालाई बिट पनि भनिन्छ। समान्यतः कुनै पनि स्वीच कि खुला हुन्छ कि बन्द हुन्छ। जस्तो कि हामीले दुईवटा स्वीच/वत्ती लियौ भने त्यसलाई चारवटा अवस्थामा राख्न सकिन्छ। दुबै निभेको, पहिलो बलेको दोस्रो निभेको, दोस्रो बलेको पहिलो निभेको र दुबै बलेको। यस्तो चारवटा अवस्था हामीले कुनै पनि माध्यमबाट सुरक्षित गर्न सक्यौँ भने, भविष्यमा त्यसलाई कुनै उपयोगी जानकारीको रूपमा लिन सकिन्छ। कम्प्यूटरम वा कुनै डिजिटल माध्यममा केही कुरा सञ्चय गर्नु भनेको, यस्ता स्वीचहरूलाई कुनै निश्चित तरिकाले खुला वा बन्द राख्नु हो। एउटा बत्ति मात्र लिँदा कि खुला वा कि बन्द गरी दुईवटा मात्र सम्भावना भए जस्तै दुईवटाको बत्तिको क्रम लिँदा चारवटा अवस्थाको सम्भावना हुन्छ। यस्ता खुला र बन्द स्वीचहरूको क्रमलाई सजिलोका लागि कुनैपनि सङ्ख्याले चिन्न सकिन्छ। जस्तो कि हाम्रो उदाहरणको दुईवटा बत्ती बन्द भएकोलाई ०, पहिलो बन्द र दोस्रो खुला भएकोलाई १, पहिलो खुला दोस्रो बन्द भएकोलाई २ र दुबैवटा खुला भएकोलाई ३ भनेर मान्यौँ भने, कुनै निश्चित अवस्थाका खुला र बन्द वत्तीहरूलाई सङ्ख्याले चिन्न सकिन्छ। यस्तो अनुक्रमलाई सङ्ख्याले पनि चिनिने भएकैले तिनलाई डिजिटल (साङ्ख्यिक) माध्यम भनिएको हो। ...